AP1 टेलिभिजनमा टीकाराम यात्रीले डा. आरजु देउवासंगको कुराकानीमा उनले वोलेको सारांश यस प्रकार रहेको थियो : “महिला हुनुको अर्थ केवल राजनैतिक वा सामाजिक अधिकार कर्मी हुनुमात्र होइन, पत्नी, आमा, भाउजु बुहारीआदि हुनु पनि हो | विवाहपछि महिलाले मात्र होइन, पुरुषले
पनि धेरै कुराहरूमा संझौता गरेर एडजस्ट हुनुपर्छ | पुरुषले पनि त्याग गरेको हुन्छ, महिलाले पनि त्याग गरेकी हुन्छिन् |
अधिकार कर्मी भएँ भन्दैमा परिवार, पतिपत्नी वा परिवारप्रतिको सम्वन्ध विगार्नु उचित हुँदैन | यो अतिवाद हो | यदि अधिकारकर्मी बनेर घरपरिवार विग्रन्छ भने त्यस्तो अधिकारको कुनै अर्थ हुँदैन | यदि कुनै महिलाले माया-प्रेम गुमाएर अधिकारको लागि मात्र विद्रोह गर्छन् भने त्यसमा मेरो सहमति छैन | हामी पहिला भावनात्मक मान्छे हौँ | त्यसैमा रहेर अधिकार प्राप्त गर्नुपर्छ”
डा. आरजु देउवाका यी भनाईहरूले उनको सामाजिक दायित्व, सांस्कृतिक प्रेम तथा उनको विद्वता देखाउछ | मलाई लाग्छ, महिलाले आफ्नो अधिकार प्राप्त गर्नुपर्छ, स्वतन्त्रताको उपयोग गर्नुपर्छ तर विद्रोही बनेर, परिवार वा सामाजिक बन्धनहरू तोडेर प्राप्त भएको अधिकार पीडादायी हुनसक्छ | पुरुषले आफ्नो दम्भका लागि महिलाको अधिकारलाई चुनौती दिएर सुखप्राप्त गर्न सक्दैनन् | महिलाको सम्मान नगर्दा अहंकार सन्तुष्ट होला तर मन सधैं प्यासो, हीनताबोधले ग्रसित तथा ब्याकुल रहन्छ |
आजको समय असजिलो छ | मान्छेमा सुख र स्वतन्त्रताको महत्वाकांक्ष बढेको छ | अधिकारका मांगहरूमा सकारात्मकता र अराजकता दूबै छन् | यसको असर पतिपत्नीको सम्वन्धमा पनि परेको छ | कहीं पत्नीहरूले गल्ती गर्छन् भने पतिहरूले पनि गल्ती गर्छन् | यी गल्तीहरूले पारिवारिक मूल्यहरू कमजोर हुन्छन् |
नेपाल र पश्चिमा जगतको पारिवारिक मूल्यहरू केही फरक छन् | नेपाली पारिवारिक मूल्यहरू उठाएर अमेरिकी समाजमा स्थापित गर्दा त्यो परिवार अराजक बन्न सक्छ भने अमेरिकी पारिवारिक मूल्य नेपाली परिवारमा स्थापित गर्दा अझै बढी अराजक हुन्छ | डा. देउवाले पश्चिमा पद्यतिको पतिपत्नीको सम्वन्ध नेपाली मूल्यसंग नमिल्ने कुरा सांकेतिक रूपमा औल्याए राम्रो काम गरेकी छन् | नेपाली पतिपत्नीका मूल्यहरूको निर्धारण अमेरिकी
वा युरोपेली आँखाले गर्न सकिन्न | आर्थिक रूपले स्वतन्त्र अमेरिकी महिला र आर्थिकरूपमा परिवारमा आश्रित नेपाली महिलाहरूको दम्पति मूल्य एकै ठाउंमा उभ्याउने प्रयत्न गर्नु उचित हुँदैन |
