@अर्जुन प्रधान
सिक्किमका मुख्यमन्त्री प्रेम सिङ तामाङ (गोले) ले ‘मेरो कविता: द रिदम अफ पोएट्री’ सिजन–१ का फाइनलिस्ट सोनाम पाल्झोर तामाङ सँग आफ्नो निवासमा भेटघाट गर्नुभएको छ।
टिन्जरबोङ, सुलदुङ–काम्लिङ जीपीयू, रिन्चेनपोङ निर्वाचन क्षेत्रका स्थायी बासिन्दा सोनामले नेपालमा सञ्चालन भइरहेको लोकप्रिय काव्य रियालिटी शो ‘मेरो कविता’ को फाइनल चरणमा स्थान बनाएका छन्। मुख्यमन्त्री तमाङले उनलाई बधाई दिँदै अन्तिम प्रतिस्पर्धाका लागि शुभकामना व्यक्त गर्नुभयो।
भेटका क्रममा मुख्यमन्त्रीले सोनामको उपलब्धिले सिक्किमको प्रतिष्ठा बढाएको उल्लेख गर्दै फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो। “उहाँले राज्यको नाम उजागर गर्ने गरी सफलता हासिल गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु,” मुख्यमन्त्रीले आफ्नो फेशबुकमा लेख्नु भएको छ।

‘मेरो कविता: द रिदम अफ पोएट्री’ नेपालमा सञ्चालन भइरहेको एक लोकप्रिय काव्य प्रतियोगिता हो, जसले नयाँ पुस्ताका कविहरूलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने मञ्च प्रदान गर्दै आएको छ। कार्यक्रममा सहभागी प्रतियोगीहरूले समाज, पहिचान, प्रेम, संघर्ष र जीवनका विविध आयामलाई कवितामार्फत अभिव्यक्त गर्दै आएका छन्।

फाइनलमा पुग्ने कविहरुमा पाँचथरका सेसे थाम्सुहाङ, तेह्रथुमका प्रवेग हाङस्रोङ, झापाको कचनकवलका टोलिप्रसाद राजवंशी र भारतको पश्चिम सिक्किमका सोनाम पाल्झोर रहनुभएकाे छ ।
करीब २ सय ५० जनाले डिजिटल अडिसनमा सहभागिता जनाएको सोमा ५० कविलाई फिजिकल अडिसनका लागि छनोट गरिएको थियो। विभिन्न चरण पार गर्दै अन्ततः चार प्रतिस्पर्धी फाइनलमा पुग्नुभएकाे हाे ।
कार्यक्रमको ग्रान्ड फिनाले आगामी चैत १६ गते हुने भएको छ, जहाँ पहिलो विजेता घोषणा गरिने निर्देशक केवल क्षेत्रीले जनाकारी दिएका छन् ।
साहित्यप्रेमी तथा दर्शकहरूले चार कविहरूलाइ सफलताका लागि शुभकामना व्यक्त गर्दै आएका छन्।












