भित्रैबाट आँशु आउँन खोज्छ शरणार्थी बृद्धबृद्धाको अवस्था देख्दा एक्लिएर विजोग हुनेको संख्या २ सय भन्दा धेरै (भिडीयो सहित)

शरणार्थी बृद्धबृद्धा तथा बालबालिका सहयोग कोष निर्माण शुरु दातृ निकाय सहित सवैलाई सहयोग गर्न आग्रह

0
2285

भित्रैबाट आँशु आउँन खोज्छ शरणार्थी बृद्धबृद्धाको अवस्था देख्दा
एक्लिएर विजोग हुनेको संख्या २ सय भन्दा धेरै
२३ चैत्र २०७४/डिकेश लामा
दमक/भूटानी शरणार्थी शिविर वेलडाँगीको उत्तरी क्षेत्र सेक्टर आइ/४ हट नम्बर ४८ मा पुग्दा हामी दंग पर्यौं । हाम्रो पनि आँखा छिनभरमै रसाए । पूर्व सचीव युवराज राई र वेलडाँगी शिविरका वर्तमान सचीव टिकाराम रसाईली सहित म आफू त्यहाँ पुग्दा ८४ बर्षीय श्रीनारायण प्रधानलाई विरामी अवस्थामा त्यस्तै बृद्धाले स्याहार गर्दै गरेको भेटियो । ओछ्यानमा लडेका प्रधान आ आ आ मात्र गरेर बोल्दै हातको इसाराले छातीमा भित्र कतै ठूलो पीडा परिरहेको इसारा गर्दै हुनुहुन्थ्यो । कोठा विरामीको फोहोर मैलाले असहज अवस्थामा थियो ।
स्याहार गर्ने बृद्धा प्रधानकी श्रीमति ८२ बर्षीय सुमति प्रधानसँग कुरा गर्दा छोरीहरु पविमाया र पुर्णीमाया तथा छोरा चन्द्रबहादुर प्रधान अमेरिका र क्यानाडा पुनर्वास भईसकेको बताउनु भयो । शिविरमा आफन्तहरु कोही नभएपछि उनीहरु पनि आफ्ना छोराछोरी नै भएको देशमा जान चाहना पनि राखेका हुन् । तर तेस्रो मुलुक पुनर्वासको प्रकृया अन्तिममा पुगे पछि सामान्य कारण देखाउँदै उडान क्षेत्रमा कार्य गर्दै आएको संस्थाले रोकेको सचीव रसाइलीले जानकारी दिनु भयो । घरमा आफैलाई खाना पकाएर कसले दिन्छ भन्ने अवस्थामा विरामी श्रीमान्लाई स्याहार सुसार गर्नु पर्दाको पीडा सुनाउँदै सुमतीले आँखाबाट आँशु झारिन् । उहाँले भन्नु भयो खै यो के भोग्नु परेको । काल पनि छिट्टै नआउँदो रहेछ । बृद्धाको कुरा सुन्दा र त्यहाँको अवस्था देख्दा आँखाबाट आँशु झर्ने अवस्था भएको थियो ।

प्रधान बृद्धबृद्धा दम्पतिले भोग्नु परेको यो दर्दानक पीडा पछिल्लो समय भूटानी शरणार्थी शिविरको एउटा प्रतिनिधि पीडामात्र हो । यस्ता पीडा भोग्ने त धेरै शरणार्थीहरु रहेका छन् । यस्तो घटनाले शिविरमा सामान्य गरी खाने भूटानीहरुलाई पनि मन खिन्न बनाएको छ । खासगरी शिविर क्षेत्रमा अगुवाई गर्नेहरुको मनमा के गर्दा यस्ताखाले पीडालाई कम गर्न सकिन्छ भनेर लामो समय छलफल र वहस नै बस्दै आएको छ । दर्जनका हाराहारीका बृद्धबृद्धाको विरामी हुँदाको स्याहार सुसार र मृत्यु पछिको क्रियाक्रम गर्न शिविर व्यवस्थापन समितिले छोराछोरीको भूमिका निर्वाह गर्दै आएको बताइएको छ । १६ घरे बस्ती भनेर छुट्टै अपाङ्ग र असाहयहरु बस्दै आएका छन् । जसलाई मिना प्रधानको संयोजकत्वमा रेखदेख गर्दै आएको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ । यता भूटानी शरणार्थी अपाङ्ग संघले मोरङ्गको पथरी र झापाको वेलडाँगी शिविर गरी ४ सय ४२ जना रहेको फरक क्षमता भएका (अपाङ्ग/असक्त)हरुलाई रेखदेख गर्दै आएको अपाङ्ग सघंकी अध्यक्ष देवीमाया गुरुङ्गले बताउनु भयो । यसै गरी १ सय ५० भन्दा धेरै बालबालिकाहरु अभिभाकत्वबाट बाहिरिनु परेको अवस्था रहेको पूर्व सचीव युवराज राईले जानकारी दिनु भएको छ ।

