सृर्जनामा तीन दशक, सम्मानमा नयाँ उचाइ

0
177


@अर्जुन प्रधान


डा. हरि उप्रेतीलाई ‘रत्न सम्मान २०८२’ प्राप्त : ग्लोबलपोस्टको हार्दिक बधाइ

नेपाली गीत–साहित्य, अनुसन्धान र सामुदायिक नेतृत्वका क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका स्रष्टा डा. हरि उप्रेती हालै डायमण्ड आर्ट एण्ड कल्चर नेपालद्वारा चलचित्र गीतकारको रूपमा प्रदान गरिएको ‘रत्न सम्मान २०८२’ बाट सम्मानित हुनुभएको छ। यो सम्मानले उहाँको निरन्तर साधना, सिर्जनात्मक इमान्दारिता र नेपाली भाषा–संस्कृतिप्रतिको समर्पणलाई औपचारिक रूपमा उच्च सम्मान दिएको छ।

भूटानको दागाना जिल्लामा जन्मिनुभएका डा. उप्रेती विस्थापन, संघर्ष र सीमित साधनबीच पनि साहित्य र गीतलाई जीवनको मूल आधार बनाउँदै अघि बढ्नुभयो। लेखन उहाँका लागि केवल सिर्जना मात्र होइन, स्मृति, पहिचान र उत्तरदायित्वको अभ्यास बन्यो। यही यात्राले उहाँलाई नेपाली सिनेसङ्गीतका स्थापित गीतकार, साहित्यकार तथा अनुसन्धानकर्ताका रूपमा स्थापित गरेको छ।

डा. उप्रेतीले ‘मुर्चुंगा’, ‘डोली’, ‘टिनएज’, ‘सँगसँगै बाँच्न पाउँ’, ‘आकाशे खेती’, ‘आधी तूफान–२’, ‘नील काँडा’, ‘नालापानी’ लगायत दर्जनभन्दा बढी नेपाली चलचित्रका लागि गीत लेखन गर्नुभएको छ। साथै करुणा भाग १, करुणा भाग २, प्रभु बन्धन र संयुक्त एल्बम पूर्ण सहित चारवटा सङ्गीत एल्बम सार्वजनिक गरिसक्नुभएको छ। उहाँका सयभन्दा बढी गीतहरू रेकर्ड भइसकेका छन्।

साहित्यतर्फ उहाँ गुनासो गजल सङ्ग्रहका लेखक हुनुहुन्छ भने बाल उपन्यास, बाल कथा संग्रह र कविता संग्रह प्रकाशोन्मुख अवस्थामा छन्। टेलिभिजन तथा दृश्य माध्यममा पनि उहाँको योगदान उल्लेखनीय छ— नेपाली हास्य शृंखला सुलसुले (१५ एपिसोड), अछुत पुजारी भाग १ र २, तथा अन्तर्राष्ट्रिय डकुमेन्ट्री फेस्टिभल अवार्ड जितेको हल्कारा निर्माण यसका उदाहरण हुन्।

उहाँको शैक्षिक यात्रा पनि त्यत्तिकै प्रेरणादायी छ। एमएड, एमए हुँदै डक्टर अफ बिजनेस एडमिनिस्ट्रेसन (DBA) उपाधि हासिल गर्नुभएका डा. उप्रेतीको विद्यावारिधि अनुसन्धान अमेरिकी नेपाली प्रवासी समुदायमा लोकसङ्गीतले सांस्कृतिक पहिचान संरक्षणमा खेलेको भूमिकामाथि केन्द्रित छ।

यसअघि गीतकार सङ्घ नेपालद्वारा प्रदान गरिएको ‘डायस्पोरा गीतकार सम्मान २०७७’, प्रभु नारायण चौधरी स्मृति प्रतिष्ठानद्वारा राष्ट्रिय समाजसेवा सम्मान २०७४ लगायत दर्जनभन्दा बढी सम्मान प्राप्त गरिसक्नुभएका डा. उप्रेती सन् २०२३ मा स्थापना गरिएको अन्तर्राष्ट्रिय नेपाली गीतकार सङ्घ (INLA) का संस्थापक अध्यक्षसमेत हुनुहुन्छ।

सन् २०१७ देखि अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आउनुभएका डा. हरि उप्रेती आज पनि लेखन, अनुसन्धान र सामुदायिक नेतृत्वमार्फत नेपाली भाषा, साहित्य र संस्कृतिको सेतु बनेर सक्रिय रहनुभएको छ।

ग्लोबलपोस्ट परिवार हालै प्राप्त ‘रत्न सम्मान २०८२’ का लागि स्रष्टा डा. हरि उप्रेतीलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछ। उहाँको सिर्जनात्मक यात्रा अझ दीर्घ, सशक्त र प्रेरणादायी बनोस् भन्ने कामनासहित।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here