गोदावरी, असार १५, २०८२ — ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालको आयोजनामा र सुन्दर ढोका साथी सेवाको सहकार्यमा “परमेश्वरको सौन्दर्य समेट्दै” भन्ने मूल उद्देश्यसहितको दुईदिने राष्ट्रिय ख्रीष्टियन मिडिया कार्यशाला आजदेखि गोदावरीस्थित भ्यु भृकुटीमा सुरु भएको छ।
देशभरका ख्रीष्टियन मिडियामा संलग्न सञ्चारकर्मी, सामग्री निर्माता, सेवक, सर्जक तथा मिडिया संस्थाहरूका प्रतिनिधिहरूले कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाएका छन्।
कार्यशालाको एक विशेष पक्षको रूपमा, अपांगता भएका व्यक्तिहरूको सक्रिय सहभागिता रहनुका साथै, नेपालकै पहिलो अपांगता भएका पास्टरले कार्यक्रममा आफ्ना जीवन अनुभव, सेवाको कथा र विश्वासको यात्रामार्फत सबैलाई गहिरो सन्देश दिनुभयो। उहाँको प्रस्तुति प्रेरणादायी र भावनात्मक रूपमा प्रभावशाली रह्यो।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालका सचिव निरोज तोलाङेले भन्नुभयो, “मिडिया आजको युगको शक्तिशाली साधन हो। ख्रीष्टको प्रेम, सत्य र सौन्दर्यलाई मिडियामार्फत विश्वसामु प्रस्तुत गर्नु यस कार्यशालाको प्रमुख उद्देश्य हो।”
कार्यशाला असार १६ र १७ गते, दुई दिनसम्म सञ्चालन हुनेछ। यस अवधिमा मिडिया विषयक प्रशिक्षण, अनुभव आदानप्रदान, र आत्मिक संवर्द्धनका विभिन्न सत्रहरू सञ्चालन हुँदैछन्।

कार्यक्रम आयोजक सीजेएफ नेपालका अनुसार, “साँचो सौन्दर्य आत्मिक हुन्छ — जुन प्रत्येक मानिसमा देखा पर्छ, विशेष गरेर सीमितता, पीडा र संघर्षको बीचमा चम्किने विश्वासमा।”
@newsdeskusa