@अर्जुन प्रधान
“हामी जनता” को जगमा ठडिएको अमेरिकी लोकतन्त्र एउटा ऐतिहासिक र गम्भीर मोडमा आइपुगेको छ। सन् १७७६ मा राजतन्त्रलाई बिदा गरेर आधुनिक गणतन्त्रको पाठशाला बनेको अमेरिकाका सडकहरू फेरि एउटै नाराले गुञ्जायमान छन् “यहाँ कुनै राजा चल्दैन।” यो केवल एउटा राजनीतिक आक्रोश मात्र होइन, बरु सत्ताको चरित्र ‘राजसी’ बन्दै गएको आभास भएपछि नागरिकहरूले आफ्नो सभ्यता जोगाउन गरेको सामूहिक शंखघोष हो।
मार्च २८, २०२६ को यो तेस्रो महाप्रदर्शन केवल संख्याको खेल मात्र होइन। जुन २०२५ मा राष्ट्रपति ट्रम्पले आफ्नै जन्मदिनमा गरेको सैन्य शक्ति प्रदर्शनलाई धेरैले लोकतन्त्रको उत्सव नभई एकलौटी सत्ताको ‘राज्याभिषेक’का रूपमा बुझे। त्यही बिन्दुबाट सुरु भएको यो नागरिक प्रतिरोध आज ५० वटै राज्यका ३,३०० भन्दा बढी स्थानमा फैलिएको छ। सुरुमा ५० लाखबाट सुरु भएको यो लहर अहिले करोडौँको जनसागरमा परिणत हुनुले के स्पष्ट पार्छ भने, जब शासनले ‘चेक्स एन्ड ब्यालेन्सेस’ (शक्ति सन्तुलन) को कडीलाई तोड्न खोज्छ, तब सडक नै अन्तिम न्यायपीठ बन्न पुग्छ।
ट्रम्पको दोस्रो कार्यकालमा देखिएका केही प्रवृत्तिहरू संघीय एजेन्टहरूको अपारदर्शी परिचालन, वारेन्टबिनाका छापा, आप्रवासी परिवारको विखण्डन र इरानमा जारी सैन्य हस्तक्षेपले अमेरिकी राष्ट्रपतिको पदलाई असीमित शक्तिको स्रोत बनाउन खोजेको देखिन्छ।
यसै सन्दर्भमा, न्यु ह्याम्पशायर राज्य संसद्का प्रतिनिधि सदस्य सुरज बुढाथोकीले पनि राज्यका विभिन्न र्यालीहरूमा सहभागी हुँदै कडा टिप्पणी गरेका छन्। देशप्रतिको प्रेम र “कोही पनि कानूनभन्दा माथि हुँदैन” भन्ने अटुट विश्वासका साथ सडकमा उत्रिएका बुढाथोकी भन्छन्: “नो किंग्स आन्दोलनले हामीलाई सम्झाएको छ कि अमेरिकामा शक्ति कुनै एक व्यक्तिको हातमा होइन, जनतामा निहित हुन्छ। आज हाम्रा लोकतान्त्रिक संस्थाहरूको कडा परीक्षा भइरहेको छ। राष्ट्रपति ट्रम्पले इरानविरुद्ध अनावश्यक युद्ध थोपरिरहनुभएको छ, जसले गर्दा आम अमेरिकीहरूका वास्तविक समस्या समाधान गर्ने स्रोत र साधनहरू अन्यत्र मोडिएका छन्। अर्बौँ डलर त्यस्ता द्वन्द्वहरूमा खर्च भइरहेको छ जसले हाम्रा समुदायहरूलाई सुरक्षित बनाउँदैनन् ‘जुन पैसा महँगी घटाउन, शिक्षा बलियो बनाउन र स्वास्थ्य सेवा विस्तारमा खर्च गर्न सकिन्थ्यो। त्यसैले, आफ्नो लोकतन्त्रको रक्षा गर्न र अमेरिकी जनतालाई प्राथमिकतामा राख्न हामी एकजुट हुनुपर्छ।”
अझ महत्त्वपूर्ण कुरा त के छ भने, यो आन्दोलन अब केवल ‘उग्रवामपन्थी’हरूको घेरामा सीमित छैन। न्यू हेमशायर,मिनिसोटा, पेन्सिल्भेनिया, सिकागो,जर्जिया र एरिजोना जस्ता राजनीतिक रूपमा निर्णायक मानिने उपनगरीय क्षेत्रहरूमा सर्वसाधारणको बढ्दो सहभागिताले यो विद्रोहलाई एउटा व्यापक राष्ट्रिय स्वरूप दिएको छ।

यद्यपि, सडकको यो रापले मात्र इतिहास लेखिँदैन। विगतका ‘अकुपाइ वाल स्ट्रिट’ जस्ता आन्दोलनहरू हल्लामा मात्र सीमित भएका उदाहरणहरू हाम्रा सामु छन्। त्यसैले, “नो किंग्स” आन्दोलनको वास्तविक सफलता यसको भीडमा होइन, बरु यसले कसरी आगामी निर्वाचनमा मतपेटिकामार्फत नीतिगत र संस्थागत परिवर्तन ल्याउन सक्छ भन्ने कुरामा निर्भर गर्दछ। यो आन्दोलन अमेरिकाका लागि मात्र होइन, हंगेरी, टर्की र रुस जस्ता देशहरूमा खुम्चिँदै गएको लोकतन्त्रका लागि पनि एउटा वैश्विक सन्देश हो।
नेपाल जस्ता उदयमान लोकतन्त्रका लागि पनि यसले एउटा गहन पाठ सिकाएको छ: लोकतन्त्र एकपटक जितेर सधैँका लागि सुरक्षित हुने वस्तु होइन। यसलाई हरेक पुस्ताले नयाँ गरी जोगाउनु पर्छ। जब विश्वकै पुरानो लोकतन्त्रमा नागरिकहरूले आफ्नो संविधानको रक्षाका लागि सडकमा उत्रिनुपर्छ भने, हामीले पनि आफ्ना संस्थाहरूको स्वायत्तताबारे सोच्न ढिला गर्नु हुँदैन।
अन्त्यमा, “नो किंग्स” को अन्तिम फैसला सडकमा होइन, ब्यालेट पेपरमा हुनेछ। तर आज सडकमा निस्किएका लाखौँ अमेरिकीले संसारलाई एउटै कुरा दृढतापूर्वक सम्झाएका छन् , लोकतन्त्रता । सबैभन्दा ठूलो र अन्तिम हतियार जनताको आवाज नै हो। इतिहासले सधैँ शासकको दम्भलाई होइन, नागरिकको साहसलाई न्याय गर्नेछ।




![सामाजिक गतिविधि, प्रश्न र प्रभाव [सम्पादकीय]](https://globalpostinfo.us/wp-content/uploads/2019/01/Sahaj-1-218x150.jpg)