नेपाली समाजमा पतिपत्नीको आपसी सम्वन्धका विषयमा सार्वजनिक चर्चा गर्ने चलन छैन | नेपाली समाजमा विना विवाहको जोडीको परिकल्पना गरिंदैन | अंग्रेजी शब्द कपल अन्तर्गत यौनसम्पर्क भएका विवाहित र अविवाहित जोडी (पुरुष-पुरुष, महिला-महिला) भन्ने बुझिन्छ भने नेपाली समाजमा विवाहेतर पत्नीपत्नीको नाता मानिंदैन | नेपाली समाजले विवाह भएर धार्मिक, सामाजिक तथा सांस्कृतिक मान्यताप्राप्त गरेका पुरुष तथा महिलालाई नै दम्पति वा पतिपत्नी भनिन्छ र त्यसैरूपमा स्वीकार गरिन्छ |
मैले भनि सकें – नेपाली दम्पत्तिले (पतिपत्नी) आफ्ना व्यक्तिगत र पारिवारिक समस्याहरूलाई सजिलै तेस्रोपक्ष समक्ष प्रस्तुत गर्न रुचाउँदैनन् | उनीहरू लामो समयसम्म मानसिक, शारीरिक तथा आर्थिक पीडा सहन तयार हुन्छन् तर सहयोगलाई “घर भित्रको कुरा बाहिर लैजानु हुँदैन” भन्ने मान्यतामा कैद गरेर आफै पीडित हुन्छन् र पीडकलाई अझैं पीडा दिन छूट दिन्छन् |
सन् २०७२ को जनगणना अनुसार नेपालमा ६७ लाख दम्पत्तिहरू छन् | यी मध्ये २०% दम्पत्तिहरू कुनै नकुनै मानसिक समस्या वा नातागत समस्यासंग ग्रस्त रहेको अनुमान विदेशमा गरिका अनुसन्धानका आधारमा गर्छु | अहिलेसम्म नेपाली दम्पत्तिहरूको मनोबैज्ञानिक स्वास्थ्यको अध्ययन र त्यसको अवस्था वारे जानकारी दिने कुनै सूचना उपलब्ध भएको जानकारी छैन |
सबै पतिपत्नी समस्याग्रस्त हुँदैनन् | तर समस्याग्रस्त भएका दम्पत्तिलाई सहयोग चाहिन्छ | नेपाली समाजको मान्यताले गर्दा उनीहरू चाहेर पनि आफ्ना समस्याहरू तेस्रो पक्ष (मनोबैज्ञानिक परामर्शदाता) संग राख्न सक्दैनन् वा उनीहरूको त्यहाँ पहुँच नै हुँदैन | एस्तो अवस्थामा हरेक पतिपत्नीले आफ्नो समस्याको पहिचान गर्न र त्यसको आफै वा विज्ञसंग भेटेर निदान प्राप्त गर्न सहयोग होस् भनेर यहाँ सुझाव प्रस्तुत गरेको छु |
नेपाली दम्पत्तिहरू सजिलै आफ्ना आपसी समस्याहरू अरूका सामु उजागर गर्ने श्रेणीमा पर्दैनन् | उनीहरू जतिसक्दो सहन गर्ने पक्षमा हुन्छन् | त्यसो गर्दा उनीहरूले मानसिक, शारीरिकरुपमा ठूलै मूल्य चुकाउनुपर्छ | कहिलेकाहिं त आत्महत्यासम्मको कदम चाल्छन् |
जीवनको अन्त्यनै “दाम्पत्य-जीवन”को अन्त्य बन्छ | तर मनोबैज्ञानिक परामर्शदाताले निम्न लक्षणहरूलाई “दाम्पत्य जीवनका समस्याहरूको रूपमा पहिचान गरेर समाधानको प्रयत्न” गर्नुपर्छ |
धेरै दम्पत्तिहरूले आपसी समस्याहरूलाई आफै मिलाउने प्रयत्न गर्छन् र ८०% दम्पत्तिहरू यसो गर्न सफल पनि हुन्छन् तर सबै यस्ता भाग्यमानी हुँदैनन् | यस्तो अवस्थामा उनीहरूले समस्याको पहिचान गर्नका लागि निम्न तेह्रबटा पारिवारिक अवस्थाहरू जान्न जरुरी हुन्छ | यी समस्याहरू मध्ये कुनै पनि एउटा समस्या निरन्तर ६० दिन भन्दा बढी रहिरह्यो भने रेडअलर्ट हुनुपर्छ र तिनको समाधानका लागि आफै वा विज्ञहरूसंग सहकार्य गर्नुपर्छ |
