गीता नै किन ?

0
942
Dr. Govinda Upadhyaya

आज श्रीकृष्णले अर्जुनलाई गीता सुनाएको दिन हो | अर्जुनलाई श्रीकृष्णले श्लोक मै पढेर गीता सुनाएका हुन् कि बोलेर सम्झाएका हुन् भन्न सकिन्न तर मर्ने र मार्ने उद्योगमा तम्तयार सारथीको मुखबाट विश्वको उत्कृष्ट साहित्यको सृजना हुनुमा विश्वका मानवसमाजलाई ठूलै संदेश दिन्छ |

गीता प्राचीन वैदिक साहित्यहरूको असंख्य भण्डार मध्ये एउटा वूँदमात्र हो | सरल, सहज तथा सबैले मनन गर्न सक्ने शैलीमा लेखिनु र कसैको निन्दा नहुनु यस लघुकाय ग्रन्थको आफ्नो मौलिक विशेषता हो | संसारमा गीतामात्र एकल ग्रन्थ हो जसले न आफुलाई धार्मिक ग्रन्थ भएको घोषणा गर्छ न यसमा कुनै नकारात्मक संदेशहरू नै छन् | अर्को शब्दमा भन्नुपर्दा यदि कसैले सकारात्मक चिन्तन र प्रेरणा दिने ग्रन्थ पढ्न चाहनुहुन्छ भने गीता नै पढ्नुपर्छ |

धेरैलाई लाग्ला, हिन्दू भएर हिन्दूहरूको पवित्र ग्रन्थ गीताको प्रशंसामा तपाईंको पूर्वाग्रह पनि त हुन सक्छ नि ? प्रश्नमा खोट छैन तर मभित्र नेपाली हिन्दू भएको केही स्वाभिमान र केही पूर्वाग्रह पनि होला तर मभित्र रहेको पूर्वाग्रहको तुलनामा गीताको विशालता धेरै बढी छ | “आफ्नो र अर्काको भनेर सानो मन भएका मान्छेमा सोच हुन्छ, विशाल मन भएको मान्छेका लागि विश्व नै आफ्नो परिवार हुन्छ” भन्ने गीताको मनसंग मेरो केही चल्दैन |

गीता कर्मकाण्डको ग्रन्थ होइन तर यसले आ-आफ्ना धर्म, संस्कृति, चलन, रीतिथितिको खण्डन-मण्डन गदैन | यसले बुझेको छ “मान्छेलाई आफ्नै जन्मभूमि, माटो, धर्म-संस्कृति प्यारो हुन्छ | उसले सबैथोक त्याग्न सक्छ तर आफ्नो मौलिक पहिचान त्याग्न सक्दैन र त्याग्न मिल्दैन पनि | “आफ्नो देश, धर्म तथा गुणहरूको रक्षाका लागि मर्नु उचित हुन्छ किनभने पराई धर्म-संस्कृतिले तिम्रो मौलिकता निलीदिन्छ” | गीताले हिन्दू नै स्वधर्म हो कहीं भनेको छैन |

मान्छेले सबै थोक परिवर्तन गर्न सक्छ तर आफ्नो मूलगुण परिवर्तन गर्न सक्दैन | शरीर, मन, बुद्धि, अहंकार तथा सिकाई जहाँपनि संगै हुन्छन् | यी सबै मिलेर व्यक्तित्वको निर्माण हुन्छ | यदि कुनै मान्छे दानी स्वभावको छ भने त्यो स्वभाव सधैं उसको आफ्नो हुन्छ | प्रेम गर्ने प्रेमी हुन्छ, जानेको मान्छे ज्ञानी हुन्छ, मिल्न सक्ने मान्छे मिलनसार हुन्छ | गीताले हरेक मान्छेलाई आफ्नो मूलगुण र व्यक्तित्वको पहिचान गरेर काम गर्न प्रेरित गर्छ | सात्विक गुण भएका मान्छेले सरल काम गर, राजसिक गुण भएका मान्छेले जोड्ने-जुटाउने काम गर र तामसिक गुण भएका मान्छेले शारीरिक श्रमको काम गर – गीताले सबैलाई यही भनेको छ |

