विवाह भएको पचीस वितिसकेको थियो | हामी एकल परिवारमा बस्थौँ | एक दिन विहानै अचानक श्रीमतीले भनिन् “तिमी आज ती आइमाईसंग भेट्न जाऊ | तिमीलाई तिनले असाद्ध्यै माया गर्छिन् | हामी सबै मिलेर पनि तिनको मायाको छेउ पाउन सक्दैनौं | मेरो माया भन्दा धेरै महत्वपूर्ण छ तिनको माया, उनले तिम्रोलागि सर्वस्व दिएकी थिइन् |
हो, ती आइमाइले तिमीसंग धेरै समय मायामा विताएकी थिइन् | तिमीले पनि तिनको माया विर्सन सकिरहेका छैनौँ | तिमी ती आइमाईसंग भेट्न जानुपर्छ |”
मेरी श्रीमतीका बचनले ती स्त्रीप्रति मेरो प्रेम पुन: जागृत भयो | मैले आफ्नो जिन्दगीमा त्यत्तिको माया गर्ने अर्की आइमाई भेटेको थिइन | मैले ती आइमाईलाई बिर्सनु हुँदैन : आज अचानक श्रीमतीले नै भेट्न जाऊ भनेपछि मैले फोन गरें |
मेरी श्रीमतीले ढोकासम्म आएर मलाई हास्दै विदा गरिन् | म मेरी श्रीमतीप्रति कृतज्ञ थिएँ | विवाह गरेको पचीस वर्षपछि उनले ,मलाई आफ्नी सबैभन्दा मायालुसंग भेट्ने अनुमति सजिलोसँग दिएकी थिइन् |
केही मेरो आफ्नो कमजोरी थियो, केही मेरो ब्यबहारिक समस्या थियो, केही मेरो र श्रीमती कै “एकलपरिवारका रूपमा जिउने जिद्दी” थियो, जसले ती आइमाईसंग बिछोड पार्यौ |
साच्चिकै भन्नुपर्दा यो लामो अन्तरालमा मैले ती आइमाईसंग निर्धक्कसंग माया साट्न पाएकै थिइन | मैले हरेक दिन तिनलाई मिस गरिरहेको हुन्थें |
म उनको घर पुग्दा उनी ढोकामा उभिएर मेरो बाटो हेरिरहेकी थिइन् | मलाई देख्नेबित्तिकै उनको चेहेरामा मीठो, असाध्यै मीठो माया चम्कियो | मलाई देख्दा त्यसरी खुसी हुने मायालु आइमाइ तिनै एक्ली थिइन् | यद्यपि समयको मारले उनको शरीर धेरै बदलिएको थियो |
मैले ती आइमाईलाई पचीस वर्ष अधि चटक्कै छोडेको थिएँ | मैले आफ्नो स्वार्थका लागि उनलाई त्यागेको थिएँ | उनी सामु पुग्दा मन लाजमर्दो भैरहेको थियो | तर तिनको मायामा कुनै फरक थिएन | मानौं, उनी पच्चीस वर्ष अघिकै हुन् |
म ढोकामा पुग्दासाथ ती आइमाईले मेरो हात समातिन् | मेरो टाउको, गालामा चुम्बन गरिन् | मैलेे धेरैलामो समयसम्म एस्तो निष्कलंक प्रेमको अनुभव गर्न पाएको थिइन | म तिनको त्यो प्रेम पाएर कृतार्थ भएको थिएं |
त्यो दिन हामी दुबैले संगै बनाएर भोजन गर्यौं | पुरानो प्रेमको कुरा गर्यौ | विछोडको वेदना साटासाट गर्यौं | उनले मेरो छातीमा आफ्नो शिर राखेर धेरै कुरा गरिन् | बालापनको कुरा गरिन् | जवानीको कुरा गरिन् | मैले पनि उनको काखमा आफ्नो शिर राख्न पाउँदा असाध्यै खुसी भएको थिएँ | हामी दुवैले आफुलाई रोक्न सकेनौं, खुलेर रोयौं पनि |
