@ अर्जुन प्रधान
काठमाडौँका साँघुरो गल्लीहरू, भीडभाडपूर्ण सडक र रङ्गीचङ्गी बत्तीहरूले झिलिमिली देखिने व्यस्त बजारको बीचमा प्रदिप घिमिरे एउटा फराकिलो सपना बोकेर हिँड्ने मान्छे हुन्। शहर आफ्नै रफ्तारमा दौडिरहन्छ— कतै चुनावका चर्का नाराहरू सुनिन्छन्, कतै विकासका खोक्रा भाषणहरू, त कतै बडेमानका ठूलाठूला विज्ञापनका पोस्टरहरूले आकाश छेकिएको छ । तर, यही शहरको अर्को पाटो पनि छ— जहाँ पुलमुनि, ढलको चिसो पाइपभित्र र मन्दिरका आसपासका भुइँमा रात काट्ने मानिसहरू अस्तित्वको लडाइँ लडिरहेका छन्। प्रदिपको नजर भने सधैं त्यतैतिर मोडिने गर्छ।
प्रदिप कुनै ठूलो दातृ निकायका प्रतिनिधि होइनन्। उनको न कुनै स्थिर जागिर छ, न त नियमित आम्दानी नै। तर, उनको दैनिक तालिका भने कुनै कर्पोरेट अफिसको भन्दा कम व्यवस्थित छैन। बिहान सबेरै उठेर बजार धाउनु, राम्रो खाद्यान्न छानेर ल्याउनु र आफ्नै सानो सटरमा खाना पकाउनु उनको दैनिकी हो।

उनले खाना पकाउनकै लागि एउटा सानो सटर भाडामा लिएका छन्। त्यहीँ उनी आफैं तरकारी केलाई–कुलाई गर्छन्, खाना पकाउँछन् र आफैं प्याकिङ गर्छन्। कहिले चामल–तरकारी त कहिले सुक्खा खाजा, उनी सधैं केही न केही बोकेर निस्कन्छन्। कसैले सहयोग गरे थप्छन्, नभए आफ्नै घरको गर्जो टारेर भए पनि सडकका मानिसहरूको पेट भर्ने प्रयत्न गर्छन्। झोलामा खाना बोकेर निस्कँदा उनकी ८ वर्षकी सानी छोरी पनि बाबुको हात बटुल्न सँगै हुन्छिन्। सानै उमेरमा अरूको पीडा बुझ्दै हुर्किरहेकी ती बालिकाका लागि प्रदिपको यो अभियान नै सबैभन्दा ठूलो पाठशाला बनेको छ।
प्रदिप कहिलेकाहीँ चुनावका दिनहरू सम्झिन्छन्। उनका साथीहरू र छिमेकीहरू भोट हाल्न लाइनमा बस्दा उनी भने मध्यरातमा सडकका कुना–कन्दरा चहारिरहेका हुन्थे। उनले ८२ सालको चुनावमा भोट बहिष्कार गरे। तर यो बहिष्कार कुनै राजनीतिक दलप्रतिको रिस मात्र थिएन, बरु राज्यको प्राथमिकताप्रतिको असन्तुष्टि थियो।
भोट हालेर कसैलाई सत्तामा पुर्याउनुभन्दा भोकभोकै बसेका मानिसहरूलाई कसरी बचाउने भन्ने उनको ‘मूल एजेन्डा’ थियो। कोही ज्वरोले कठांग्रिएको हुन्छ, कसैको पेट हप्तादेखि खाली हुन्छ, त कसैको शरीरमा घाउ कुहिएर गन्ध आइरहेको हुन्छ। प्रदिप भन्छन्, “मेरो राजनीति यही हो। म कसलाई जिताउँछु भन्दा पनि, आज कसलाई खाना खुवाएर बचाउन सक्छु भन्ने कुरा मेरो लागि ठूलो हो।” उनी मान्छे बचाउनुलाई नै सबैभन्दा ठूलो धर्म र राजनीति ठान्छन्।
उनको यात्रा प्रायः भद्रकाली मन्दिरको पेटीबाट सुरु हुन्छ। पुलमुनि ओछ्यान बनाएका वृद्धदेखि बोरा ओढेर सुत्ने आमाहरूसम्म उनको पर्खाइमा हुन्छन्। त्यहाँ दुई साना बच्चाका साथमा भेटिने एक आमाका लागि प्रदिप भगवानकै रूप हुन्। बच्चाहरूले उनलाई टाढैबाट देख्दा “दाइ आयो!” भनेर चिच्याउँछन्। त्यो आवाजमा कृतज्ञताभन्दा बढी ‘आफ्नोपन’ र भरोसा झल्किन्छ।
खाना बाँड्ने बेला प्रदिप कहिल्यै हतारिँदैनन्। उनी उनीहरूसँगै भुइँमा बस्छन्। कसैको कथा सुन्छन्, कसैको गुनासो त कसैको मौनता महसुस गर्छन्। उनी भन्छन्, “खाना त एक छिनको भोक मेटाउन मात्र हो, तर कसैले आफ्ना कुरा सुनिदिएको महसुस गर्यो भने मान्छे फेरि बाँच्न चाहन्छ।” त्यसैले उनी खाना मात्र होइन, समय र विश्वास पनि बाँड्छन्। कहिले अस्पताल पुर्याउनुपर्ने हुन्छ त कहिले प्रहरी चौकी धाएर कागजपत्र मिलाइदिनुपर्छ— उनको कामको दायरा निकै फराकिलो छ।
प्रदिपको घरमा थकान र आर्थिक चिन्ता नहुने होइन। कहिलेकाहीँ आफ्नै घरमा अभावको बादल मडारिन्छ। तर उनकी श्रीमती तुलसी र छोरीको साथले उनलाई सधैं ऊर्जा दिन्छ। उनीहरू घरमा श्रीमद्भगवद्गीताको अध्ययन गर्छन्। अध्यात्म र सेवालाई जोड्दै प्रदिप आफ्नी छोरीलाई सिकाउँछन्, “हामी दिन सक्ने ठाउँमा छौं, त्यसैले हामी दिनका लागि जन्मिएका हौं। भगवानले हामीलाई दिएका कुराहरू अरूसँग बाँड्नु नै हाम्रो कर्तव्य हो।”
आजको जमानामा जहाँ मानिसहरू नाम र पदका लागि मरिहत्ते गर्छन्, प्रदिप भने प्रचारप्रसार र सामाजिक सञ्जालको चमकधमकबाट टाढै छन्। उनका नाममा कुनै ठूलो फाउन्डेसन छैन, न त उनका भिडियोहरू भाइरल नै हुन्छन्। तर, काठमाडौँका सडकपेटी, पुलमुनि र ढलका पाइपभित्र बस्नेहरूका लागि उनी एक परिचित अनुहार र भरोसाको पर्याय हुन्।
शहरले विकासका ठूला गफ गर्छ, गगनचुम्बी भवनका योजना बनाउँछ। तर विकासको वास्तविक अर्थ त्यही बेला देखिन्छ, जब कसैले भुइँमा सुतेको मान्छेलाई हात दिँदै भन्छ, “तिमी एक्लो छैनौ।” प्रदिप घिमिरेको यो मौन क्रान्ति भोक, उपेक्षा र सामाजिक उदासीनता विरुद्धको लडाइँ हो।
काठमाडौँको चिसो रातमा जब रङ्गीचङ्गी उज्यालोभन्दा पर अँध्यारो कुनामा आशाको सानो बत्ती बल्छ, सम्झनुहोस्— त्यो बत्तीको नाम प्रदिप घिमिरे हो।