१. आपसमा बोलचाल नहुनु : बालबालिकाले कट्टी गरेभने केही दिन आपसमा बोलचाल गर्दैनन् | कहिलेकाहिं पतिपत्नी विच पनि एस्तो समस्या उत्पन्न हुनसक्छ तर धेरैजसो यस्ता समस्याहरू अस्थायी मतभेदसंग सम्वन्धित हुन्छन् र बढीमा १५-२० दिनमै मन्थर हुन्छन् तर केही मतभेदहरू मनभेदका रूपमा रुपान्तरित हुन्छन् | आपसमा लामोसमयसम्म बोलचाल नहुनु पनि दाम्पत्य जीवनकालागि पीडादायी हुन्छ | यस्तो अवस्था लामोसमयसम्म रहिरह्यो भने “चरमनिरासा”मा रुपान्तरित हुन्छ | पतिपत्नी दूबैले मनोबैज्ञानिक परामर्शदातासंग सहयोग प्राप्त गरेर आफ्ना मतभेदहरू समाप्त पार्ने प्रयत्न गर्नुपर्छ | किनभने परामर्शदाता आपसी सम्वन्ध गाँस्न कसरी संवाद गर्नु/गराउनुपर्छ भन्ने विधामा विज्ञ हुन्छन् |
२. सधैं नकारात्मक मात्र बोल्ने – केही दम्पत्तिहरू आपसमा बोलचाल त गर्छन् तर त्यो बोलचाल सधैं अर्काको नराम्रो बानीव्यहोरामा केन्द्रीत हुन्छ | संगै रहंदा होस् वा एक्लाएक्लै आफन्तसंग भेट्दा पत्नीले पति को र पतिले पत्नीको कुरा काट्न थाल्छन् | यस बाहेक घरमैं पनि पति पत्नीको कामले र पत्नी पतिको कामसंग सधैं असन्तुष्ट रहन्छन् | बोल्दा खेरि चर्को-चर्को बोल्छन् | गालीगलौज गरेर अर्कालाई निचो देखाउने शब्दहरू प्रयोग गर्छन् | यदि तपाईंको परिवार वा तपाईंहरूमा एस्तो समस्या छ र समाधान गर्न चाहनुहुन्छ भने मनोबैज्ञानिक परामर्शदातासंग सम्पर्क राख्नु उचित हुन्छ | विज्ञहरूले पतिपत्नीमा रहेका सकारात्मक ब्यबहार, बोली तथा गुणहरू पहिचान गरेर एकआपसमा ती शब्दहरूको प्रयोग गर्ने, आफुलाई सरल र सजा तवरले परिवर्तन गर्ने अवस्था सृजना गर्न मदत गर्छन् |
३.आपसमा कुरा गर्न धक मान्ने : दम्पत्तिको जीवन एकआपसमा खुला किताव सरह हुनुपर्छ | समस्याका विषयमा एकआपसी संवाद गर्न डराउनु वा धक मान्नु पनि दाम्पत्य जीवन अवगुण हो | खासगरी नेपाली र मुस्लिम समाजका महिलाहरू एस्तो समस्याबाट पिडित हुन्छन् | नेपाली पत्नीहरू पतिहरूसंग स्पष्ट बोल्न धक मान्छन्, डराउने गर्छन् | असलमा, यस्ता समस्याहरूलप जड बालबालिका, छिमेकी, यौनजन्य क्रियाकलाप वा पैसाआदिसंग जोडिएको हुन्छ | उदाहरणका लागि केही महिलाहरू शारीरिक/मानसिक समस्या हुँदासमेत लोग्नेलाई “नाई” भन्न सक्दैनन् | “नाई” भन्न नसक्नुको मूल कारण सम्वन्ध विग्रिएला, लोग्ने रिसाउला, यौन सुख दिनु नै महिलाको काम हो जस्ता विचारसंग जोडिएका हुन्छन् | समय वित्दैजाँदा धेरै मानसिक, शारीरिक समस्या बढ्छ | मनोबैज्ञानिक परामर्शदाताले सहृदयतापूर्वक “नाई” भन्न सिकाउँछन् |
