अर्जुन प्रधान
हैरिसबर्ग, पेन्सिलभेनिया, सेप्टेम्बर ६, २०२६ — नेवार कम्युनिटी अफ ग्रेटर हैरिसबर्गको आयोजनामा तेस्रो ‘यूएसए नेवार मिट एन्ड ग्रिट’ सांस्कृतिक तथा सामुदायिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अमेरिकाका विभिन्न राज्यबाट आएका नेवार समुदायका सदस्य, कलाकार, युवा, ज्येष्ठ नागरिक तथा स्थानीय निर्वाचित प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नेवा पासा पुचः अमेरिकायेका संस्थापक संरक्षक बैकुण्ठमान श्रेष्ठले उत्तरपूर्वी अमेरिकाका विभिन्न नेवार संघ–संस्थासँग समन्वय गरी प्रतिनिधि तथा कलाकारको सहभागिता सुनिश्चित गर्न सहयोग गर्नुभएको थियो। उहाँले कार्यक्रमको मञ्च व्यवस्थापनको अवधारणा निर्माणमा समेत सहयोग पुर्याउनुभएको आयोजकले जनाएको छ।
कार्यक्रम धिमे परेडबाट सुरु भइ राष्ट्रिय गान, बाढीपीडितको सम्झनामा मौनधारण तथा सांस्कृतिक प्रस्तुतिहरू गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको अध्यक्षता हस्त प्रधानले गर्नुभएको थियो भने दुर्गा प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा न्यु जर्सीकी कबिना महर्जनले चर्या नृत्य, हैरिसबर्गका बालकलाकार महनिया र समूहले बालनृत्य, क्लिभल्यान्डकी सुनिष्ठा प्रधान चित्रकारले कुमारी गीत तथा हैरिसबर्ग टोलीले इन्द्रजात्रा प्रस्तुत गरेका थिए। क्लिभल्यान्डका जीवन प्रधान, चार्लोटकी ललिता प्रधान, हैरिसबर्गका शा प्रधान, सिन्सिनाटीका बेडा प्रधान, रोआनोकेका दुर्गा प्रधान तथा करेन बस्नेत र कृष्णसिङ प्रधानलगायतले गीत तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रमको विशेष आकर्षणका रूपमा क्लिभल्यान्ड, ओहायो निवासी गायक तथा समाजसेवी गणेश प्रधानको पहिलो नेवारी गीत सार्वजनिक गरिएको थियो। प्रवासमा नेवारी भाषा, संगीत र सांस्कृतिक पहिचानलाई निरन्तरता दिने उद्देश्यले गीत सार्वजनिक गरिएको प्रधानले जनाएका छन् । गणेश प्रधानले नेपालका राष्ट्रिय कलकारहरूसग पनि विभिन्न गित गाइसकेका छन् । कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान पनि राखिएको थियो। समुदायको इतिहास, परम्परा र सामाजिक अनुभव बोकेका ज्येष्ठ सदस्यहरूलाई सम्मान गरिएको थियो।

हैरिसबर्गकी रीना प्रधानले ‘यङ नेवार अमेरिकन एक्सपिरियन्स’ विषयमा मन्तव्य राख्दै अमेरिकामा हुर्किएको नयाँ पुस्ताले आफ्नो नेवार पहिचान, भाषा, संस्कार र परम्परालाई कसरी बुझिरहेको छ भन्ने विषयमा चर्चा गर्नुभएको थियो। गणेश प्रधानले ‘नेवार कम्युनिटी अफ यूएसए’ विषयमा प्रस्तुतिसमेत दिनुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि जस्टिन फ्लेमिङ, पेन्सिलभेनिया स्टेट हाउस डिस्ट्रिक्ट १०५ का स्टेट रिप्रेजेन्टेटिभले कार्यक्रममा सम्बोधन गर्दै नेवार समुदायको सांस्कृतिक गतिविधि र सामुदायिक सहभागिताबारे धारणा राख्नुभएको थियो। अमेरिकी समाज बहुसांस्कृतिक पहिचानले बनेको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमले समुदायलाई आफ्नो मौलिक पहिचान जोगाउँदै स्थानीय समाजसँग सम्बन्ध विस्तार गर्न सहयोग पुर्याउने बताउनुभयो।
