अर्जुन प्रधान – “देशसँग साहित्य” भन्ने अभियानका साथ अघि बढ्दै आएको द लिटरेरी सोसाइटी अफ भुटान (एल.एस.बी.) ले झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आफ्नो चौथो वार्षिक उत्सव भव्यताका साथ मनाएको छ। मई २ तारिख, शुक्रबारका दिन संस्थाले वार्षिकोत्सवको अवसर पारेर विविध साहित्यिक, सांगीतिक र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै शरणार्थी समुदायमा सिर्जनात्मक चेतनाको झिल्को फैलाएको हो।
एल.एस.बी.ले २०२१ देखि स्थापना दिवसलाई निरन्तरता दिँदै आएको छ। साहित्य, कला र भाषाको प्रवर्द्धनमा प्रतिबद्ध संस्था एल.एस.बी.ले स्थापना कालदेखि नै विविध कार्यक्रममार्फत नवप्रतिभा र अनुभवी स्रष्टाहरूलाई साझा मंच प्रदान गर्दै आएको छ।

कार्यक्रममा अध्यक्ष तिलक राईको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिका रूपमा भुटान पिपल्स पार्टीका अध्यक्ष तथा साहित्यकार बलाराम पौड्यल उपस्थित थिए। नेपाल प्रज्ञा-प्रतिष्ठानकी सुमित्रा बाङ्देल ‘चेली’, साहित्यकार याम थुलुङ, भुटानी शरणार्थी व्यवस्थापन समितिका सचिव सञ्चहाङ सुब्बा लगायत अन्य विशिष्ट अतिथि तथा स्रष्टाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
चौथो वार्षिकोत्सवसँगै सम्पन्न भयो ‘प्रतिभा साँझ’ को तेस्रो श्रृङ्खला पनि
कार्यक्रममा शरणार्थी समुदायका बुद्धिजीवी, प्राध्यापक, साहित्यकार, युवा सर्जकहरू लगायतको बाक्लो उपस्थिति थियो। स्व. डा. गोविन्द रिजालको स्मृतिमा मौनधारण गरिएको कार्यक्रममा प्रतिभा धमाल, भरत मगर, साराङ्गा लिम्बु, सुधन लिम्बु लगायतले साङ्गीतिक प्रस्तुति दिएका थिए भने साहित्यिक क्षेत्रबाट चिरनजीवि खालिङ, थिरू घिमिरे ‘विकल्प’, ओम सापकोटा, केवल क्षत्री र साङ्सेन पान्धोकले रचना वाचन गरेका थिए।

यसैगरी, सुमित्रा बाङ्देल ‘चेली’ले महिलालाई जोखिम उठाएर साहित्यिक यात्रा अघि बढाउन प्रेरणा दिँदै एल.एस.बी.को पुस्तकालयलाई १०० थान पुस्तक सहयोग गर्नु भयो। सचिव सञ्चहाङ सुब्बाले पुस्तकालयलाई शरणार्थी शिविरको गौरव बताउँदै आगामी दिनमा संस्थाको सफलता कामना गर्नुभयो।
कार्यक्रमको अन्त्यतिर एल.एस.बी.द्वारा प्रकाशित वार्षिक साहित्यिक पत्रिका ‘दियालो’ को चौथो अङ्क को सार्वजनिक गरिएको थियो। साथै, सेजल एण्ड सिस्टर फाउण्डेसन लाई साहित्यिक यात्रामा निरन्तर सहयोग पुर्याएकोमा प्रशंसा-पत्र प्रदान गरिएको थियो।



लेखक दिल भूटानीले आफ्नो फेसबुकमा लेखेका छन् ”
आज ५ मइ डा. गोविन्द रिजालको स्मृति दिवास । जोसँग छोटो चिनजान तर लामो सम्झना र यादहरु दिएर जानु भयो ।उहाँसँगका सम्वाद र छलफलहरुले सधै ऊर्जा दिरहन्थ्यो ।उहाँ अनुपस्थितिले भूटानी समाजमा ठूलो रिक्तता महसुस भएको छ ।
यतिखेर हामी तपाईलाई सम्झिरहेका छौ ।हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु ।”
यसै अवसरमा एल.एस.बी. द्वारा सञ्चालित ‘प्रतिभा साँझ’ को तेस्रो श्रृङ्खला पनि सम्पन्न भएको छ। शरणार्थी शिविरमा लुकेर रहेका नवप्रतिभाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले हरेक महिनाको अन्तिम शनिबार आयोजना गरिँदै आएको यो साँझले साहित्य, संगीत र कलाको अद्भुत संगम प्रस्तुत गर्छ।
यसपटकको कार्यक्रमलाई विशेष बनाउन एल.एस.बी.ले लोकप्रिय स्थानीय गायक जीवन साम्पाङ र उनको टोलीलाई निमन्त्रणा गरेको थियो। शरणार्थी कलाकारहरूको प्रस्तुति पछि साम्पाङ टोलीले दर्शकलाई संगीतको जादूमा रमाएका थिए।
एल.एस.बी.ले भुटानी शरणार्थी शिविरको साहित्यिक चेतनालाई पुनर्जीवित गर्दै ‘देशसँग साहित्य’ अभियानलाई अझ सशक्त बनाएको छ। चौथो वार्षिकोत्सव र प्रतिभा साँझको समायोजनले यो संस्था शरणार्थी साहित्यको गतिशील केन्द्र बन्ने संकेत दिएको छ।
समचार स्रोतः- #द लिटरेरी सोसाइटी अफ भुटान#उज्यालो खबर#फेसबुक लाइभ#Globalbhutanesenews#लेखक विरेन मगर