फ्लाई नेपाले ‘अब हाँस्छ अमेरिका २’ का कलाकारसँगको सम्झौता रद्द गर्‍यो 

0
203

अर्जुन प्रधान
अमेरिकामा नेपाली समुदायलाई लक्षित गर्दै विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको फ्लाई नेपाले हालै ‘अब हाँस्छ अमेरिका २’ मा संलग्न कलाकारहरूसँगको सम्झौता रद्द गरेको छ। कलाकारहरूले उस्तै प्रकृतिको अर्को कार्यक्रममा सहभागी हुने तयारी गरेको खबरले संस्थालाई आश्चर्यचकित बनाएको जनाएको छ।

फ्लाई नेपाले यसअघि सन् २०२४ मा ‘अब हाँस्छ अमेरिका’ र ‘अब नाच्छ अमेरिका’ शीर्षकका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिसकेको थियो। त्यसकै निरन्तरतामा सन् २०२५ मा ‘अब हाँस्छ अमेरिका २’, ‘अब गाउँछ अमेरिका’ र ‘अब सुन्छ अमेरिका’ नामक तीन फरक विधामा केन्द्रित कार्यक्रमहरूको तयारी गरिएको थियो।

फ्लाई नेपाका प्रमुख कार्यकारी अधिकृत विनोद अधिकारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ कि “अब हाँस्छ अमेरिका २” मा संलग्न रहेका कलाकार बिक्की अग्रवाल, विकास अर्याल, सुन्दर खनाल, पवन खतिवडा, मिस पवी, र सुजिता श्रेष्ठले फ्लाई नेपासँगको समझदारी विपरीत उस्तै कार्यक्रमको तयारी गरेपछि सम्झौता रद्द गरिएको हो।

फ्लाई नेपाले विज्ञप्तिमा कलाकारहरूको स्वतन्त्र निर्णयलाई सम्मान गर्ने स्पष्ट संकेत दिएको भए तापनि उस्तै प्रकृतिको कार्यक्रममा पुनः संलग्न हुने निर्णयलाई “कलाकारको व्यावसायिक धर्म प्रतिकूल आचरण” भन्दै आपत्ति जनाएको छ।

यस निर्णयका कारण अब ‘अब हाँस्छ अमेरिका २’ कार्यक्रम पुनः संरचना गर्नुपर्ने बाध्यता उत्पन्न भएको छ। फ्लाई नेपाले दर्शकहरूमा पर्न गएको असुविधाप्रति खेद व्यक्त गर्दै आगामी कार्यक्रमहरू यथासक्य स्थायित्वसाथ अघि बढाइने प्रतिबद्धता जनाएको छ।

हाल ‘अब सुन्छ अमेरिका’ शृंखलाका कार्यक्रमहरू अमेरिकाका विभिन्न सहरमा भइरहेका छन् भने ‘अब गाउँछ अमेरिका’ टोली पनि चाँडै अमेरिका पुग्ने तयारीमा रहेको जानकारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

फ्लाई नेपाको यो कदमले नेपाली सांस्कृतिक कार्यक्रमको पारदर्शिता, अनुशासन र व्यावसायिकताको प्रश्नलाई नयाँ कोणबाट पुनः उठान गरेको छ। कलाकारको व्यक्तिगत स्वतन्त्रता र सम्झौतामा आधारित संस्था सँगको प्रतिबद्धता बीच सन्तुलन कायम गर्नु आवश्यक देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here