ललितपुर – भूटानी शरणार्थी नेता तथा लेखक बलराम पौड्यालद्वारा लिखित ‘पर्दापछाडिको भूटान’ र त्यसको अङ्ग्रेजी संस्करण ‘भूटान बिहाइन्ड द कर्टेन’ एक विशेष समारोहमार्फत ललितपुरको यलमाया केन्द्रमा सार्वजनिक गरिएको छ। टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा शरणार्थी र राजबन्दीको सवालमा लामो समयदेखि आवाज उठाउँदै आएका पत्रकार कनमणि दीक्षित, देवेन्द्र भट्टराई, लेखक स्वयं र प्रतिष्ठान अध्यक्ष सुशील प्याकुरेलले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरे।
पुस्तकको सम्पादन नारायण फुयाल शर्मा र भिष्मप्रसाद सङ्ग्रौलाले गरेका हुन्, जहाँ अङ्ग्रेजी अनुवाद पनि सङ्ग्रौलाकै योगदानमा तयार भएको हो। कार्यक्रममा शरणार्थी र राजबन्दीको मुद्दामाथि गहन विमर्श समेत गरियो। वक्ताहरूले नेपालीभाषी भूटानीमाथिको ज्यादती र त्यसले जन्माएको शरणार्थी समस्याबारे राज्य तहबाट अझ गम्भीर पहल आवश्यक रहेको धारणा व्यक्त गरे।
पत्रकार कनमणि दीक्षितले भूटानमै संक्रमणकालीन न्यायको आवश्यकता दिनानुदिन बढ्दै गएको बताए। उनले पुनर्स्थापना भइसकेपछि शरणार्थी समस्या अन्त्य भएको भन्ने सोचलाई भ्रमपूर्ण भन्दै अझै ६ हजारभन्दा बढी शरणार्थी नेपालमै अन्योलमा बाँचिरहेको तथ्य प्रस्तुत गरे।
कार्यक्रममा अधिकारकर्मी सुशील प्याकुरेलले मुद्दा सुल्झाउन कूटनीतिक स्तरमै थप ऊर्जा आवश्यक भएको औँल्याए। यस्तै, गोपालकृष्ण शिवाकोटीले नेपालको कूटनीतिक असफलताले समस्यालाई अझ जटिल बनाएको टिप्पणी गरे। अमेरिकाबाट निष्कासित कतिपय भूटानी शरणार्थी नेपाल फर्किनुपरेको र त्यहाँबाट फेरि भूटान खेदिएको घटनाले अनौठो परिस्थिति सिर्जना भएको बताए।

पत्रकार देवेन्द्र भट्टराईले भूटानका विभिन्न कारागारमा अझै पनि सयौं नेपालीभाषीहरु राजबन्दी बनेको दाबी गरे। उनले केही शरणार्थी आफूसँग सम्पर्कमा रहेको जनाउँदै नेपाल सरकारले कूटनीतिक पहल नगरेकोमा आलोचना गरे।
कार्यक्रममा सिर्जना पोखरेल सिवाकोटीले शरणार्थी मुद्दामा संक्रमणकालीन न्यायको महत्त्व झनै बढिरहेको बताइन्। शरणार्थी युवा रोशन बस्नेतले आवश्यक सरकारी कागजात नपाएर तेस्रो मुलुकमा जान नसकेको भोगाइ सुनाए।
पुस्तकका सम्पादक सङ्ग्रौलाले भूटानी शरणार्थी र राजबन्दी मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न विशेष सरोकार समूह गठनको प्रस्ताव गरे, जसमा सहभागी अधिकांश अधिकारकर्मीको सहमति रहेको थियो। पत्रकार दीक्षितले चाँडै यस्तो समूह गठनको पहल गरिने आश्वासन दिए।
लेखक पौड्यालले पुस्तकमार्फत आफ्ना भोगाइ प्रस्तुत गर्दै २०२५ सालभित्र नेपालीभाषी भूटानीसँग जोडिएका सबै समस्या समाधान होस् भन्ने कामना व्यक्त गरे। पुस्तक पेज टर्नर प्रकाशनद्वारा प्रकाशित भएको हो, जसको मूल्य रु ९९९ तोकिएको छ।
@अर्जुन प्रधान