आदरणीय महानुभावहरूमा म दिप्शीका घिमिरेको धार्मिक नमस्कार
विषय: हिन्दू धर्म
हिन्दू धर्म केवल एउटा आस्था होइन, यो जीवन जीउने कला हो।
यो बाहिरको आडम्बरभन्दा भित्रको जागरण हो।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनको अन्तिम घडीमा आत्मस्वीकार गर्दै भन्नु भएको छ।
रहेछ संसार निशा समान
आएन जिउँदै रहँदा नि ज्ञान
आखिर श्रीकृष्ण रहेछन एक
नभक्ति भो ज्ञान नभो विवेक
“मर्ने बेलामा पनि आफ्नै धर्म बुझेको रहैनछु”।
यो स्वीकारोक्ति कुनै कमजोरी होइन,
यो त धर्मको अथाह गहिराइको प्रमाण हो।
धर्म जति पढेर सकिँदैन,
त्यति नै बाँचेर बुझ्नुपर्छ।
श्रीकृष्णले भगवद्गीतामा अर्जुनलाई सम्झाउनुभयो—
ज्ञान बिना कर्म अधुरो छ,
कर्म बिना भक्ति निष्प्राण छ,
र विवेक बिना जीवन दिशाहीन छ।
त्यसैले हिन्दू धर्मले हामीलाई सिकाउँछ—
सत्य बोल, धर्म गर, करुणा राख,
र आफ्नो आत्मालाई चिन्न प्रयास गर।
स्वामी विवेकानन्दले भन्नुभएको थियो—
“उठ, जाग, र लक्ष्य प्राप्त नभएसम्म नरोकिनू।”
यो केवल प्रेरणा होइन,
यो हिन्दू धर्मको जिउँदो सन्देश हो—
आत्मबल जगाऊ, मानवता बचाऊ, विवेक अपनाऊ।
प्रियजनहरू,
मन्दिर जानु मात्र धर्म होइन,
मन शुद्ध राख्नु धर्म हो।
आरती बाल्नु मात्र धर्म होइन,
अज्ञान हटाउनु धर्म हो।
अन्त्यमा,
धर्म भनेको आफूलाई चिन्नु हो,
आत्मामा रहेको दिव्य ज्योति देख्नु हो।
हिन्दू धर्मले हामीलाई यही बाटो देखाउँछ—
ज्ञानको, भक्ति को, कर्मको, र विवेकको।
धन्यवाद।












