काठमाडौं । नेपाली तथा असमी भाषाका प्रतिष्ठित साहित्यकार छत्रमान सुब्बाद्वारा लिखित समालोचनात्मक कृति साहित्यमा उत्तर–चेतको खोजी सार्वजनिक गरिएको छ। चैत १८ गते काठमाडौंमा आयोजित विशेष समारोहमा विभिन्न सर्जकहरूले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे।
कार्यक्रममा सर्जक डा. तुलसी भट्टराईले साहित्यकार सुब्बाको यो कृतिले नेपाल र भारतको असमबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरे। उनले पुस्तकले दुई देशका पाठकमाझ साहित्यिक संवादको सेतु निर्माण गरेको बताए।

‘साहित्यमा उत्तर–चेतको खोजी’ को महत्व
लोकार्पणपछि आयोजित पुस्तक विमर्शमा साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईले सुब्बाले नयाँ चेतनालाई बुझ्ने र तिनलाई खोज्ने तिर्खाले प्रेरित भएर यो कृति तयार पारेको बताए। उनले सन् २०२३ मा साहित्य अकादमी अनुवाद पुरस्कार प्राप्त गरिसकेका सुब्बाको यो कृति समालोचनात्मक अध्ययनका लागि महत्वपूर्ण रहेको धारणा राखे।
यसै क्रममा प्रा. डा. कुमारप्रसाद कोइरालाले साहित्यमा उत्तर–चेतको खोजी सिर्जनात्मक समालोचनाको उत्कृष्ट नमूना भएको बताए। अन्य साहित्यकारहरू अनिता कोइराला, अनिता पन्थी, शान्ति रिसाल, र नारायणप्रसाद शर्माले पनि पुस्तकबारे पाठकीय टिप्पणी प्रस्तुत गर्दै यसले समालोचना विधामा विशेष योगदान पु¥याउने धारणा व्यक्त गरे।
साहित्यकार सुब्बाले आफ्नो अनुभव साझा गर्दै यो कृतिले आफूलाई नयाँ बाटो देखाएको बताए। उनले नेपाली र असमी साहित्यलाई समीक्षात्मक दृष्टिले जोड्ने प्रयासस्वरूप पुस्तक तयार पारिएको जानकारी दिए। साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले पुस्तकले अक्षरहरू मार्फत दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए।
कार्यक्रमका अर्की वक्ता प्रा. डा. अञ्जना वस्ती भट्टराईले असममा बसेर नेपाली भाषामा लेखन कार्य जारी राख्नु नै सुब्बाको ठूलो योगदान रहेको उल्लेख गरिन्।
साहित्यिक वृत्तमा विशेष चासोको विषय बनेको साहित्यमा उत्तर–चेतको खोजी कृति समालोचनात्मक अध्ययन गर्ने पाठकहरूका लागि महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।
साभार, धन्याबाद प्रा.डा.गोविन्द राज भट्टाराइ