 

रणार्थी बृद्धबृद्धा तथा बालबालिका सहयोग कोष निर्माण शुरु 

 

दातृ निकाय सहित सवैलाई सहयोग गर्न आग्रह

शिविरमा एक्लिने र असाहय अवस्थाका बृद्धबृद्धा तथा बालबालिकाका लागि सहयोग गर्न शिविरका अगुवाहरुको पहलमा सहयोग कोष स्थापनाको कार्य अगाडि बढाइएको छ । तेस्रो मुलुक पुनर्वास ह्ुनेक्रममा छोराछोरीले छाडेर एक्लो बनेका बृद्धबृद्धा र बालबालिकालाई सहयोग गर्ने उद्देश्यले कोष स्थापना शुरु गरिएको कोषका अगुवा पूर्व सचीव युवराज राईले बताउनु भयो । राईका अनुसार हाल शरणार्थी शिविरमा २ सय बढी बृद्धबृद्धा एक्लो अवस्थामा भएकोले यो सहयोग कोष स्थापना अभियान शुरु गरिएको बताउनु भयो । राईले तेस्रो मुलुकमा रहेका र शिविर क्षेत्रका अगुवाहरुलाई समेत यथासक्दो चाँडो सहयोग गर्न आग्रह गर्नु भयो । सवैले सहयोग गरेर एउटा कोष खडा गर्न पाए विरामी भएर विजोग अवस्थामा पर्ने र मृत्यु हुनु भएकालाई अलिक व्यवस्थित काजकृया गर्ने एउटा मार्ग बन्ने थियो ।

केही समय यता सहयोग कोषका लागि हालसम्म अमेरिकामा रहेका भूटानी कलाकार केदार उप्रेती, विरविक्रम साङपाङ्ग, हिमालय फेस्टिवलका राजन गिरी, मोहन पौडेल, विशाल शर्मा, विष्णु माया राई, गंगामाया तथा चन्द्रमाया राई, अष्ट्रेलिया क्रेन्सबाट बुद्धिराज खड्का, बेलडाँगीका शिविर सचीव टिकाराम रसाइली र पथरी शनिश्चरेका शिविर सचीव चम्पासिंह राईले ३ देखि २० हजार रकम कोषमा जम्मा गर्ने बचन दिएका छन् भने कतिले जम्मा समेत गरिसकेको बताईको छ । शिविरमा पछिल्लो समय एक्लो भएर मृत्यु हुँदा काजक्रिया गर्ने खर्च र विरामी हुँदा उपचार खर्चको समस्या भएकोले यो सहयोग कोष स्थापना अभियानको शुरुवात गरेको शिविर सचीव टिकाराम रसाइलीले बताउनु भयो । यस अघि मृत्यु भएका १ दर्जन हाराहारीका बृद्धबृद्धाहरुको दाहसंस्कार देखि काजक्रिया समेतमा शिविर व्यवस्थापन समितिले छोराछोरीले गर्नु पर्ने भूमिका निर्वाह गर्दै आएको बताइएको छ । कोषको संचालनमा शरणार्थी अगुवाहरुले शुरु गरेको भए पनि आगामी दिनमा शिविर व्यवस्थापन समितिको माताहातमा पारदर्शी ढंगबाट एउटा समिति नै बनाएर स्थापना गर्ने समेत सचीव रसाईलीले बताउनु भयो । पीडामा छट्पछिरहेका भूटानी शरणार्थीहरु भन्छन् हामीलाई पनि सहज बाँच्ने व्यवस्था मिलाइदिनुहोस् । यता शिविरका अगुवाहरु भन्छन् दिनानु दिन शरणार्थी रेखदेख निकायले कटौती गर्दै आएको सेवालाई घटाउँनु सट्टा यो अवस्थामा थप सहयोग गर्न हामी आग्रह गर्दछौैं ।

see video story

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here