यो शरीर कामको उपज हो | काम, क्रोध, लोभ, मोह, ममताआदि मानवीय गुण नै हुन् | यी सबै मानसिक गुण हुन् तर शरीरमा प्रकट हुँदा गुण र अवगुण दुवै रूपमा प्रकट हुन्सक्छन् | नैतिक तवरले काम (सेक्स)को प्रयोग गर्दा रमाइलो र सन्तान सुख दुवै मिल्छ तर यसैको अनैतिक प्रयोग गर्दा जेलनेल हुन्छ | कृष्णले गीतामा यी मानसिक वृतिहरूप्रति संयम अपनाउन आग्रह गरेका छन् र योगविधिबाट ती उपर विजयप्राप्त गर्न सकिने बाटो देखाएका छन् | जसले यी मानसिक तर शरीरलाई माध्यम बनाउने यी वृत्तिहरूमा विजय प्राप्त गर्छन् ती योगी हुन्छन्, जसले नैतिक तवरले यिनको प्रयोग गर्छन् ती गृहस्थ हुन्छन् र जसले जथाभावी गर्छन् ती पापी हुन्छन् | यो तत्थ्य हिन्दूहरूमा मात्र होइन मानवजातिमा लागु हुन्छ |

गीताकाअनुसार आत्मा परमात्माको सानो अंश हो | हरेक शरीरधारी परमात्मा कै अंश हुन् | जन्मदा सबै अपरिपक्व, असहाय तथा अपवित्र नै जन्मिछन् | जन्म तथा मृत्यु प्रक्रिया सबैको एकै हुन्छ | सानोठूलो, धनिगरिव तथा उच्च्चजात र नीचजात संसारका व्यापार हुन् | गुणहरूले उसको जात निर्माण हुन्छ र एउटा ब्राह्मणले जात, धन तथा कुलका आधारमा मान्छेमान्छेविच भेदभाव गर्नै सक्दैन किनभने उसले ब्राह्मण, कुकुर र शूद्रमा त्यसै परमात्माको अंशको दर्शन गर्छ |

केही पश्चिमा र तिनको जूठो पत्याउनेहरूले गीतालाई “हिंसाका लागि उक्साउने” ग्रन्थ हो भनेर निन्दा गरेका छन् | पश्चिमाहरू अर्काको निन्दा गरेर आफ्नो विजय सुनिश्चित गर्छन् | हामी हिन्दूहरूको प्रणाली फरक छ | श्रीमद्भगवत-गीताका उपदेशक श्रीकृष्णको व्यक्तित्व हतियारधारिका रूपमा प्रसिद्ध छैनन् | उनले आफ्नो हातमा कुनै घातक हतियार भिरेका हुँदैनन् | उनको मुरलीले विश्वलाई शान्ति र सहअस्तित्वको संगीतमा जिउन प्रेरित गर्छ | त्यैभएर उनले युद्धभूमिमा दिएको उपदेश पनि “गीत” भनिएको हो | श्रीकृष्णले अर्जुनलाई युद्ध गर्न उक्साएका होइनन्, उनले अर्जुनलाई उसको सीप र युद्धबाट बाहिरिंदा त्यसले निम्त्याउने विचलनसंग परिचित मात्र गराएका हुन् | नत्र गीताको अन्त्यमा “मैले भन्ने कुरा सकें अव तिमीले के गर्छौं ? आफ्नै निश्चय गर” भनेर नभनि “मैले भनेको कुरा राम्ररी बुझेको भए अव लडाई गर्न तम्तयार भएर उठ” भन्ने थिए | महाभारतको युद्ध लड्ने निर्णय अर्जुनको थियो श्रीकृष्णको थिएन |

मैले बाल्यकालमा बुझेर गीता पढेको होइन | जव मैले गीताको कुरा बुझ्न थालें, अनि मैले स्पष्टसंग बुझें “गीता पूजेर होइन पढेर, मनन गरेर मात्र बुझिने ग्रन्थ हो” | विश्वास गर्नुस्, गीता नपढी बुझिने ग्रन्थ होइन | अर्कोकुरा, एक पटक यो बुझेपछि तपाईंले यसलाई छोड्न सक्नु हुन्न न त विर्सन नै सक्नुहुन्छ | गीताले तपाइको मन, बुद्धि, अहङ्कार, विवेक तथा चेतनामा सकारात्मक राज्य गर्नेछ | यो पढेपछि एत्तिमात्र फरक पर्छ कि तपाईंको जीवनरूपि नदी मैलोधैलो छ भने सफा, सुन्दर र सरल भएर प्रविहित हुन्छ | तपाईंको आफ्नो जीवन र अरूको जीवनप्रतिको नजरिया परिवर्तित हुन्छ | पहिले जताततै कोलाहल सुनिथ्यो भने अव कृष्णको मुरलीबाट निस्केको सुन्दर संगीत सुनिन्छ | परिवारका हरेक सदस्यमा प्रेम झल्किन्छ, पृथ्वीका कणकणमा आफ्नोपनको दियो बल्छ | पराई भन्ने शब्दमात्र शेष रहन्छ |

