दक्षिण एसियामा तनाव चुलिँदै: सुरज बुडाथोकीको अमेरिकी संसदमा हस्तक्षेपको आह्वान

0
92

अर्जुन प्रधान,

भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचिरहेको बेला, न्यु ह्याम्पशायर राज्यका राज्य प्रतिनिधि सुरज बुडाथोकीले अमेरिकी संसदमा विशेष वक्तव्य दिँदै दुवै पक्षलाई संयमता अपनाउन र वार्ताको बाटो रोज्न आग्रह गरेका छन्। नेपाली भाषी भूटानी मूलका बुडाथोकीले २२ अप्रिलमा जम्मु–कश्मीरको पहलगाममा भएको आतंकी हमलापछि भारतले सुरु गरेको ‘अपरेशन सिन्धूर’ र त्यसपछि पाकिस्तानले दिएको कडा प्रतिक्रियाले आणविक द्वन्द्वको जोखिम बढाएको चेतावनी दिएका छन्।

राज्य प्रतिनिधि बुडाथोकीले अमेरिकी संसदमा भने, “भारत र पाकिस्तान केवल दुई राष्ट्र होइनन्; यी साझा इतिहास, संस्कृति र भूगोलले जोडिएका समुदायहरू हुन्। कश्मीर, दिल्ली वा लाहोरमा ज्यान गुमाउनेहरूका पीडा राजनीतिमा प्रयोग हुनुहुँदैन।” उनले अमेरिकी सरकारलाई दक्षिण एसियामा शान्ति स्थापनाका लागि सक्रिय कूटनीतिक पहल गर्न आह्वान गरे।

https://youtu.be/5cfVSBUaR00?si=Tn5X8qyGTSn7g0WD

भारतले ७ मेमा ‘अपरेशन सिन्धूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरका नौ स्थानमा हवाई आक्रमण गरेको थियो। भारतीय विदेश मन्त्रालयका अनुसार, यी आक्रमणहरू लश्कर-ए-तोइबा र जैश-ए-मोहम्मदसँग सम्बन्धित आतंकवादी संरचनाहरूलाई लक्षित गर्दै गरिएको थियो। पाकिस्तानले भने यी आक्रमणहरूलाई “युद्धको घोषणा” भन्दै निन्दा गरेको छ र प्रतिशोधको चेतावनी दिएको छ।

अन्तर्राष्ट्रिय समुदायको चिन्ता

भारतले पहलगाम आतंकी हमलाको प्रतिशोधस्वरूप सुरु गरेको ‘अपरेशन सिन्धूर’ र त्यसपछिको पाकिस्तानसँगको चुलिँदो तनावप्रति अन्तर्राष्ट्रिय समुदाय विशेषतः अमेरिकी नेताहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। आतंकवादको विरुद्ध भारतले चालेको कदमलाई लिएर अमेरिकी विदेश विभाग, सिनेट सदस्यहरू, र राष्ट्रपति डोनाल्ड ट्रम्पले आ–आफ्नो धारणा सार्वजनिक गरेका छन्।

अमेरिकी विदेश विभागको प्रतिक्रिया

अमेरिकी विदेश विभागले भारत–पाकिस्तानबीच बढ्दो सैन्य गतिविधिलाई ‘निकटबाट निगरानी’ गरिरहेको जनाएको छ। एक वक्तव्यमा विभागले भनेको छ, “हामी रिपोर्टहरूबाट अवगत छौं, तर हालका लागि कुनै मूल्याङ्कन गर्न सक्दैनौं। यो अवस्था अझै विकासोन्मुख छ।”

सिनेटर क्रिस कूनसको संयमता आग्रह

अमेरिकी सिनेटर क्रिस कूनसले भने, “पछिल्लो महिनाको विनाशकारी आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको तनावलाई मैले चासोका साथ पछ्याउँदै आएको छु। म दुबै देशलाई संयमता अपनाउन र कूटनीतिक माध्यमबाट समस्याको समाधान गर्न आह्वान गर्दछु।” उनले हिंसाको सट्टा न्यायका लागि कूटनीतिक मार्ग नै उचित रहेको बताए।

सिनेटर जीन शाहिनको गम्भीर चिन्ता

सिनेटर जीन शाहिनले बयानमा भनिन्, “२२ अप्रिलको आतंकवादी हमलापछि भारत–पाकिस्तानबीचको सैन्य तनावप्रति म अत्यन्त चिन्तित छु। म दुबै सरकारलाई संयमता अपनाउन र वार्तामा जोड दिन आग्रह गर्दछु। दक्षिण एसियामा अस्थिरता विश्वका लागि खतरा बन्न सक्दैन।”

ट्रम्पको प्रतिक्रिया: “यो लज्जास्पद छ”

राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको कारबाहीबारे सोधिएकोमा भने, “यो लज्जास्पद हो। हामीले Oval Office प्रवेश गर्दा मात्र यो बारे थाहा पायौं।” उनले भारत–पाकिस्तानबीचको इतिहासलाई स्मरण गराउँदै ‘शताब्दीयौंदेखि चलेको द्वन्द्व’ को उल्लेख गरे। ट्रम्पले यस संकटको चाँडै अन्त्य होस् भन्ने आशा व्यक्त गरे।

संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, र युरोपेली संघले दुवै पक्षलाई संयमता अपनाउन र वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतको आक्रमणलाई “कायरतापूर्ण” भन्दै कडा प्रतिक्रिया जनाएका छन्।

त्यसैबिच, दक्षिण एसियामा चुलिंदो तनावको बीचमा सुरज बुडाथोकीजस्ता आप्रवासी पृष्ठभूमिका अमेरिकी जनप्रतिनिधिको चासोले अन्तर्राष्ट्रिय समुदायको ध्यान यसतर्फ खिच्न सक्नेछ। पीडितप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले वार्ता, संयम र मानवताको बाटो रोज्न सबै पक्षलाई आग्रह गरे।

भारतको ‘अपरेशन सिन्धूर’ पछिको तनावले अन्तर्राष्ट्रिय कूटनीतिक दबाबलाई सक्रिय बनाएको छ। अमेरिका लगायतका राष्ट्रहरूले संयमता र संवादमार्फत समाधान खोज्न आग्रह गरिरहेका छन्। भारत र पाकिस्तानबीचको कुनै पनि द्वन्द्व क्षेत्रीय मात्र नभई विश्वस्तरीय असर पुर्‍याउने जोखिममा रहेको सन्देश अन्तर्राष्ट्रिय प्रतिक्रियाबाट स्पष्ट छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here