लोकगायक एलपी जोशीः जो कात्तिक १८ मा भावविह्वल बनिरहन्छन् (भिडियोसहित)

0
1405

भूपाल लुइटेल/२१ माघ, काठमाण्डौं । झापाको दमकस्थित जोशी चौकमा भेटिने ८१ बर्षीय एलपी जोशीको स्वर सुन्दा लाग्छ कुनै तन्नेरी बोलिरहेको छ । शरिरले त बुढ्यौली झल्काउँछ तर स्वरले अहिले पनि तन्नेरीहरुलाई मात खुवाइदिन्छ । अर्थात उही शैली, उस्तै स्वर अनि उत्तिकै तगडापनका साथ लोकगायक एलपी जोशी अहिले पनि लोक गितका प्यासीहरुको प्यास मेटाउँन सक्षम छन् । यत्तिकैमा उनि गाइहाल्छन् .‍

ओल्लो खोलो पल्लो खोलो

कमिलाको गोलो भनेर

हो राना ज्यू कमिलाको गोलो भनेर ।।

                                     

च्याट्टै पारि सिइदेउ दर्जी

च्याट्टै पारि सिइदेउ दर्जी

कान्छी ल्याउने चोलो भनेर हौ राना ज्यू कान्छि ल्याउने चोलो भनेर ।।

 

नेपाली लोकसंस्कृतिलाई टपक्कै आफ्नो भाकामा टिप्न सिपालु गायक जोशीका ४०/४५ वटा लोकगित सबैजसो नै चर्चित बने । यसैको परिणामस्वरुप उनले २०५९ सालमा रेडियो नेपालबाट सुप्रसिद्ध लोकगायकको उपाधि समेत प्राप्त गरे । त्यतिबेलाको हर्षले उनका आँखा टिलपिलाए । हिन्दी भजन गाएर सांगितिक यात्रा सुरु गरेका जोशिलाई लागेको थिएन कि सुप्रसिद्ध लोक गायक नै बन्छु भन्ने तर उनि त्यही उपाधिबाट सम्मानित भए । ‘बुवाले भजन गाएको देखेर १५/१६ बर्षमै हार्मेनीमा हात बसाउँदा लागेको थिएन मेरो सांगितिक क्षेत्रकै ढोका खुल्यो भनेर तर भइदियो त्यस्तै´ उनले भने ।यसपछि उनको दौडधुप यस्तो भयो कि त्यो बेला सायदै मात्र साँस्कृतिक कार्यक्रमहरु छुटे ।  उनि जहाँ जहाँ जान्थे गित गाउने इच्छा राखिहाल्थे । धनकुटामा जन्मिएका जोशीको मावली घर धरान । धरान आएका बेला त्यो बेला चर्चामा रहेको शेर्पा भाषाको गित समेत उनले छाडेनन् । अर्थै नबुझे पनि उनले सोयाला बोलको गित गाएर साथिसंगिलाई मख्ख पारे ।

कसैमाथि पनि अन्याय र अत्याचार भए खुलेर लड्नुपर्छ भन्ने हाक्की स्वभावका थिए जोशी । त्यसैले त उनि २०१३ सालमा इलामको जेलमा ४ महिना नजरबन्द पनि परे । कारण थियो इलाम हाइस्कूलका प्रअ डीवी गौतमलाई विना कारण गरिएको गिरफ्तारी । जीवन नै संगित हो भनेर व्याख्या गर्ने जोशी नजरवन्दबाट छुटेपछि पनि आफ्नो साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइरहदा राजा महेन्द्रको राज्यभिषेक कार्यक्रममा आउने अबसर जुट्यो । हो यही बेला उनको पहिलो गित पनि रेकर्ड भयो । २०१३ सालमा रेडियो नेपालबाट रेकर्ड भएको उनको पहिलो गित थियो ‘नेपाली माया नेपालै कस्तो ।’ गला र कलामा पनि उत्तिकै माहिर उनि चित्र बनाउन पनि पछि पर्दैनन् । २००८ सालमा नृत्य क्षेत्रमा प्रवेश गरेका जोशीले १० सालमा चित्रकला, १३ सालमा गायन र १६ सालमा साहित्य क्षेत्रमा प्रवेश गरेर आफ्नो प्रतिभालाई थप निखार्दै लगे ।  यसैकारण उनका घरका केही कोठा सम्मान र पुरस्कारले भरिएका छन् ।