धेरैले गीतालाई पवित्र ग्रन्थका रूपमा ब्याख्या गर्छन् | म उहाँहरूप्रति श्रद्धा व्यक्त गर्छु तर भगवानको सुन्दर विग्रहको मन्दिरमा अर्चना गर्दा पुण्य मिल्छ तर गीताको पवित्रता उसको अध्ययन नगरी फलिभूत हुँदैन | मन्दिरमा राखेर, पण्डितलाई दान दिएर, फुलअक्षता चढाएर गीताको पवित्रता प्रमाणित हुनसक्दैन | गीता पढेपछि मान्छे “विश्व-मानव” बन्नसक्छ, यही नै गीताको पवित्रता हो |

मैले ढुक्क र अधिकारसंग भन्न सक्छु, नेपालका नेताले श्रीमद्भगवत-गीता पढेर यसका भनाईहरूलाई आफ्नो जीवनमा रुपान्तरित गरेको भए हामी नेपाली विश्वका सबैभन्दा विकसित, सरल, सहज तथा माननीय जनता हुनेथियौँ | गीता बुझ्ने मानिस न बेइमान हुन सक्छ न विश्वासघाती नै | आफ्नो नाफा-नोक्सानको लागि काम गर्दैन र आफुले सम्हालेको कर्मलाई “कर्तब्य” मानेर पालन गर्छ | जयविजयसंग उत्साहित वा दुरुत्साहित हुँदैन | (चुनावमा) विजयी भए पनि असल काम गर्छ, हार वेहोरे पनि असल काम गर्न छोड्दैन | कर्तब्य र निष्पक्षता गीताले दिने राजनैतिक कर्तब्य हो | सिरिया, पाकिस्तान, अफगानिस्थान र अन्य युद्धरत मूलुकका जनता र नेताले गीता पढ्ने मौका पाएको भए उनीहरू अहिले शान्त हुन्थे |

श्रीमद्भगवत-गीता हिन्दूहरूको धार्मिक ग्रन्थ हो भन्ने मूर्ख हुन् | गीता आफैले कहीं त्यस्तो भनेको छैन न त गीतका प्रथम ब्यख्यकार शंकराचार्यले नै त्यसो भन्नुभएको छ | अन्य ब्यख्याहरूले पनि त्यसो भनेका छैनन् | गीताको तुलना बाइबल वा कुरानसंग गर्नै मिल्दैन | यी दूबै सम्प्रदायका मौलिक र सम्प्रदायको उत्थान, विकास तथा रक्षा गर्ने नियमन ग्रन्थ हुन् | गीता सबैको साझा ग्रन्थ हो | हिन्दु, मुस्लिम, बोन, बौद्ध, किरात, इसाई सबैले गीता पढ्न सक्छन् र असलबाटोका लागि मनन गर्न सक्छन् | श्रीमद्भगवत-गीता पढे “बौलाइन्छ” भन्ने र गीता पढ्दै नपढी त्यसको अनादर गर्नेहरूको कुनै औषधि छैन |

म धर्म मान्ने/नमान्ने, हिन्दू विरोधी/समर्थक, साम्यवादी/पूंजीवादी, मुस्लिम-इसाईआदिसबैसंग आग्रह र ग्यारेन्टी गर्न चाहन्छु, श्रीमद्भगवत गीता पढ्नुहोस्, यसले तपाईंलाई आफ्नै बाटोमा हिड्न तर सकारत्मक बाटोमा हिड्न मदत गर्नेछ | जतिसुकै ठूलो नदी भए पनि अन्जुलीमा पानी बोकेर मुखमा नहालेसम्म प्यास बुझ्न सक्दैन | पानी आफै हिंडेर तपाईंको मुखमा पर्दैन | प्रयत्न तपाईं आफैले गर्ने हो | प्यास पनि आफ्नै बुझ्ने हो |

अन्त्यमा, श्रीमद्भगवत-गीता पढ्नै पर्ने सामग्री हो, अवश्य पढ्नुहोस् | नत्र संसारको सबैभन्दा महत्वपूर्ण रचनाको विषयमा जानकारी नै प्राप्त नभई तपाईंको अन्त्य हुनेछ | एस्तो कहिल्यै हुन नदिनुहोला |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here