४. सम्वन्धलाई ब्लाक मेलिंगका रूपमा प्रयोग : केही पतिहरू आफ्ना पत्नीसंग भन्न सक्छन् “मैले तिम्रो लागि एतिधेरै काम गरेको छु, तिमीले मेरो एत्ति जावो गर्न नसक्ने ? केही पत्नीहरू पतिसंग भन्न सक्छन् “मैले तिम्रो परिवारको लागि एतिधेरै त्याग गरेको छु, तिमीले आफ्नो आमासंग स्पष्ट बोल्न नसक्ने मेरो वारेमा” जस्ता बोलीहरू र ब्यबहारले दाम्पत्य जीवन जीवनलाई अवसादको गहिरो खाईतिर धकेल्छ | क्रमशः पतिपत्नी र परिवारविचको सुमधुर सम्वन्ध अदृश्य हुन्छ | यदि कसैको दाम्पत्यजीवन यसरी चलिरहेको छ भने विज्ञहरूसंग परामर्श गर्नुपर्छ | परामर्शदाताले बैकल्पिक क्रियाकलापमा लागि सहयोग गर्न सक्छन् | किनभने विकल्प दिनु नै विज्ञहरूको विज्ञता हुन्छ जसले तपाईंको दाम्पत्य जीवन सहज बनोस् |
५. सुनेर/देखेर पनि नसुनेजस्तो गर्ने : रमेशले आफ्नी पत्नी सीतालाई धेरै पटक बोलाए | ब्याडरूममा विर्सिएको ल्यापटप उनकी पत्नीले तल ल्याइदिऊन् भन्ने उनको चाहना थियो | तर बेडरूम मै रहेको सीताले लोग्नेको कुरालाई सुनेको नसुनै गरिन् | अन्तत: रमेश आफै आएर आफ्नो ल्यापटप लगे | सीताले आएको/गएको पनि वास्ता गरिनन् | रमेशका दम्पत्तिविचमा देखिएको एस्तो ब्यबहारले उनको दाम्पत्य जीवन समस्या निम्तिदै छ भन्ने जनाउँछ | दम्पत्तिले एकआपसमा वास्ता नगर्नु राम्रो होइन | रमेशले यस विषयमा पत्नीसंग खुलेर कुरा गर्नुपर्छ तर समस्या समाधान भएन भने विज्ञहरूसंग परामर्श गरेर “वेवास्ता”को कारणलाई सम्वोधन गर्ने वातावरण मिलाउनुपर्छ |
६. लुकाउने : पतिपत्नीको सम्वन्ध विश्वास, आस्था र प्रेममा टिकेको हुन्छ | एकआपसमा पारदर्शी हुन्छ | पतिपत्नीले एकआपसमा कुराहरू, घटनाहरू लुकाउन थालेपछि विश्वासको सम्वन्धमा वादल लाग्न थाल्छ | लुकाउने कुरा धेरै हुन्छन् | हिड्दा खेरि आफ्नो पार्टनरसंग गन्तब्य ठाउंका विषयमा सही जानकारी नदिने, खर्च गरेको कुरा लुकाउने, पति वा पत्नीलाई सोधेर एक्लै खरिदारी गर्ने र पाहुनाको विषयमा लुकछिपी गर्ने क्रियाकलापले सम्वन्धमा ग्रहण लाग्छ | दूवैमा शंकाको आगो बल्छ | अविश्वासको आगो तेज हुँदै गएपछि परिवार सहित आपसी सम्बन्ध विथोलिन्छ | प्रशिक्षित परामर्शदाताले पतिपत्नीका विचमा आएको “लुकाउने-लुक्ने” ब्यबहारलाई “विश्वास”को सम्वन्धमा परिवर्तन गर्न मदत गर्छन् | पारदर्शी तर एकआपसका गोपनीयताको संरक्षण गर्दै पुन: सम्वन्ध सुमधुर पार्न मदत गर्छन् |
७. घोरिनु : सामान्यतया घोरिनु जीवनको सामान्य प्रक्रिया हो | घोरिनुलाई टोलाउनु पनि भनिन्छ | पतिपत्नी संगै हुँदाहुँदै यदि तपाईं तेस्रो सम्झनामा घोरिनु हुन्छ र त्यसकाकारण पत्नी वा पतिप्रति पूरा गर्नु पर्ने दायित्वहरूमा समस्या आउन थाल्छ भने पतिपत्नी विच सम्वन्धमा समस्या छ भन्ने बुझ्नुपर्छ | यस्तो व्यवहारले पतिपत्नीका विच पुन: अविश्वास बढ्छ | एकार्कालाई स्याहार-सुसार गर्ने पद्यतिमा फरक पर्छ | अस्तिसम्म पतिका लुगा धुँदा राम्रो लाग्थ्यो भने आज त्यही काम दण्डसरह हुन्छ | मूलत: यो समस्या पति वा पत्नीको यौनब्यबहार, बोलचाल तथा घरआउने जाने समयमा धेरै परिवर्तन आउँदा विकसित हुन्छ | सोध्न धक मान्ने महिला वा पुरुषमा यो बढी गाढा हुन्छ | अन्तत: दुवैमा बोलचाल बन्द हुने, एकअर्काको चियोचर्चो गर्ने, सही तवरले संवाद नगर्ने समस्या उत्पन्न हुन्छ | यस्तो अवस्थामा मनोबैज्ञानिक परामर्शदाताको सहयोग लिनु उचित हुन्छ |
