साहित्य परिषद भूटानको पहिलो सम्मेलन सम्पन्न: कार्यवाहक अध्यक्षमा शिवलाल दाहाल

0
1157

जेष्ठ २९, ओहायो | भूट्निस कम्युनिटी अफ सिनसिनाटीको संयोजनमा यही जेष्ठ २६ देखि २७ गते, दुई दिने साहित्य परिषद भूटानको पहिलो सम्मेलन, अमेरिकाको ओहायो राज्य अन्तर्गतको सिनसिनाटी सहरमा सम्पन्न भएको छ।

वरिष्ट गायक प्रताप सुब्बा, मानब अधिकार सक्रियतावादी डी. पी काफ्ले, विश्व भूटानी साहित्य सङ्घठनका महासचिव कर्ण गुरुङ, विश्व भूटानी साहित्य सङ्घठनका पुर्व उपाध्यक्ष तथा संरक्षक लिला निशा, भूट्निस कम्युनिटी अफ नेब्रास्काका अध्यक्ष भिम गुरुङ, संगीतकार राम गुरुङ, विश्व भूटानी साहित्य सङ्घठनका संरक्षक प्रदिप गुरुङ, मातृ भाषा संरक्ष्ण समूह, हिमशिखर, धर्मेन्द्र तिम्सिना, पूर्ण नर्जले, माया भट्टराई, विश्व भूटानी साहित्य सङ्घठनका नोर्थ केरोलिना प्रमुख ओम गोर्खाली, कबि तथा कलाकार लकी रासी, लगायत थुप्रै नेपाली भाषा र साहित्यप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो |उक्त कार्यक्रम बीच गायक मनोज राईको “भूटानी शहीदहरूलाई श्रद्धाञ्जली” नामक संगीत एल्बम र गीतकार यति राज अजनबीको गीतिसंग्रह “अजनबी” लोकार्पण भएको छ भने नेपाली साहित्यिक पुस्तकहरू “तरङ्ग”(कविता सङ्ग्रह – गंगा लामिटारे), “फूलको धार”(गजल सङ्ग्रह – हिमशिखर), “म जयमायाको सन्तान”(कविता सङ्ग्रह – प्रतिमान सिवा), “समकालीन भूटानी नेपाली कथा”, “सम्झनामा देश”(खगेन्द्र भण्डारी ‘जन्तरे’), “किनाराको प्रश्न”(कविता सङ्ग्रह – तुम्बेहाङ लिम्बु), “धूमिल जून”( कविता सङ्ग्रह – खेम रिजाल), प्रश्नहरूको पहाड”(कविता सङ्ग्रह – आभास रिखाम मगर) जम्म गरि ८ कृतिहरू पनि विमोचित भएका छन् |

त्यसैगरी, भूटानी नेपाली साहित्यलाई विकास र प्रवद्धन गर्नमा उल्लेखनीय योगदान पुर्याएका भूटानी नेपाली अग्रज साहित्य कर्मीहरू लोकजित राई, खिम खतिवडा, डिल्लीराम आचार्य र लिला निशालाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको छ |सम्मेलनको महत्वपूर्ण पक्ष के रहयो भने दृश्यमा आएका ठूला दुई साहित्यिक संस्था “साहित्य परिषद भूटान” र “विश्व भूटानी साहित्य सङ्घठन” बीच एकीकरण पहलकदमी स्वरूप महत्वपूर्ण किसिमले छलफल, बहस र वार्ता भएको छ | भूटानीहरू तेस्रो मूलुक पुनर्वास पछि उनीहरुको आफ्नो पहिचान स्वरूप नेपाली भाषा, कला र साहित्यको विकास, प्रचारप्रसार र संरक्षण हेतु यस्ता संस्थाहरू बीच सहकार्य र एकताको खाचो महसुस भइरहेको परिपेक्षमा यो एकीकरणको कदमलाई सबैले स्वागत गरेका छन् | यस प्रसङ्गमा निवर्तमान अध्यक्ष भक्त घिमिरेले हाम्रो फोन सम्पर्कमा भने – “अब मिलेर जानुको विकल्प छैन | सबै सकारात्मक देखिएका छन्, आसा गरौं पक्का पनि केही राम्रो निचोड आउलान् |”

अथिति आसन ग्रहणको औपचारिकता पछि भूटानी शहिदहरुको सम्मान र सम्झनामा प्राथना र श्रद्धाञ्जली अर्पणको खण्ड जो थियो, त्यसलाई पनि सबैले अत्यन्तै प्रशंसनीय कार्य माने | रचना वाचन, सङ्गीतिक प्रस्तुति समेत रहेको उक्त सम्मेलन, साहित्यकार शिवलाल दाहाललाई कार्यवाहक अध्यक्षमा निर्वाचित गर्दै सम्मेलन समापन भएको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here