आज हामी नेपाली साहित्यमा चम्किलो र आशा लाग्दो प्रतिभा बनेर उदाएका नेपाली भाषी भूटानी समुदायको वर्तमान युवा पुस्ताको चल्तीको नाम सुसन माझी अर्थात् दियालो सुसनको बारेमा चर्चा गर्दै छौं | सन् १९८८ मा भूटानको पुरानो बस्ती, गेलिफुमा जन्मिएका उनी हाल अमेरिकाको सन एन्टेनियो(San Antonio)मा बसोबास गर्छन् |
असल हुनु र सफल हुनुको भिन्नता राम्रै बुझेका यी स्रष्टा चर्चित हुन कति पनि लोभिन्दैनन् तथापी चन्द्रमा जस्तै सालिन जीवनको चाहना बोकेर साहित्यिक सृजनामा होमिनुले प्रतिदिन उनि सबैको प्रिय पात्र बन्दै गैरहेको यथार्थ घाम जस्तै छर्लङ्ग देख्न सकिन्छ | त्यसैले उनि वर्तमान युवा जमातलाई प्रतिनिधित्व गर्न सक्ने हाम्रो समाजको प्रतिभावान एक उज्वल साहित्यिक नक्षत्र हुन् भन्दा दुईमत नहोला |
विशेष गरि उनी गीत, गजल र कवितामा दखल राख्छन् साथै चित्रकलामा पनि उनी निक्कै अगाडी छन् | स्थायी समाधान स्वरूप तेश्रो मुलुकमा भूटानी शरणार्थीहरूलाई पुनर्वास गराउने क्रम अत्यन्तै तिब्र भएको बेला भूटानी अग्रज साहित्यकारहरूको एक किसिमको पलायन वा निष्क्रियताको कारण भूटानी नेपाली भाषा साहित्य अभिभावक बिहिन साथै अन्यौलग्रस्त बनेको थियो | त्यसताका सुसन माझी लगायत एक हुल सजक युवाहरुले यसलाई पुनर्जागरण, व्यवस्थापन र निरन्तरताको निम्ति निभाएको भूमिका यस घडी सम्झना योग्य छ |
विभिन्न पत्र पत्रिकामा उनको सृजनाहरु प्रकाशित भएका छन् | सन् २०१३ बाट उनको गीतहरु रेडियोमा बज्न थालेको हो | उनको ‘निद्रेनी’ नामक सांगीतिक गीतिसंग्रह बजारमा छाडौ आउने भएको छ |
उनि विभिन्न संघ-संस्थामा आबद्ध छन् | विश्व भूटानी साहित्यिक संघठनका सक्रिय केन्द्रीय सदस्य हुन् भने सुधा लिट्रेचर ग्रुपका अद्यक्ष पदमा आसिन हुनुहुन्छ | भूटानी समुदायबाट साहित्यिक जगतमा जन्मिएको ‘स्वीकारोक्ति’ नामक समजपयोगी नौलो दार्शनिक विचारको पनि उनी अभियान कर्ता हुनुहुन्छ | स्रष्टा भनेको रचना गर्ने र विद्रोह बोल्ने व्यक्ति मात्रै होइन तर शिष्ट, सभ्य र सुन्दर मनको प्रतिमूर्ति पनि हो भन्ने आम मान्यता सुसन माझीमा देख्न सकिन्छ | त्यसैले त हामी भन्छौं “सुशीलता र सृजनात्मकताको पर्याय हो सुसन माझी !”