८. आफै ठीक हुन्छ भन्ने ठान्नु : धेरैजसो पतिपत्नी आफ्ना आपसी समस्या बोकेर हिडछन् | समयले सबै ठीक गर्छ भन्ने सोच तथा विश्वासमा बाँचिरहेका हुन्छन् | एस्तो धेरै नेपाली पतिपत्नीमा हुन्छ | समय वित्दै जाँदा समस्याहरू अझै गहिरिंदै जान्छ | मानसिक समस्या बढ्छन् | जीवन तनावग्रस्त हुन्छ, पारिवारिक सम्वन्ध विग्रन्छन् | पतिपत्नीका विचमा झैँझगडाहरू बढ्नाले छोराछोरी समेत प्रभावित हुन्छन् | यस्तो अवस्थामा, बुद्धिमान तथा संवेदनशील जोडीहरू समस्याहरू समाधानका लागि तेस्रो पक्ष अर्थात् मनोबैज्ञानिक परामर्शदाता, साथीहरु, अभिभावकहरूसंग सहयोग प्राप्त गर्छन् | हो, धेरै समस्याहरू समयसंग समाप्त हुन्छन् तर सबै जोडीका समस्याहरू आफैं समाप्त हुँदैनन् | विवेकपूर्वक मनोबैज्ञानिकको सहयोग लिनु उचित हुन्छ | हरेक परामर्शदाताहरू आफुसंग सहयोग प्राप्त गर्न आउने र सहयोग प्राप्त गर्ने जोडीहरूको गोपनीयता राख्न प्रशिक्षित हुन्छन् र कानुनीरुपमा यस्तो गर्न बाध्य हुन्छन् |
९. अलग सुत्ने : सामान्यतया परम्परागत नेपाली पतिपत्नीहरू आधुनिक जीवनशैली अपनाएका पतिपत्नीहरूझैं एकै विस्तरामा संगै सुत्दैनन् | यसो गर्नुमा पारिवारिक मुल्यको सम्मान तथा चालचलन हुन्छ | संगै नसुत्ने जोडीहरू समस्याग्रस्त नै हुन्छन् भन्ने भन्ने निष्कर्ष निकाल्नु उचित हुँदैन | यहाँ ती सबै जोडीहरू समस्याग्रस्त हुन्छन् भन्नेतिर संकेत गरिएको हो जुन् विविध कारणले यौनजन्य क्रियाकलाप तोडेर एकैछाना मुनि बसिरहेका छन् | बाहिर हेर्दा उनीहरूले अरूसंग सामान्य ब्यबहार गर्छन् र सबै ठीकठाक भएको नाटक गर्छन् तर त्यहाँ केही पनि ठीक हुँदैन | उनीहरूसंगै बसेपनि पतिपत्नीका विचमा हुने यौनजन्य क्रियाकलाप नहुने हुँदा चरम तनावमा हुन्छन् | एकै छाना मुनि पतिपत्नीका रूपमा बसेर पनि आपसमा यौनजन्य क्रियाकलाप नहुनु भनेको विस्फोटक अवस्था हो | यस्तो समस्या भएकामा तुरुन्त मनोबैज्ञानिक परामर्शदातासंग सम्वन्ध गर्नुपर्छ वा यो आर्टिकल पढेपछि आफ्ना पार्टनरसंग संवादका लागि अग्रसर हुनुपर्छ | अग्रसरता पत्नी वा पति जसले लिए पनि हुन्छ |
