गायक मनोज राईको असन्तुष्टि: आप्रवासी नेपाली गीतकार संघप्रति प्रश्न उठाउँदै सदस्यता अस्वीकार 

0
8

अर्जुन प्रधान – हालै सम्पन्न आप्रवासी नेपाली गीतकार संघ, अमेरिका को पहिलो वार्षिक साधारण सभामा प्रतिष्ठित गायक एवं संगीतकार मनोज राई ले आफ्नो असन्तुष्टि व्यक्त गर्दै संस्थाको सदस्यता नलिने आफ्नो फेशबुक मार्फत निर्णय लिएका छन्।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा वरिष्ठ गीतकार तथा अभिनेता नीर शाह, भूषण खरेल, गंगाराम लामिटारे लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। यस भव्य कार्यक्रमका विभिन्न पक्षहरूसँग असहमति जनाउँदै गायक मनोज राई ले आयोजकमुखी केही प्रश्नहरू उठाएका छन्।

सदस्यता प्रदान गर्ने प्रक्रिया प्रति अन्योलता

• बन्दसत्रमा अधिकांश सदस्यहरू अन्योलमा रहेको देखिएको र स्वयम् उनी पनि अनिश्चित अवस्थामा पुगेको बताएका छन्।

• “स्टेजमा जानको लागि बाध्यता महसुस भयो, किनभने नीर शाहजस्ता महान व्यक्तित्वहरू उपस्थित हुनुहुन्थ्यो।”

बन्दसत्र अध्यक्षताको प्रस्ताव र त्यसबाट उत्पन्न समस्या

• आयोजकहरूले उनलाई बन्दसत्र अध्यक्षता गर्न अनुरोध गरेपछि उनले आफू “एक्सिडेन्टल अध्यक्ष” भएको महसुस गरेको उल्लेख गरेका छन्।

• बन्दसत्रमा उठाइएका गम्भीर विषयहरूमाथि छलफल गर्न पर्याप्त तयारी नभएको र विधानसम्बन्धी कुनै स्पष्ट जानकारी आफूलाई नभएको बताए।

सदस्यहरूले प्रश्न उठाए पनि जवाफ दिन नसकेको अवस्था

• सदस्यता लिने अन्य साथीहरूले विभिन्न प्रश्नहरू राखे तर आफूले उत्तर दिन नसकेको अवस्थामा परेको उल्लेख गरे।

गायक मनोज राईले अन्ततः संस्थाको सदस्यता नलिने निर्णय गर्दै निम्न कारणहरू प्रस्तुत गरे:

संस्थाको नाममा “आप्रवासी” शब्द प्रयोग गरिनु – जसले सबै नेपाली सर्जकलाई समेट्न नसक्ने उनको तर्क थियो।

संस्थाको विधानमा पर्याप्त छलफल नगरिनु।

पहिलो अधिवेशनमै सम्पूर्ण कार्यसमिति उपस्थित नरहनु।

पुरस्कार सम्बन्धी निर्णयहरू स्पष्ट नभएको महसुस हुनु।

मनोज राईले आफ्नो असन्तुष्टि र निर्णयबारे अध्यक्ष हरि उप्रेती तथा संरक्षक ज्ञानेन्द्र गदाल लाई जानकारी गराएको स्पष्ट पारे। उनले आफ्नो असन्तुष्टि व्यक्तिगत भए पनि संस्थागत पारदर्शिता, स्पष्टता, र लोकतान्त्रिक प्रक्रियाको सम्मान आवश्यक रहेको धारणा राखे।

मनोज राईको असन्तुष्टि सार्वजनिक भएसँगै संघका पदाधिकारीहरूले यसको समीक्षा गर्ने तयारी गरिरहेका छन्। आगामी अधिवेशनमा विधान, सदस्यता प्रक्रिया, र अन्य व्यवस्थापन पक्षहरूबारे थप स्पष्टता ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।

आप्रवासी नेपाली गीतकार संघको अध्यक्ष हरि उप्रेतिले सम्बोधन गरेको छन्

“ आप्रवासी गीतकार संघ अमेरिकाको औपचारिक धारणा

हालै सम्पन्न आप्रवासी गीतकार संघ अमेरिकाको सम्मेलन ले महत्वपूर्ण दस्तावेज तय गरेको अनुभूति संघले गरेको छ। कार्यक्रम सम्पन्न भएपछि अग्रज तथा सम्मानित स्रष्टाहरूबाट आएका जिज्ञासा र प्रश्नहरू संघको ध्यानमा आएका छन्, जसलाई संघले सकारात्मक रूपमा ग्रहण गरेको जानकारी गराउन चाहन्छु।

संघको स्थापना सम्पूर्ण नेपाली गीत-संगीतका स्रष्टाहरूलाई सम्मान गर्दै अगाडि बढ्ने उद्देश्यले गरिएको हो।

अग्रज स्रष्टाहरूलाई सम्मान,

अनुज प्रतिभाहरूप्रति माया र प्रोत्साहन,

भाषिक एवं सांस्कृतिक एकता निर्माण

संघको मुख्य लक्ष्य हुन्। यी उद्देश्यहरू सामाजिक सञ्जाल र मिडियामार्फत सर्वविदित छन्।

संस्था विधानअनुसार अघि बढ्ने प्रयास निरन्तर जारी रहनेछ। सम्मेलन समाप्त नहुँदै अग्रज तथा सम्मानित स्रष्टाहरूबाट प्राप्त प्रतिक्रिया र गुनासाहरूलाई संघले आशीर्वादको रूपमा स्वीकार गरेको छ।

संघलाई सञ्चालन गर्ने व्यक्तिहरू हुन्, र व्यक्तिबाट नै त्रुटिहरू हुनसक्छन्। संघको उद्देश्य कसैको अपमान गर्नु पटक्कै होइन। यदि कुनै कमी-कमजोरी रह्यो भने, त्यसका लागि हामी क्षमा याचना गर्दछौं। संघ प्रतिशोधभन्दा पर रहेर सधैं सकारात्मक छलफलका लागि तयार छ।

यदि स्रष्टाहरूलाई कुनै गुनासो छ भने, कृपया प्रत्यक्ष रूपमा संघमा राख्न अनुरोध गर्दछौं। हामी सहकार्य र संवादमार्फत अगाडि बढ्न इच्छुक छौं।”

यस घटनाले प्रवासी नेपाली संगीतकर्मीहरूका बीच संस्थागत निर्णय प्रक्रियामा अझ बढी खुलापन, संवाद, र सहभागिताको आवश्यकता औंल्याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here