ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ ‘डिस्का ओपन २०२५’ मा आयोजक डिस्का टिम च्याम्पियन भएको छ।
ड्रुक इन्टरनेशनल सितोरियो कराते डो एसोसिएसन (डिस्का) द्वारा आइतबार पेन्सिल्भेनियाको ह्यारिसबर्ग स्थित जेम्बो श्राइन अडिटोरियममा आयोजित च्याम्पियनसिपमा आयोजक टिमले सर्वाधिक ३६ स्वर्ण पदक जित्यो।
डिस्का अमेरिकामा रहेका नेपाली भाषी भुटानी समुदायमा कराते खेलको विकास र विस्तारका लागि सन् २०१६ मा स्थापना भएको संस्था हो।
सन् २०२३ देखि डिस्का ओपन हुन थालेको हो।
डिस्का अन्तर्गत अमेरिकाका विभिन्न नौ स्थानमा डोजो रहेका छन्। सबै डोजोले डिस्का ओपनमा ‘डिस्का कराते टिम’ को नाममा खेलेका थिए।
कुल दुई सय दश खेलाडीले भाग लिएका च्याम्पियनसिपमा डिस्काले ३६ स्वर्ण, २८ रजत र ४६ काश्य गरी कुल एक सय दश पदक घरमै राख्यो।
ड्रुक सितो काई ओहायो च्याम्पियनसिपमा दोस्रो भयो। ड्रुक सितो काईले ११ स्वर्ण, आठ रजत र सात कास्य सहित कुल २६ पदक जित्यो।
न्यु योर्कबाट आएको आइएमए निहोन कराते डो युएसए तेस्रो भयो। आइएमए निहोनले सात स्वर्ण र सात रजत गरी कुल १४ पदक जितेको थियो।

यस्तै इन्टरनेश्नल सितोरियो कराते डो एसोसिएसन अफ युएसए इस्काले चार स्वर्ण, ११ रजत र १४ कास्य जित्यो।
च्याम्पियनसिपमा व्यक्तिगत तर्फबाट खेल्नेहरू ६ स्वर्ण, चार रजत र ६ काश्य जितेका थिए।
नेपाली करातेका संस्थापक थानेश्वर राईलाई ह्यारिसबर्गमा सम्मान
नेपाली करातेका संस्थापक सिहान थानेश्वर राईलाई ह्यारिसबर्गमा समान गरिएको छ। डिस्का ओपन २०२५ को उद्घाटनका अवसरमा राईलाई सम्मान गरिएको हो।
ड्रुक इन्टरनेशनल सितोरियो कराते डो एसोसिएसन (डिस्का) का अध्यक्ष डा. हेमन्त घिसिङका अनुसार सन् १९९० मा नेपालमा भुटानी शरणार्थी शिविरमा कराते खेलको भित्राउन राईले सहयोगको कदर गरिएको हो।

डिस्काका प्रमुख प्रशिक्षक रन राईले नेपाली करातेका जिउँदो इतिहास थानेश्वरलाई दोसल्ला ओढाएका थिए।
‘दोस्रो डिस्का ओपन २०२५’ विषेश अतिथिका रुपमा आमन्त्रित थानेश्वर राईलाई कदर पत्र समेत प्रदान गरिएको थियो।
च्याम्पियनसिपका प्रमुख रेफ्री तथा कराते महासंघ अमेरिका रेफ्री कमिटीका पूर्व चेयर शिहान क्लीभ ब्याक्सटरले कदर पत्र प्रदान गरेका थिए।
शिहान थानेश्वर राई, नेपाल कराते महासंघका पूर्व प्रमुख प्रशिक्षक पनि हुन्। उनले सन् १९७० मा नेपालमा कराते भित्राएका थिए।
सोही अवसरमा सिहान शान्त थोकरलाई पनि सम्मान गरिएको थियो। थोकरले अघिल्लो महिना मात्र पान अमेरिकन कराते महासंघबाट डवल ए रेफ्रि लाइसेन्स प्राप्त गरेका थिए। उनी पान अमेरिकनबाट दोहोरो रेफ्री ए लाइसेन्स पाउने पहिलो नेपाली हुन्।

पान अमेरिकन कराते महासंघमा प्रतिनिधित्व गर्ने पहिलो नेपाली भाषी भुटानी-क्यानेडियन सेन्सेई डुम्पा थापा, पहिलो नेपाली भाषी भुटानी-अमेरिकी महिला सेन्सेई माया लेप्चालाई पनि सम्मान गरिएको थियो।
यस अगाडि उद्घाटन समारोहको शुभारम्भमा डिस्का ओपन २०२५ आयोजक कमिटीका अध्यक्ष स्थानीय व्यवसायी तथा समाजसेवी विश्व क्षेत्रीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
प्रतियोगिताको उद्घाटनमा कराते खेलाडीहरूले नेपाली मौलिक पहिरनमा सांस्कृतिक प्रस्तुति दिएका थिए।
प्रतियोगिताको दौरान पेन्सिल्भेनिया राज्य सभा सदस्य डेभ म्याड्सन, स्वातारा टाउनशिपका आयुक्त, टम कोनोली , भुट्नीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) का अध्यक्ष तिलक निरौला लगायतको उपस्थिति रहेको थियो।
साभारः समाज टाइम्स, आभार -बिष्णु हरि घिमिरे