सिन्धूर अपरेशन: पहलगाम हमलाको प्रतिकारमा भारतको निर्णायक कारबाही

0
112

अर्जुन प्रधान, मे ७, २०२५ 

भारत सरकारले आतंकवादविरुद्धको आफ्नो दृढ प्रतिवद्धता पुनः पुष्टि गर्दै “अपरेशन सिन्धूर” को घोषणा गरेको छ। विदेश सचिव विक्रम मिस्रीद्वारा आज दिइएको पत्रकार सम्मेलनमा यो अपरेशनको विस्तृत विवरण प्रस्तुत गरियो, जसमा पहलगाममा भएका निर्दोष नागरिकहरूको हत्याको प्रतिकार स्वरूप भारतले सटीक र लक्षित जवाफी कारबाही गरेको स्पष्ट पारिएको थियो।

२२ अप्रिल २०२५ मा जम्मु–कश्मीरको पर्यटकीय स्थल पहलगाममा लश्कर–ए–तोइबाका पाकिस्तानी आतंककारीहरूले गरेको नरसंहारमा २६ जना निर्दोष पर्यटक मारिए, जसमा एक जना नेपाली नागरिक पनि थिए। यो हमलालाई विगत २००८ को मुम्बई आक्रमणपछिको सबैभन्दा भयावह नागरिक हत्याकाण्डका रूपमा चित्रण गरिएको छ।

सचिव मिस्रीका अनुसार आतंककारीहरूले नजिकैबाट टाउकोमा गोली हानी मानिसहरूको हत्या गरेका थिए र परिवारजनलाई तर्साउने नियतले सो आक्रमण गरिएको थियो। यसका पछाडि जम्मु–कश्मीरमा फर्कँदै गरेको शान्ति, पर्यटक आगमनमा आएको वृद्धिलाई रोक्ने, र आर्थिक विकासमा बाधा पुर्‍याउने उद्देश्य रहेको बताइएको छ।

विदेश सचिवले बताएअनुसार भारतले आज बिहान सीमापारका आतंकी संरचनाहरूमा सटीक आक्रमण गरी अपरेशन सिन्धूर सुरू गर्‍यो। यो कारबाही नापतोल, जिम्मेवारपूर्ण र गैर-सैन्य थियो, जसमा आतंककारी आधारहरू र योजनाकारहरूलाई लक्ष्य बनाइएको थियो। भारतको गुप्तचर प्रणालीले आगामी थप हमलाको पूर्वसंकेत पाएको आधारमा यो प्रतिकार आवश्यक मानिएको थियो।

बयानमा पाकिस्तानमाथि संयुक्त राष्ट्रसंघद्वारा प्रतिबन्धित आतंकी संगठनहरूलाई संरक्षण दिएको, झूटो प्रचार गरिरहेको, र अन्तर्राष्ट्रिय जिम्मेवारीहरूबाट पन्छिन खोजेको आरोप लगाइएको छ। भारतले लश्कर–ए–तोइबा र जैश–ए–मोहम्मद जस्ता संगठनहरूमार्फत पाकिस्तानले साना आतंकी समूहहरू प्रयोग गरिरहेको विवरण संयुक्त राष्ट्रसंघलाई अघिल्लो वर्ष नै दिएको थियो।

अपरेशन सिन्धूर भारतको आत्मरक्षा मात्र होइन, तर अन्तर्राष्ट्रिय आतंकी समूहहरूविरुद्धको साझा संघर्षमा एक सन्देश पनि हो। भारतले यस अपरेशनमार्फत शान्ति र स्थायित्वमा बाधा पुर्‍याउने तत्वहरूलाई स्पष्ट सन्देश दिएको छ—न्यायका लागि प्रतिक्षा गरिएला तर अन्यायको जवाफ दिन पछि परिने छैन।

पूरा विवरण यहाँ पढ्न सकिन्छ

उक्त समाचार #सिन्धूर अपरेशन सम्बन्धी प्रेस विज्ञप्तिका आधारमा लेखिएको हो। क्षति भएको जीवनप्रति ग्लोबलपोस्टको तर्फबाट शान्तिको निरन्तर  प्रार्थना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here