ह्यारिसबर्गमा बालप्रतिभाको सांगीतिक प्रस्तुति हुँदै

0
28

पिट्सबर्गपछि ‘किड्स परफर्मेन्स स्टेज’ को दोस्रो चरण

@अर्जुन प्रधान/अमेरिका

अमेरिकाको पेन्सिल्भेनिया राज्यको ह्यारिसबर्गमा आगामी अप्रिल ११, २०२६ मा भुटानी–अमेरिकी बालबालिकाको सांगीतिक कार्यक्रम ‘किड्स परफर्मेन्स स्टेज (KPS)’ आयोजना हुने भएको छ। भुटानी अमेरिकन म्युजिक एसोसिएसन (BAMA) ले सोलोजेनिथ टेक्नोलोजिजसँगको सहकार्यमा कार्यक्रम गर्न लागेको हो।

यसअघि अप्रिल ४ मा पिट्सबर्गमा सम्पन्न पहिलो प्रस्तुति दर्शकको उत्साहपूर्ण सहभागिता र समुदायको उल्लेखनीय समर्थनका कारण सफल भएको आयोजकले जनाएको छ। सोही सफलताको निरन्तरतास्वरूप ह्यारिसबर्गमा दोस्रो चरणको कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रम 2243 Paxton Church Rd मा हुनेछ र प्रवेश शुल्क प्रति व्यक्ति २० डलर तोकिएको छ।

८ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित KPS परियोजनाले उनीहरूलाई व्यावसायिक मञ्चमा प्रस्तुति दिने अवसर प्रदान गर्नुका साथै आत्मविश्वास विकास, सांस्कृतिक पहिचान जोगाउने र नेपाली भाषी भुटानी समुदायको संगीत परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

कार्यक्रम संयोजक विकास राई र विश्वास गुरुङका अनुसार बालबालिकाको सक्रिय सहभागिताले समुदायको संस्कृति जोगाउन र अघि बढाउन महत्वपूर्ण भूमिका खेल्छ। उनीहरूका अनुसार यस्ता कार्यक्रमले परिवारलाई नजिक ल्याउने मात्र होइन, समुदायबीचको सम्बन्ध पनि अझ सुदृढ बनाउँछ।

ह्यारिसबर्गमा हुने प्रस्तुति करिब तीन महिनाको तयारीपछि सम्भव भएको हो। करिब ३० जना बाल कलाकारले नियमित अभ्यास र प्रशिक्षणमार्फत आफ्नो प्रस्तुति तयार पारेका छन्। स्थानीय संगीतकर्मीहरूले प्रशिक्षकका रूपमा सहभागी भई उनीहरूलाई मञ्चीय प्रस्तुति, तालमेल र अनुशासनसम्बन्धी सीप सिकाएका छन्।

कार्यक्रममा उच्चस्तरीय ध्वनि, प्रकाश तथा भिडियो व्यवस्थापन गरिनेछ, जसको जिम्मेवारी सोलोजेनिथ टेक्नोलोजिजले लिएको छ। यसले कार्यक्रमलाई पेशेवर स्तरको सांगीतिक प्रस्तुति बनाउने अपेक्षा गरिएको छ।

BAMA एक 501(c)(3) गैर–नाफामूलक संस्था भएकाले कार्यक्रमको विस्तार र निरन्तरताका लागि प्रायोजनको खोजीमा रहेको छ। इच्छुक संस्थाहरूलाई विभिन्न प्रायोजन प्याकेजमार्फत कार्यक्रममा सहभागी हुने अवसर प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको टिकट मूल्य २० डलर तोकिएको छ। थप जानकारीका लागि www.kpsmusicstudio.com वा artistsofbhutan@gmail.com मार्फत सम्पर्क गर्न सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here