१०.यौनक्रियामा परिवर्तन : दम्पत्तिहरूका विच यौनजन्य क्रियाकलाप हुनु प्राकृतिक कुरा हो | हरेक दम्पत्तिका यौनजन्य क्रियाकलापहरू परिचित हुन्छन् | तर यदि यौनजन्य क्रियाकलापमा नाटकीय परिवर्तन आउँछ भने “दाल मे काला है” भनेर बुझ्नुपर्छ | जव मान्छेले केही लुकाउन खोज्दछ भने उसले त्यो कुरा वदलिएको यौनजन्य क्रियाकलापबाट प्रकट गर्छ | यदि तपाईंले आफ्नो जोडीदार अचानक स्वाभाविक यौनजन्य क्रियाकलापमा परिवर्तन अनुभव गर्नुहुन्छ भने तुरुन्त मनोबैज्ञानिक परामर्शदातासंग सहयोग प्राप्त गर्नुपर्छ |
११. एकै कुरा वारम्वार दोहोर्याउने : पतिपत्नी अलग-अलग मस्तिष्क भएका व्यक्तिहरू हुन् | दूबैले आ-आफ्नो स्वतन्त्रता एकअर्काको लागि समर्पण गरेका हुन्छन् | एकअर्काले एकअर्काको लागि आफ्ना इच्छाहरू, रुचिहरू त्यागेका हुन्छन् | मानवीय रूपमा फरक व्यक्तित्वको सम्मान गर्नु उचित हुन्छ | तर केही पति वा पत्नी एउटाको गल्तिलाई वारम्वार दोहोर्याएर लान्छित गर्ने काम गर्छन् | स-सानो गल्तिका लागि वारम्वार दोष दिन्छन् | त्यसैको आधारमा नाम काढेर बोलाउँछन् | एस्तो बानीव्योहोराले दोस्रोपक्षको अहंमा ठूलो धक्का लाग्छ | पतिपत्नीका विचमा ताना मार्नु, सधैं एकै कुराको दोष दिंदै बोल्नु आपसी सम्वन्धको शत्रु हो | यदि तपाईंमा एस्तो बानी छ भने तुरुन्त सुधार्ने प्रयन्त गर्नुपर्छ | यदि तपाईं आफै गर्न सक्नुहुन्न भने परामर्शदाताबाट सहयोग प्राप्त गर्नुपर्छ | स-सानो कुरामा जोडीहरू संवेदनशील हुनुभन्दा सम्मान गर्न सक्ने हुनुपर्छ |
१२. अहं प्रदर्शन : पतिपत्नीको सम्बन्ध प्रेमपूर्ण र समानतामा आधारित हुनुपर्छ | घरको ढोकाभित्र पसेपछि पद, धन, मान, ओहदाआदिको अहंकार रहनु हुँदैन | चाहे पत्नी होस् वा पति दूबैको अहंकार दैलो भित्र पस्नु हुँदैन | यस्तो अहङ्कारले पतिपत्नीको सम्वन्ध सधैंको लागि विग्रिन सक्छ | खासगरी नेपाली समाजमा एस्तो अहं धेरैठाउँमा देखिन्छ, सुनिन्छ र प्रकट हुन्छ | चाहे पति ओहादेदार होस् वा पत्नी दूबैले आफ्नो अधिकारको अहं थोपर्ने प्रयन्त गर्नुहुँदैन | अहंकार प्रदर्शनले पतिपत्नीलाई स्वामी र दासको सम्वन्धमा परिवर्तन गर्छ | यदि तपाईंमा एस्तो अहंकार छ र आफुले चाहेर पनि आफ्नो यस्तो बानी त्याग्न सक्नुभएको छैन भने तपाईलाई परामर्शदाताको सहयोग आवश्यक छ |
अन्त्यमा, हामी सबै फरकफरक मान्छे हौँ | मान्छेका रूपमा हाम्रो फरकपना नै हाम्रो परिचय हो | पतिपत्नी पनि फरकफरक व्यक्तित्व हुन् र संगै वस्नका लागि दूबैले केही न केही त्याग गरेका छन् | कहिलेकाहिं मतभिन्नता हुनु अत्यन्त स्वाभाविक कुरा हो तर सधैं मतभिन्नता रहनु असामान्य घटना हो | मलाई विश्वास छ, यो आर्टिकलले तपाईंको जीवनमा पार्वती र शिवको जस्तो प्रेममय दाम्पत्य जीवन स्थापित गर्न नसके पनि तपाईंका भिन्नताहरू समेटिने छन् र तपाईंको वैवाहिक जीवन सरल र सहज हुनेछ |
(Copyright on writer)