२०१९ सालमा राष्ट्रव्यापि लोकगित सम्मेलनमा राजा महेन्द्रबाट स्वर्ण पदक थापेका जोशीले दर्जनौ सम्मान पाएका छन । लोकगित संगितकै क्षेत्रमा योगदान पुर्याएवापत २०२२ र २०२९ सालमा उत्कृष्ठ लोकगायक सम्मान, २०६७ सालमा संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान सम्मान, २०६२ सालमा वाणि प्रकाशन जस्ता ख्यातिप्राप्त संघसंस्थाहरुबाट सम्मान मात्र होइन अभिनन्दित हुने अवसर पनि पाएका छन । २०१३ सालमा रेडियो नेपाल प्रवेश गरेका जोशीको आबद्धता बोन्साइ साहित्य प्रतिष्ठान दमक, अरुण उपत्यका साँस्कृतिक समुह, साहित्य कला संगम दमक, साहित्य चौतारी विर्तामोड, साधना कला केन्द्र धरान, दमक क्याम्पस साहित्यीक मञ्च जस्ता दर्जनौ संघसंस्थासँग आज पनि कायमै छ । साहित्य लेखनका समेत प्यासी रहेका जोशीले लोक गित र केही लोक गजल र कविताको संगालो ‘अनावृत्ति’ २०६० सालमा नै सार्वजनिक गरिसकेका छन् ।

जीवनमा जतिसुकै हुण्डरी आएपनि सकारात्मक सोच भए अघि बढ्न सकिने भन्दै हिम्मतिलो कुरा गरेर अरुलाई उत्प्रेरणा दिन्छन जोशी तर आफै निराश र दुःखी पनि छन उनि । श्रीमती विन्दासँगको प्रेममा पर्दा २०२५ साल चैत्र ४ गते हर्षका आँशु झारेका जोशीले विन्दालाई गुमाउँदाको क्षणको कुरा निकाल्न नपाउदै आँखा रसिलो बनाइहाले । उनले भने ‘वुवाआमाको विछोडभन्दा पनि गारो भयो विन्दासँगको वियोगले ।’ अर्थात श्रीमति बिन्दालाई गुमाउँदाको त्यो क्षणले उनलाई असाध्यै पीडाबोध गराउँछ । २०६८ साल कात्तिक १८ गते मात्र होइन हरेक बर्षका कात्तिक १८ ले उनलाई झस्काइरहन्छ । अनि भन्छन ‘ गित मैले कान्छि ल्याउने चोली भनेर हो भनेर पनि गाए तर मलाई बिन्दाको यादले छाडेको छैन ’ भन्छन् ‘बिन्दालाई खोजिरहेको छु, घरीघरी बिनायोमा लागेको जालो देख्दा उनलाई सम्झन्छु ।’ श्रीमतिसँग भाइटिकाको बेला भएको संवादले त उनलाई झनै नरमाइलो बनाउँछ । दाजुभाई टिका लगाएर उग्रिएका दुईटा माला ४ दिनसम्म पनि नऐलाएको श्रीमतिले देखाएपछि उनले श्रीमतीलाई भनेका थिए ‘राखन त भगवानलाई पनि काम लाग्छ नभए आफैंलाई पनि काम लाग्छ’ नभन्दै त्यही माला लगाएर उनले श्रीमतिलाई जीवनबाटै बिदाई गरे ।

जोशीलाई लागेको थिएन श्रीमती विन्दाले आफ्नै शवका लागि आफै माला उनेकी थिइन भन्ने । तर भइदियो त्यस्तै । श्रीमती विन्दालाई ५८ बर्षको उमेरमा नै विताउदा, गायक लक्ष्मी प्रसाद जोशी मात्र होइन जोशी चौक नै नरमाइलो मानिरहेको छ । दर्जनौ गित गाउँदा पनि श्रीमतिप्रति समर्पित गर्न नपाएका जोशीले उनको मृत्युपछि ०६८ साल पुष ३ गते ‘मेरो मायाको मृत्यु शव वाहन भएर उभियो ’ शीर्षकको कबिता लेखे।

मेरो गितमा तिम्रो खुशी अब कसले दिन्छ

बिनायोमा जालो लाग्दा कसले पुसिदिन्छ ।।

फोटोसँगै बोल्छु एक्लै मनैभरी बोल्छु

स्वर छैन झझल्कोमा झल्को बनि पोल्छु ।।

ओल्लो खोलो पल्लो खोलो न्याउली रुने पार्यौं

रिटिङ रिटिङ बिनायोको मनै रुने पार्यौ ।।

दुबै मिली संसारलाई हेर्ने आँखा चिम्लिएर

तिम्रो जीवन मेरो माया खरानी भै उड्दै गयो

अभागी दिन कालो खबर भएर उभियो

एकाबिहानै मेरो मायाको मृत्यु शवबहान भएर उभियो ।।

दैबले हान्या बज्र कस्ले रोक्न सक्छ

नियतीको भाग्य रेखा कस्ले छेक्न सक्छ ।।

आफ्नै मुटु फुट्दा पनि बाँच्नु पर्दो रैछ

मायाले मायाले नै साँच्नुपर्दो रैछ ।।

यतिबेलाको जोशीको जीवन विगत भन्दा फेरिएको छ । जोशी चौकको किराना पसलमा आÏनी अर्धाङ्गिनीसँगै देखिने जोशी अहिले श्रीमतीको यादलाई पसलमै राखिएको फोटोमार्फत भुलिरहेका छन अझ बर्षमा एक दिन श्रीमती विन्दाको नाममा स्थापना गरिएको अक्षयकोष मार्फत उनि सष्टालाई पनि सम्मान गरिरहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here