विश्वास, अनुशासन र परमेश्वरको वचनमार्फत जीवनको यात्रा
@अर्जुन प्रधान
चलचित्र सम्हालिएको जाति केवल एउटा कथात्मक चलचित्र होइन। यो विश्वास, अनुशासन र परमेश्वरको वचनमार्फत स्वर्गराज्यतर्फ पुग्ने यात्राको चित्रण हो। विश्वव्यापी नेपाली ख्रीष्टियन समुदायबाट सम्मान र प्रशंसा पाएपछि यो चलचित्र सर्वसाधारण दर्शकका लागि युट्युबमार्फत सार्वजनिक गरिएको हो।
चलचित्रको मूल विषय पास्टर र छोराबीचको साँचो प्रेम, त्याग, आत्मिक अनुशासन र विश्वासमा आधारित जीवन हो। यससँगै चलचित्रले भुटानी शरणार्थी जीवन, शरणार्थी शिविरका पीडादायी दिन, अनागरिक भएर बाँच्नुको बाध्यता, र नेपालबाट तेस्रो देश हुँदै अमेरिकासम्मको पुनर्वास यात्रालाई संवेदनशील ढंगले प्रस्तुत गर्छ।
कथामा ख्रीष्टियन विश्वास कुनै उपदेशजस्तो देखिँदैन। बरु, दैनिक जीवनका संघर्ष, प्रार्थना, धैर्य र परमेश्वरप्रतिको भरोसामार्फत विश्वास कसरी व्यवहारमा उतारिन्छ भन्ने कुरा सहज रूपमा देखाइन्छ। चर्च स्थापना (church plantation) को कठिन यात्रा, समुदाय निर्माण र सेवाभाव चलचित्रका महत्वपूर्ण पाटा हुन्।
चलचित्रमा देखाइएका शरणार्थी शिविरका दृश्यहरू धेरैका लागि आफ्नै जीवनको झल्को जस्तै लाग्छन्। मोरङ र झापा जिल्लाका शिविरहरूमा सन १९९० देखि भुटानी शरणार्थीहरूले भोगेको पीडा चलचित्रले मौन तर गहिरो रूपमा प्रस्तुत गरेको छ। हाल पनि करिब ६ हजारजति शरणार्थीहरू देश फिर्ती र परिवार पुनर्मिलनको आशामा नेपाल सरकारसमक्ष मागपत्र बुझाउँदै कष्टकर जीवन बिताइरहेका यथार्थलाई चलचित्रले स्मरण गराउँछ।
अभिनयको पक्षबाट हेर्दा बिक्रम बिश्वा, दीपक परियार, मार्था घिमिरे, लोकेश बिसी, अनु रामदाम लगायत सात जना मुख्य कलाकारले स्वाभाविक र प्रभावकारी अभिनय गरेका छन्। अभिनय बनावटीभन्दा पनि जीवनबाटै उठाइएको जस्तो लाग्छ, जसले कथालाई अझ विश्वसनीय बनाएको छ।
चलचित्रमा समावेश तीन वटा गीतले कथाको भावनालाई अझ बलियो बनाएका छन्। यी गीतहरू मनोरञ्जनका लागि मात्र नभई कथाको सन्देश र भावनालाई अगाडि बढाउने माध्यम बनेका छन्।
१० जना भुटानी शरणार्थीहरूको करिब १ करोड रुपैयाँको संयुक्त लगानीमा निर्माण गरिएको यो चलचित्रको पटकथा र निर्देशन सन्तोष रामदामले गरेका हुन्। अमेरिकामा छायांकनको जिम्मेवारी एसजे प्रोडक्सन र नेपालमा कोशी भिजन प्रोडक्सनले सम्हालेका थिए।
निर्देशक सन्तोष रामदाम स्वयं संगीतकार पनि हुन्। उनले हालसम्म ५० भन्दा बढी गीतमा शब्द र संगीत, ३० भन्दा बढी म्युजिक भिडियो, र शरणार्थी कालदेखि हालसम्म ७ वटा चलचित्र निर्माण गरिसकेका छन्। उनका प्रमुख चलचित्रहरूमा झुपडीको जिन्दगी, मुक्ति, उपासना, शुरुवात, गाँठो र येशुमा अनन्त जीवन पर्दछन्।
निर्देशक रामदामका अनुसार, चलचित्र सार्वजनिक भएको दुई हप्तामै एक हजारभन्दा बढी चलचित्रप्रेमीहरूको प्रतिक्रिया आएको छ। दर्शकहरूले चलचित्रलाई
“मन छुने”,
“विश्वास र जीवनको साँचो कथा”,
“आफ्नै पीडाको प्रतिविम्ब”
भन्दै प्रशंसा गरेका छन्। विशेषगरी आप्रवासी र शरणार्थी जीवन भोगेका दर्शकका लागि यो चलचित्र अझ गहिरो अनुभूति बनेको देखिन्छ।

चलचित्र निर्माणको क्रममा निर्देशक सन्तोष रामदामले आफ्ना पिता चन्द्र रामदाम र ज्वाइँ योगेन सार्कीबाट भरपुर सहयोग, हौसला र आशिर्वाद पाएका थिए। उनीहरूको साथ र विश्वासले चलचित्र निर्माण यात्रालाई अझ मजबुत बनाएको निर्देशक बताउँछन्।


तर दुःखद रूपमा चलचित्र निर्माणकै अवधिमा दुवैजनाको निधन भयो। यही कारणले, आफ्ना प्रिय आत्माहरूको शान्तिका लागि र सबै प्रभुजनसम्म सन्देश पुर्याउने उद्देश्यले यो चलचित्र युट्युबमार्फत निःशुल्क प्रदर्शन गरिएको निर्देशकको भनाइ छ।
साथै, चलचित्रप्रति सद्भाव र सहयोग जनाउन चाहने मनहरूका लागि सम्हालिएको जाति ले गोटु फन्ड (GoFundMe) पनि सार्वजनिक गरेको छ।
🔗 https://www.gofundme.com/f/support-the-movie-samhaliyeko-jaati
अन्ततः, सम्हालिएको जाति कुनै व्यक्ति वा परिवारको कथा मात्र होइन। यो विश्वासले जीवन कसरी सम्हाल्छ, पीडाभित्र पनि आशा कसरी बाँच्छ, र परमेश्वरको वचनले मानिसलाई कसरी अगाडि बढाउँछ भन्ने कथा हो।
शान्त, सन्देशमूलक र मन छुने यो चलचित्र हेर्नैपर्ने सूचीमा पर्छ।
https://youtu.be/QUJmB0esFLw?si=pjKBbWgzsfj6O_8d












