कतारमा अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचित

0
14

दोहा, कतार – अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रधान सम्पादक तथा चर्चित लेखक अखण्ड भण्डारी द्वारा लिखित नवीनतम उपन्यास ‘बोरा’ को कतारमा भव्य विमोचन तथा विमर्श सम्पन्न भयो। गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको साहित्य विभागद्वारा आयोजित यो कार्यक्रम मुम्ताजास्थित गोर्खाली रेस्टुरेन्ट मा सम्पन्न भएको थियो।

लेखक अखण्ड भण्डारी ले महिनौँको खोजपछि वृद्धाश्रममा रहेका आमाबुबाको पीडा लाई फिक्सनमार्फत प्रस्तुत गरेको बताए। उनले भने,

“हिजो वृद्धवृद्धालाई डोकोमा हालेर फालिन्थ्यो, तर आज ‘बोरा’ मा हालेर फालिएको देखेपछि, मैले यो उपन्यास लेख्ने निर्णय गरेँ। समाजको यथार्थलाई यसले उजागर गर्छ, र पाठकको मन छुनेछ।”

समीक्षक सुरेश भट्ट आश्रिन का अनुसार, ‘बोरा’ उपन्यासले समाजमा भइरहेका कठोर यथार्थलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ। उनले यमुना पात्र को कथा उदाहरण दिँदै, उपन्यासलाई असहाय छोराले आफ्नी आमालाई दिएको पीडादायी घाउको सत्य कथा का रूपमा व्याख्या गरे। साथै, उपन्यासको पठनीयता उत्कृष्ट भए पनि उनले पश्चिमा अंग्रेजी शब्दहरूको प्रयोग घटाउन सुझाव दिए।

एनआरएनए एनसिसि कतारका अध्यक्ष रमेश भट्ट को सभाध्यक्षतामा आयोजित यस कार्यक्रममा दोहाका साहित्यकार, पत्रकार, राजनीतिकर्मी, तथा विभिन्न जिल्ला संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति देखियो। कार्यक्रमका विशेष अतिथिहरूले ‘बोरा’ उपन्यासको औपचारिक लोकार्पण गर्दै यसको महत्वमाथि प्रकाश पारे।

कार्यक्रममा उपन्यासबारे गहिरो छलफल भयो। उपस्थित साहित्यप्रेमीहरू लेखकसँग प्रत्यक्ष संवाद गर्दै प्रश्नोत्तर सत्रमा सक्रिय सहभागिता जनाए।

कतारको नेपाली समुदायबीच साहित्यको जागरूकता बढाउने यस प्रकारका कार्यक्रमहरू निरन्तर भइरहने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here