त्यो दिन उनले आफ्नो ढोकामा उभिएर मलाई विदा गरिन् | उनको आँखामा अनन्त प्रेम भरिएको थियो | मलाई पनि उनीसंग भेटेर अनन्त सन्तोष मिलेको थियो |
मेरो लागि ती आइमाईको प्रेम सधैं आनन्ददायक हुन्थ्यो | छुट्ने बेलामा पुन: मिलनको इच्छा गर्थें | पचीसवर्षको बिछोडको पश्चातापले मन दुख्थ्यो |
त्यो दिन घर फर्कदा श्रीमतीले कुनै गुनासो गरिनन्, उल्टै हामी बीचको प्रेमालाप, प्रेमप्रसंग सुनेर दंग परिन् | अत्यमा, उनले भनिन् “गल्ती हामी दुबैले गरेका रहेछौं | हामीले ती आइमाईको प्रेम बुझ्न सकेनौं |, तिमीले आज भेटेर आयौं, मलाई अत्यन्त सुख तथा सन्तोष मिलेको छ |
त्यसपछि, ती आइमाईसंग भेट्न म धेरै पटक गएँ | उनी आफ्नो घरमा एक्लै बस्थिन् | उनको शरीर जीर्ण भैसकेको थियो, त्यैपनि मलाई देख्दा उनीमा अनन्त शक्तिको संचार हुन्थ्यो | धेरैजसो समय मेरो आगमनको प्रतिक्षा गर्दै ढोकामा कुरिरहेकी हुन्थिन् |
धेरै पटक मेरी श्रीमती पनि उनीसंग भेट्न गइन् | उनले मेरी श्रीमतीलाई पनि उस्तै माया गरिन् | उनले मैले माया मारेकोमा कहिल्यै पनि गुनासो गरिनन् | पुरानो कुरा कोट्याउने प्रयत्न गरिनन् |
उनी मायाकी खानी थिइन् | उनलाई देखेपछि मेरो मन प्रसन्न हुन्थ्यो,आत्मा तृप्त हुन्थ्यो तर २५ वर्षसम्म टाढा भएकोमा पश्चाताप पनि हुन्थ्यो |
कारणवस, केही महिना मैले ती आइमाईलाई चाहेर पनि भेट्न जान सकिन | म लामो प्रवासमा थिएँ | मनमा भेट्ने इच्छा हुँदाहुँदै पनि म अलग रहन बाध्य थिएँ |
घर फर्केकै दिन एउटा मान्छेले चिठी लिएर आयो | मैले तुरुन्त त्यो चिठी खोलेर पढें | त्यसमा यसरी लेखिएको थियो :
“तिमीले मेरो अन्तिम समयमा मलाई माया गर्यौं | तिमी मसंग भेट्न आयौ | तिमीप्रति मेरो कुनै गुनासो छैन | मलाई थाहा छ, तिमी आफ्नो गृहस्थीमा व्यस्त भएकोले मसंग वारम्वार भेट्न सकेनौं |
तिम्री श्रीमती असाध्यै मायालु छन् | उनको हरेक दिन ध्यान राख्नु, मलाई झैं माया गर्नु | मैले मेरो घर तिम्री श्रीमतीको नाममा लेखिदिएकी छु | आफ्नी श्रीमतीलाई सधैं माया गर्नु, यही नै मप्रतिको साँचो प्रेम हुनेछ | मेरो लागि कुनै पश्चाताप नगर्नु | तिम्रो सधैं भलो होस् |
तिमीलाई असाध्यै माया गर्ने तिम्रै : आमा |
(डा. गोविन्द एस. उपाध्याय, त्रिचन्द्र बहुमुखी क्याम्पसमा दर्शनशास्त्र तथा मनोविज्ञानको अध्यापन गर्नुहुन्छ र मनोबैज्ञानिक परामर्शदाता पनि हुनुहुन्छ |)