आफ्नोदेखि–कथित आफ्नोसम्मको यात्रा

0
1250

आफ्नोदेखि–कथित आफ्नोसम्मको यात्रा

Netra Prasad Acharya
Netra Prasad Acharya

सानै थिएँ, घुँडा जोल्ठाएर हिँड्ने एउटा अपाङ्ग बालक। पिल्टिक्क भुँडी मात्र देखिने, कुपोषण भएको बच्चा जस्तै। क्षणमा मुर्छा हुने र क्षणमा चेस्टा हुने स्वस्थानीकी चन्द्रावती झैँ। साम्चीको एउटा बिकट ब्लक दोरोखाको माने गाउँमा जन्म लिएको रे। मैले थाहा पाउँदा, म दाल नखाने भनेर झगडा गर्थें। मिठासे पनि अति मिठासे सानैबाट। गाउँमा थोरै हैकम जमाउन सक्ने शिक्षा हासिल गरेका मेरा बुबा, सरकारी कामकाजले प्राय बाहिरै बस्नुहुन्थ्यो रे। मलाई अझै याद छ, ओढारमा पाइने खारको-नुन र पानी अमलाको-तरकारी पकाएर पिकनिक मनाएको। पकाउनेहरु म भन्दा अलि ठुला थिए। म भने पात थापेर खानेमात्र। घरमा पालिएका गाई र गोरुलाई माला लगाइ दिएर बाबर खुवाएको झलझली आँखामा आउँछ। सपनाझैँ लाग्छ। मेरो मस्तिष्क त्यतिसम्म सोच्ने र थाहा पाउने भएको थिएन कि, मैले त्यो तिहारको बेला थियो भनेर थाहा पाउने। अहिले सम्झँदा, पक्का तिहार रहेछ। मेरी आमा मीठो गाउनुहुन्थ्यो। हामीलाई रातमा निद्रा परेन भने मिठा-मिठा गीत गाएर र कथा भनेर निद्रादेवीलाई निम्ता दिनुहुन्थ्यो। आफ्नै खेत बारीको ताजा खानेकुराहरु खाइन्थ्यो, अहा! कत्ती रमाइन्थ्यो। म पाँच बर्षको थिएँ::बुबाले भन्नुभयो-“हामी अब नेपाल जाने”
नेपाल जान पाउने खुसीले हामी केटाकेटी खुब रमायौं। नयाँ लुगाफाटा, नयाँ जुत्ता लगाएर, जिन्दगी नदेखेको गाडीमा चढेर “नेपाल” जान पाउँदा कुन बच्चा नरमाउला र? बाल उत्साह, खुसीले शिखर चुमेको थियो। बुबा, आमा र आमै-हामीलाई उहाँहरु पनि हामी जत्तिकै खुसी भएको कृत्रिम खुसी देखाउँदै अर्को पट्टि फर्केर आँसु पुछ्नु हुन्थ्यो। मलाई भने चुइँक चुइँक गर्ने जुत्ताले राजा बनाएथ्यो। वरिपरिका कोहि पनि मेरा दामले वा म भन्दा ठुला केटाकेटीको त्यस्तो जुत्ता थिएन। मलाई र मेरो दाजुलाई अचम्म लाग्यो-“यहाँ भित्र के छ र यस्तो किरा जस्तो कराउँछ?” म निशब्द-किनकी म त्यति सोच्न सक्ने भैसकेको थिइँन। बाली उठाइसकेको बेला रहेछ क्यार, खेतमा केही थिएन। खाली खेतमा दुई दाजुभाइ गयौं। दाजुले एउटा चक्कु बोक्नुभएको थियो। हामीलाई जुत्तामा के बज्छ भन्ने कुराको आविष्कार गर्नु थियो। दाजुले मेरो एउटा जुत्ता काट्न थाल्नुभयो, जुत्ता काटियो तर त्यसभित्र कराउने किरा भेटिएन। काटिएकै भए पनि जुत्ता हातमा बोकेको थिएँ। आमा कराउँदै आउनुभयो-“ढिलो भैसक्यो, यी केटा त यहाँ पो रहेछन्, छिटो घर हिँड।” हामी दुबै घरतर्फ लाग्यौं। मलाई पिठ्युँमा बोकेर आमा हिँड्नुभयो, बुबा, आमै, दाजु र दुई दिदीहरु पनि। कुदेर, खेलेर, खुसीले उफ्रेर, रमाएर होला म थाकेको रहेछु, आमाको न्यानो पिठ्युँमा भुसुक्क निदाएँछु। हामी दोरोखाबाट साम्ची आइपुगेछौं। त्यहाँ अरु धेरै परिवारहरु पनि रहेछन्, कति आफ्नै आफन्तहरु र कति अन्य। हामी त्यहाँ कति दिन बस्यौं याद छैन तर, नयाँ-नयाँ दामले साथीहरुसङ्ग समथल ठाउँमा उफ्रीन पाउँदा म रमाएकै थिएँ। साम्चीमा होला सायद-चतुरेको होटलमा माछा भात खाएको पनि अलि अलि याद छ। नुनिलो समुद्री माछा त्यस होटलमा अरु तिर भन्दा मीठो पाइन्थ्यो रे। हामी दुई या तीन परिवार आफ्ना अलि-अलि सामान बोकेर एउटा ट्रकमा चढ्यौं। बाटोमा एउटा नदि आयो, त्यहि नदिमा मेरो काटिएको जुत्ता फाल्यौं। त्यसपछि हामी “नेपाल” हामी केटाकेटीको लागि भिन्न संसारमा आइपुग्यौं। नेपालमा मेरा बुबाका अन्तरे काका हुनुहुँदो रहेछ। उहाँकी छोरी, मेरी फुपुको घर पनि त्यहिँ रहेछ। हामी कान्छी दिदी(फुपु) घर सायद महिना दिन बस्यौं क्यार। त्यहाँ भएको भकारीको धान, मकै, सबै सक्यौं। उहाँहरुले हामीलाई धेरै नै ठूलो गुण लगाउनु भएको छ। हामी बिस्थापितलाई गाँस, बास र कपासले, त्यो भन्दा बढी मानवताले सहयोग गर्नुभयो। त्यसबेला, कन्काई माताको काखमा हजारौं हामी जस्ता बिस्थापितहरु भोकै र नाङ्गै मरिरहेका थिए। त्यो दयनिय स्थिती देखेर, हाम्रा बुबाले हामीलाई शिविर खडा नहुन्जेल, कान्छी दिदीकै घरमा राख्नुभयो। जब झापा र मोरङ्गमा शरणार्थी शिविर स्थापना भयो, तब हामीलाई लिएर बुबा त्यता तर्फ जानुभयो। प्लास्टिकको छानो, जसद्वारा श्रीङ्गारले धपक्क बलेकी चन्द्रमा र रिसले आगो बनेका सुर्यको दर्शन मिल्थ्यो; कालीझार र आछामेका सिटाको बार अनि जङ्गली झारपातकै ओछ्यानमा कति रात बिते।

नेत्र आचार्य
फोर्ट वोर्थ, टेक्सास

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here