डा. गोविन्द एस. उपाध्याय
उनी (मीना) १६ वर्षको उमेर मैं २८ वर्षीय पुरुषसंग पोइला हिडीन् | कथा नौंमा पढ्दापढ्दै आफ्नो मोवाइमा फ्रेन्डस-रिक्वेस्ट आयो | उनले विचार नै नगरी मित्रता स्वीकार गरिन् | उसले नम्वर माग्यो, त्यो पनि सजिलैसँग दिइन् |
तीनदिनपछि क्लास चलिरहेको बेलामा त्यो मान्छेले फोन गर्यो | उनले क्लास-छोडेर फोन उठाइन | उसले ठाउँ र गाउँको नाम सोध्यो उनले सबै कुरा साँचो-साँचो भनिदिईन् |
शनिवार भएको हुँदा मिना खरवारीमा बाख्रा चराऊंदै थिइन् | केही दिनपछि त्यो मान्छे गाउँमै आएर फोन गर्यो र भेट्ने इच्छा प्रकट गर्यो | उनले घरमा आउन अनुरोध गरिन् तर उसले मानेन |
नजिकैको चौतारीमा भेट्ने कुरा मिल्यो | पहिलो भेट मैं उसले राम्रो सूट र मोबाइल उपहार दियो | आफु एउटा सफल ब्यबसायी भएको र शहरमा घर भएको बतायो, साथै “फोटो देखेको दिन देखि नै माया” गर्न लागेको पनि जिक्र गर्यो र फेरी भेट्ने बाचा गर्दै बाटो लाग्यो |
अनि, बारम्वार मोबाइलमा कुरा हुन थाल्यो | फेसबुकमा च्याट हुन थाल्यो | यी सबै ठाउँमा उसले एउटा कुरा दोहोर्याई रह्यो “अहिले नै आमा वालाई नभन्नु | आजको जमानामा आफ्नो विषयमा निर्णय गर्ने अधिकार आफ्नै हुन्छ |”
यसपछि उ हरेक १५ दिनमा गाउँ आउन थाल्यो | हरेक पटक उसंग उपहारहरू हुन्थे | उ निकै धनिजस्तो देखिन्थ्यो र ऊ मायालु व्यवहार गर्थ्यो | यस पटक भने उसले मीनाको शरीरलाई छोयो, उनले “किन नाइँ” भन्न सकिनन् |
घर फर्केपछि मीना धेरै वेरसम्म रोइ रहिन् | मनमा ठूलो पश्चाताप भयो | “मैले तिमीलाईलाई असाध्यै माया गर्छु, हामीले अव विवाह गर्नुपर्छ” भन्दा मीनाको मन तर्सियो | विवाहका विषयमा उनको सोच नै थिएन |
घरमा एउटा भाई थियो | बा विदेशमा बस्थे | आमा अलिअलि रोगी थिइन् | घरमा धेरै अभाव त थिएन तर फुर्मास गर्न पनि थिएन | आमाले भाईलाई बढी माया गर्थिन् | घरको सबैजसो काम आफैले गर्नुपर्थ्यो | त्यैपनि “टोकेसो” थियो नै | मीनाको कुरा सुन्ने कोही थिएन |
छ महिनाको मोबाइल-प्रेमपछि एकरात मीना घर छोडेर “मान्छेसंग” सुटुक्क हिडीन् किनभने उनले “नाइँ” भन्न सकिनन् | उसको आग्रहलाई टार्ने आँट उनीमा थिएन |
उसले “बूढा सुब्बा” लगेर सिन्दुर-पोते दियो | दूवैजना एउटा होटलमा बसे | त्यसदिनको होटल बसाइ निकै डरलाग्दो थियो | उसले “जवर्जस्ती” गरेको थियो | उनलाई त्यो पीडा पचाउन निकै गारो भयो |
केही दिन घुमेपछि उनको लोग्नेले आफ्नो घर लग्यो | त्यो घर कम र गरिवीको मूर्ति बढी थियो | त्यहाँ उसकी जेठी श्रीमती र त्यसतिरका दूई सन्तान थिए | त्यस घरमा कसैले स्वागत गरेनन् | उनीसंग त्यहाँ बस्नको विकल्प थिएन |
घर पुगेपछि उनले बुझिन् – लोग्ने वेरोजगार रहेछ | उपहारमा दिएको मोबाइल, सुनका टप तथा अन्य सामग्रीहरू उधारोमा बटुलेका सामग्री रहेछन् | घर पुगेको तेर्सो दिन मैं लोग्नेले उपहारको मोबाइलसमेत खोस्यो |
सौताको टोकेसो, सासु-ससुराको गालीगलौज, जड्याहा लोग्नेको पिटाइ, आधापेट
कठोर शारीरिक श्रम मीनाको दैनिकी बने | उमेरले १८ वर्ष छुनुभन्दा पहिला नै एउटा बच्चीले जन्म लिई |
त्यसपछि लोग्नेको प्रताडना अझैं बढ्यो | पहिलेकी श्रीमतीका दुई छोरीहरूको रीस उसैमाथि पोखियो | सहनै नसक्ने गरी शारीरिक यातना बढ्न थाल्यो | उनको कलिलो मन छियाछिया भयो |
उनको सहयोगका लागि न कुनै आफन्तले पहल गरे न गाउँलेहरू नै सहयोग गर्न तयार भए | उनलाई देखेर सबै सहानुभूति प्रकट गर्थे र कहिलेकाहिं लुकेर भोजन दिन्थे | उनका परिवारसंग गाउँलेहरूको बोलचाल नै थिएन |
अन्तत: सहनै नसकेपछि उनले आफ्नो छोरीसंग कोशीमा हाम फाल्ने निर्णय गरिन् | गाउँलेले मीनाको उद्धार गरे तर छोरीलाई जोगाउन सकेनन् |
मीना अहिले “कल्याणकेन्द्रमा” छिन् | बर्बराउने, डराउने, विश्वास गर्न नसक्ने, निदाउन नसक्नेजस्ता मानसिक अस्वस्थ्यताले ग्रस्र छिन् | मनोबैज्ञानिक परामर्शदाताको प्रत्यक्ष निगरानीमा छन् |
………………………………………………………………………………………………………………………….
यो सत्य घटनाको अर्धसत्य कथाकरण हो | यसमा पात्रको नाम, ठाउँआदि फेरिएको छ तर घटना कत्तिपनि फेरिएको छैन | यस घटनाको प्रयोग परामर्श, संचेताना तथा जागरणका लागि मात्र होस् |
हाम्रो समाजमा यस्ता धेरै मीनाहरू छन् जसलाई सहयोगको खाँचो छ | यो घटना पढेपछि तपाईंहरूले यस्ता पात्रहरूलाई कसरी सहयोग गर्न सक्नुहुन्छ ? योजना बनाउने प्रयत्न गर्नुहोला |
(डा. गोविन्द एस. उपाध्याय, त्रिचन्द्र बहुमुखी क्याम्पसमा दर्शनशास्त्र तथा मनोविज्ञानको अध्यापन गर्नुहुन्छ र मनोबैज्ञानिक परामर्शदाता पनि हुनुहुन्छ |)