एक लाखभन्दा बढी भुटानी नागरिकको ऐतिहासिक पीडा स्वीकार गर्ने पहल
@अर्जुन प्रधान
अमेरिकी सांसद रो खन्ना ले भुटानबाट विस्थापित भएका नेपालीभाषी भुटानी नागरिकहरूको इतिहास र पीडालाई मान्यता दिने उद्देश्यसहित H.Res. 1093 प्रस्ताव पुनः अमेरिकी संसद संयुक्त राज्य अमेरिका कांग्रेस मा दर्ता गरेका छन्।
नयाँ ११९औँ कंग्रेस अधिवेशनमा प्रस्तुत गरिएको उक्त प्रस्तावले सन् १९८० को दशकको अन्त्य र १९९० को दशकको सुरुवाततिर भुटानबाट विस्थापित भएका एक लाखभन्दा बढी नागरिकले भोगेको मानवअधिकार उल्लङ्घन, पीडा र ऐतिहासिक अन्यायलाई औपचारिक रूपमा स्वीकार गर्न आग्रह गरेको छ। यस प्रस्तावलाई सांसद समर ली ले पनि सह–प्रस्तावकका रूपमा समर्थन गरेकी छन्।
प्रस्तावमा भुटानमा त्यस समयमा व्यापक रूपमा मानवअधिकार उल्लङ्घन भएको उल्लेख गर्दै हजारौँ नेपालीभाषी भुटानी नागरिक—“जसलाई ल्होत्शाम्पा भनेर चिनिन्छ” लाई आफ्नो घर छोड्न बाध्य पारिएको र उनीहरूले नेपालका शरणार्थी शिविरहरूमा दशकौँसम्म कठिन जीवन बिताउनुपरेको उल्लेख गरिएको छ।
पछिल्लो समय तीमध्ये धेरैलाई तेस्रो मुलुक पुनर्वास कार्यक्रममार्फत विभिन्न देशहरूमा बसोबासको अवसर दिइएको थियो। ठूलो संख्यामा शरणार्थीहरू अमेरिका लगायतका अन्या देशहरूमा बसोबास गर्दै आएका छन्, जहाँ उनीहरूले नयाँ जीवन सुरु गर्दै आफ्ना समुदायमा योगदान दिइरहेका छन्।
peace initiative Bhutanका सदस्य अराती चापागाईंले उक्त प्रस्तावप्रति आशा व्यक्त गरेकी छन्। उनका अनुसार “न्यु ह्याम्पशायर राज्यको प्रतिनिधिसभाले यसअघिनै यस्तै प्रस्ताव पारित गरिसकेको अवस्थामा अमेरिकी संसदले पनि विस्थापनको इतिहासलाई औपचारिक रूपमा स्वीकार गर्ने अपेक्षा गरिएको छ। साथै ओहायो राज्यको माथिल्लो सदनले पनि यससम्बन्धी समान प्रस्ताव पारित गर्ने आशा गरिएको उनले बताइन्।”
पेन्सिलभेनियाको ह्यारिसबर्गमा बस्ने तारा मिश्राले यो प्रस्तावले टुटेका परिवारहरूलाई फेरि जोड्ने सम्भावना खोल्न सक्ने बताइन्।
उनले भनिन्, “एक दिन मेरा आमाबुबाले आफ्ना बाबुआमासँग पुनर्मिलन गर्न पाऊन् भन्ने मेरो आशा छ। म पनि पहिलो पटक आफ्ना हजुरबा–हजुरआमालाई अँगालो हाल्न पाउँ भन्ने सपना देख्छु।”
उक्त प्रस्ताव हाल अमेरिकी प्रतिनिधिसभाको विदेश मामिला समितिमा छलफलका लागि पठाइएको छ।
https://www.congress.gov/bill/119th-congress/house-resolution/1093
न्यु ह्याम्पशायर राज्य संसदका सदस्य तथा पूर्व भुटानी शरणार्थी सूरज बुड़थोकी ले प्रस्तावलाई ऐतिहासिक कदमका रूपमा स्वागत गरेका छन्।
उनले भने, “यो प्रस्तावले विस्थापनको इतिहास र दशकौँसम्म भुटानी मूलका अमेरिकी परिवारहरूले भोगेको मौन पीडालाई स्वीकार गर्ने महत्वपूर्ण अवसर दिएको छ। कठिन इतिहासलाई स्वीकार गर्दा मात्र साँचो मेलमिलाप सम्भव हुन्छ।”
Peace Initiative Bhutan का सह–संस्थापक सुदर्शन प्याकुरेल ले भने पनि प्रस्तावको स्वागत गर्दै इतिहासलाई स्वीकार गर्नु न्याय र उपचारतर्फको बाटो भएको बताए।
उनका अनुसार, “इतिहासमा अन्यायको प्रतिध्वनि हुन्छ, तर त्यही इतिहासले एउटा समुदायको दृढता पनि देखाउँछ। इतिहासलाई स्वीकार गर्नु घाउ कोट्याउनु होइन, बरु उपचार र न्यायतर्फको बाटो खोल्नु हो।”

उक्त प्रस्ताव पारित भएमा विस्थापनको इतिहासलाई औपचारिक रूपमा स्वीकार गर्दै संवाद, मेलमिलाप र मानवीय सहकार्यलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। साथै विदेशमा बसोबास गरिरहेका भुटानी मूलका नागरिकहरूलाई आफ्नो जन्मभूमि भ्रमण गर्ने र परिवारसँग पुनर्मिलन गर्ने वातावरण बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।