कार्यक्रमको अन्त्यतिर डाउफिन काउन्टी बोर्ड अफ कमिस्नर्सका अध्यक्ष तथा काउन्टी कमिस्नर जस्टिन डगलस पनि कार्यक्रममा पुग्नुभएको थियो। कार्यक्रमको अधिकांश समयपछि आइपुगे पनि उहाँ समुदायका सदस्यहरूसँग भेटघाट गर्न र शुभकामना व्यक्त गर्न कार्यक्रममा सहभागी हुनुभएको थियो। यसअघि डगलसले नेवार समुदायलाई पठाएको शुभकामना सन्देशमा नेवार परिवारहरूले आफ्नो समृद्ध संस्कृति भावी पुस्तामा हस्तान्तरण गरिरहेकोमा प्रशंसा गर्नुभएको थियो। उहाँले संगीत, नृत्य, परम्परागत खानपान र कलामार्फत आफ्नो संस्कृति वरपरका समुदायसँग बाँड्नु महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको थियो।

उहाँले सांस्कृतिक विविधताले मानिसहरूलाई एकअर्कालाई बुझ्न, सम्मान गर्न तथा फरक संस्कृतिले समाजमा ल्याउने मूल्यलाई आत्मसात् गर्न सहयोग गर्ने बताउनुभएको थियो। मुख्य वक्ता वर्ल्ड नेवाः-अर्गनाइजेसनका अध्यक्ष मनोहर श्रेष्ठले नेवा संस्कृति, सभ्यता, भाषा, कला, वास्तुकला, संस्कार र सामाजिक मूल्यको संरक्षणलाई पुस्तान्तरणसँग जोड्नुपर्नेमा जोड दिनुभएको थियो। उहाँले संस्कृति संरक्षणलाई वार्षिक उत्सवमा मात्र सीमित नराखी पारिवारिक अभ्यास, शिक्षा र सामुदायिक गतिविधिसँग जोड्नुपर्ने धारणा राख्नुभयो। नेवार कम्युनिटी अफ ग्रेटर हैरिसबर्गका अध्यक्ष हस्त प्रधानले संस्थाको उद्देश्य नेवार परिवार तथा व्यक्तिलाई एउटै साझा मञ्चमा जोड्दै नेवार समुदायको भाषा, संस्कृति, परम्परा, कला, मूल्य र मौलिक पहिचानको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरण गर्नु रहेको बताउनुभयो।
उहाँले सबै उमेर समूहका सदस्यलाई समेट्ने समावेशी र सहयोगी समुदाय निर्माणमा संस्था प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। “हामी ज्येष्ठ पुस्ताको अनुभव र ज्ञानलाई नयाँ पुस्तासम्म पुर्याउन, युवालाई सशक्त बनाउन, परिवार तथा समुदायका सदस्यलाई सहयोग गर्न र एकअर्काबीच दीर्घकालीन सम्बन्ध निर्माण गर्न चाहन्छौँ,” उहाँले भन्नुभयो। अध्यक्ष प्रधानका अनुसार संस्था सांस्कृतिक कार्यक्रममै सीमित नभई शैक्षिक पहल, सामुदायिक सेवा र अर्थपूर्ण नागरिक सहभागितामार्फत ग्रेटर हैरिसबर्ग तथा आसपासको सामाजिक–सांस्कृतिक जीवनमा सकारात्मक योगदान दिने लक्ष्यमा छ। “हामी आफ्नो सांस्कृतिक सम्पदाप्रति गर्व गर्दै विविधता, अवसर र साझा जिम्मेवारीलाई आत्मसात् गर्ने एकताबद्ध, जीवन्त र भविष्यदृष्टि भएको नेवार समुदाय निर्माण गर्न प्रतिबद्ध छौँ,” उहाँले भन्नुभयो। अध्यक्ष हस्त प्रधानले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको आयोजकले जनाएको छ।











