@अर्जुन प्रधान/अमेरिका
नेपाली दर्शकमाझ लोकप्रिय हास्य जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) पुनः स्क्रिनमा देखिएसँगै सामाजिक सञ्जाल यतिबेला शुभकामनामय बनेको छ। ‘एभरेष्ट फोन’ का लागि तयार गरिएको उनीहरूको नयाँ विज्ञापन भिडियो सार्वजनिक भएसँगै टिकटकदेखि अन्य सामाजिक सञ्जालसम्म दर्शकको उत्साह देखिएको हो।

छोटो समयमै भिडियो भाइरल बनेको छ। धेरै दर्शकले पुराना दिन सम्झिँदै जोडीको पुनरागमनप्रति बधाई तथा शुभकामना व्यक्त गरेका छन्। विशेषगरी उनीहरू पुरानै धुर्मुस–सुन्तली गेटअपमा देखिँदा धेरै दर्शक भावुक बनेका प्रतिक्रिया सामाजिक सञ्जालमा देख्न सकिन्छ। सो गेटअपमाको मेकप चाहि कुञ्जना घिमिरेले गरेकी हुन्।
उक्त विज्ञापनमा नेपाल टकका प्रस्तोता अनन्त नेपालको आवाज र अभिनयले भिडियो अझ प्रभावशाली बनेको चर्चा छ। सीताराम कट्टेलले पनि अनन्त नेपालको प्रस्तुतिले विज्ञापनलाई अत्यन्त सुन्दर र आकर्षक बनाएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार सशक्त आवाज र प्रभावकारी प्रस्तुति जोडिँदा सन्देश दर्शकमाझ अझ राम्रोसँग पुगेको हो।
यसैबीच, कान्तिपुरका पत्रकार शिव शर्मा, समाजसेवी डा. कुमार गुरुङ लगायत अन्य दर्शकहरूले पनि आफ्नो फेसबुकमार्फत जोडीको पुनरागमनलाई सकारात्मक रूपमा उल्लेख गरेका छन्। उनीहरूले दर्शकको मायाले धुर्मुस–सुन्तली अझ मजबुत भएर फर्किएको संकेत दिएको बताएका छन्। सामाजिक सञ्जालमा देखिएको व्यापक समर्थनलाई कलाकारप्रतिको सच्चा माया र सम्मानको उदाहरणका रूपमा व्याख्या गरिएको छ।

धुर्मुस–सुन्तली अमेरिका बसाइमा रहे पनि सामाजिक अभियान, पारिवारिक जिम्मेवारी र पुनः सुरु भएको व्यावसायिक कलायात्रासँगै अघि बढिरहेका छन्। उनीहरूको यो पुनरागमन केवल एक विज्ञापनमा सीमित नरहने, आगामी दिनमा अझ धेरै सिर्जनात्मक काममा देख्न पाइने अपेक्षा दर्शकले गरेका छन्।
https://www.facebook.com/share/v/1GvCMZkbGc/?mibextid=wwXIfr












