@अर्जुन प्रधान/ग्लोवलपोस्ट
नेपाली भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ प्रति नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरले औपचारिक शुभकामना सन्देश पठाउँदै प्रशंसा प्रकट गरेको छ।
पद्मा ईश्वर इन्टरटेनमेन्ट प्रालिद्वारा निर्मित यस चलचित्रप्रति केन्द्रको समकक्षता तथा मूल्याङ्कन शाखाले पठाएको पत्रमा भनिएको छ– “देश र जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै एउटा सार्थक देशभक्तिपूर्ण चलचित्र निर्माण गर्नु भएकोमा निर्माण टिमलाई विशेष धन्यवाद दिन चाहन्छु।”
पत्रमा केन्द्रका निर्देशक विजयराज बडुले चलचित्र समाजका हरेक तह र तप्कामा पुर्याउनका लागि सरोकारवालाहरूको आवश्यक सहयोग रहने विश्वास व्यक्त गर्दै, यस्ता समाजोपयोगी चलचित्र निर्माणमा निरन्तर योगदानको अपेक्षा गरेका छन्।
यसैबीच, यही असार २७ गते शुक्रबारदेखि प्रदर्शनमा आउने ‘यो मन त मेरो नेपाली हो’ नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको इतिहास र महत्वलाई उजागर गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म हो। निर्देशक मित्र प्रधानका अनुसार, यो चलचित्र नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिप्रतिको ज्ञान र चेतना जगाउने उद्देश्यले तयार गरिएको हो।

चलचित्रका निर्माता तथा कलाकार रोशन श्रेष्ठले यो फिल्म “हरेक नेपालीले हेर्नैपर्ने” बताएका छन् भने अभिनेता विजय बरालले “फरक शैलीमा बनेको यस फिल्मले भाषा र साहित्यलाई जोड्ने काम गरेको” उल्लेख गरेका छन्। चर्चित कलाकार विल्सन विक्रम राईले यसलाई “उत्कृष्ट र सन्देशमूलक” फिल्मको संज्ञा दिएका छन्। अमेरिका बसोबास गर्दै आएकी अभिनेत्री आयुषा समालले “विदेशमा रहेर पनि नेपाली भाषा र पहिचान जोगाउने प्रयास” यस फिल्ममार्फत् देखिएको बताएकी छन्।
चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौला लगायत कलाकारहरूको अभिनय रहेको छ।
मित्र प्रधानको निर्देशन तथा ज्ञानबहादुर (रोशन) प्रधानको निर्माणमा तयार भएको फिल्मको लेखन शिवम् अधिकारीले गरेका हुन्। सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, समिर मियाको भिएफएक्स, बनिश शाहको सम्पादन तथा सिजिआई सत्यम रानाले तयार पारेका छन्। गीतहरूमा दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन छ। फिल्म आरआर फिल्म्सले वितरण गर्दैछ।
नेपालीपन, भाषिक पहिचान र संस्कृतिक जगेर्नाको सन्देश बोकेको यो फिल्मलाई राज्य निकायसमेतले समर्थन जनाएपछि यसको सामाजिक प्रभाव र दर्शकसमक्षको उपस्थितिलाई थप सशक्त बनाएको छ।