कवि वीरु बाङ्देल ‘जसराज किराती साहित्य पुरस्कार–२०७४’ बाट पुरस्कृत

0
1066

सिक्किमेली नेपालीभाषी कवि वीरु बाङ्देल ‘जसराज किराती साहित्य पुरस्कार–२०७४’ बाट पुरस्कृत भएका छन् ।
बाङ्देललाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति, कवि एवम् मुन्धुमविद् वैरागी काइँलाले पुरस्कार प्रदान गरेका हुन् ।
उक्त पुरस्कारको राशी ५० हजार दुई रूपैयाँ र सम्मानपत्र रहेको छ ।
कबि जसराज किराती भतिजी रक्षा किराती लगायतले जीवित कवि जसराज किरातीको नाममा स्थापित गरेका थिए । पुरस्कार कविताको जीवन्तता, कविको क्रियाशिलता र लामो समय साहित्यमा योगदान गरिरहनुभएका लेखकलाई दिँइदै आएको छ । यस पुरस्कारबाट यसअघि कवि श्रवण मुकारुङ र कवि मनु मञ्जिल समेत पुरस्कृत भइसकेका छन् ।
कवि एवम् पुरस्कारका संस्थापक जसराज किरातीमाथि डा. बिष्णु राईले बोलेका थिए । जसराजको समीक्षा गर्दा व्यक्तित्व, कवित्व र राजनीतिक चरित्रबारे नबोलेर एक कोणबाट मात्र बोल्दा अन्याय हुने उनको भनाई थियो ।
‘सरल र चोटिला कविता लेख्ने कवि जसराज परिवर्तनकारी विचार राख्ने तर होहल्लादेखि टाढा गाउँमा बसेर कविता लेख्ने कवि हुनुहुन्छ’ किरातीबारे बिष्णुले थप प्रष्ट पार्दै भने– ‘उहाँ रोमाण्टिक मात्र होइन आफ्नो सामीप्यतामा सबैलाई राख्न सक्ने व्यक्तित्व पनि हुनुहुन्छ ।’
बिष्णुले जसराजसँग जोडिएका पुराना सम्झना पनि कोट्याउन भ्याएका थिए ।
पुरस्कृत कविमाथि बोल्दै कवि श्रवण मुकारुङले वीरुका कवितामा बोल्न गाह्रो रहेको बताउँदै श्रोता–दर्शकमाझ कविको संक्षिप्त परिचय राखेका थिए ।
‘वीरुको बहुआयामिक व्यक्तित्व छ’ मुकारुङले भने– ‘नेपाल यस्ता धेरै पुरस्कारहरु छन, जो रक्सी खाँदा उब्रेको पैसा र कालो धन सेतो बनाउनका लागि पनि पुरस्कार स्थापना भएका छन् । तर जसराज किराती पुरस्कार ती सबैभन्दा योग्य र उच्च छ । त्यसैले पुरस्कृत हुने कवि र संस्था दुबै धन्य भएका छन् ।’
धेरैपटक काठमाडौं आउने–जाने गरेतापनि यसपटकको काठमाडौं यात्रा बेग्लै रहेको कवि वीरु बाङ्देलले बताए । ‘म त सिमानापारी बसेर आक्कल–झुक्कल कविता लेख्ने मान्छे हुँ’ बाङ्देलले भने– ‘तर योग्य ठानेर यो प्रतिष्ठित पुरस्कार दिनुभयो । अब पुरस्कारको अस्तित्व जोगाइरहन सकुँ ।’
बाङ्देलले आफ्ना दुई कविता पनि वाचन गरेर सुनाए ।
पुरस्कारका संस्थापक एवम् कवि जसराज किरातीले आफ्नोबारे आफैं बोल्न अप्ठ्यारो हुने बताउँदै नयाँ परिपाटीको निर्माण गर्ने उद्देश्यका साथ संस्था स्थापना भएको जानकारी दिए । ‘पुरस्कार स्थापना गर्ने क्रममा मलाई कसैले त केही बताएनन्’ जसराजले भने– ‘एकैपटक संस्था स्थापना भएपछि मात्रै थाहा पाएँ ।’
प्रमुख अतिथिको रुपमा बोल्दै वैरागी काइँलाले, आफूले जसराजले गरेजस्तै गर्न नसकेपनि केही गरौंला भन्ने आस बाँकी रहेको बताए ।
टिका चाम्लिङले संञ्चालन गरेको कार्यक्रममा देवान किरातीले स्वागत मन्तव्य राखेका थिए भने प्राज्ञ शशि लुलुम्बुले कार्यक्रम सफल भएको बताउँदै सभाको समापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here