अर्जुन प्रधान, फेब्रुअरी २, २०२५
नेपाली भाषा, साहित्य, गीत, र संगीतलाई प्रवासमा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको आप्रवासी नेपाली गीतकार संघ, अमेरिका (INLA USA) को प्रथम वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।
यस ऐतिहासिक सभामा वरिष्ठ गीतकार एवं अभिनेता नीर शाह प्रमुख अतिथि रहनु भयो। नेपाली गीत-संगीतमा अतुलनीय योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गर्ने उद्देश्यले संघले “INLA- ज्ञानेन्द्र गदाल गीत सम्मान” को अनुमोदन गरेको थियो। यसै क्रममा यो वर्षको सम्मान वरिष्ठ गीतकार एवं अभिनेता नीर शाहलाई प्रदान गरिएको छ। संघका अध्यक्ष हरि उप्रेतीले दोसल्ला ओढाई, $१००१ राशी र सम्मान पत्र प्रदान गर्दै विशिष्ट अतिथि एवं संरक्षकहरूको उपस्थितिमा उहाँलाई सम्मान गर्नुभयो।
साहित्य र संगीत क्षेत्रमा योगदान पुर्याउने अन्य विशिष्ट व्यक्तित्वहरू साहित्य परिष्द् भूटानका अध्यक्ष गंगाराम लामिटारे, भूटानी प्रथम गायक प्रताप सुब्बा, गितकार भूषण खरेल, डा. दामोदर पौडेल, र मुकेश सिंहलाई पनि संघले विशेष सम्मान प्रदान गर्यो।
सम्मेलनको स्वागत नेहा फुयाल र रस्मीका खनालको स्वागत नृत्य द्वारा गरियो। सांगीतिक कार्यक्रमको मुख्य आकर्षणका रूपमा अर्जुन रसाईली, मनोज ढकाल, सुचिता गुरुङ, चरन बजगाईं, हेमकुमार क्षेत्री, खडानन्द अधिकारी लगायतका गायकहरूले विशेष प्रस्तुति दिए। NCDC का कलाकारहरूले आफ्नो नृत्य प्रस्तुतिबाट दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरे।
संघको साधारण सभा गायक एवं संगीतकार मनोज राईको अध्यक्षतामा सम्पन्न भयो। बन्द सत्रमा वार्षिक गतिविधि, आर्थिक प्रतिवेदन, तथा भविष्यका कार्ययोजनाहरू प्रस्तुत गरियो। साथै, “INLA- ज्ञानेन्द्र गदाल गीत सम्मान” लाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने निर्णय गरियो।
संघका अध्यक्ष हरि उप्रेतीले कार्यक्रममा सहभागी भएका सम्पूर्ण अतिथि, कलाकार, तथा आयोजकहरूलाई धन्यवाद दिँदै प्रवासमा नेपाली भाषा, साहित्य, र संगीतको संरक्षण तथा प्रवर्द्धनमा सबैलाई अझ संगठित भएर अगाडि बढ्न आह्वान गरे।
“यो साधारण सभा मात्र नभई, प्रवासमा रहेका नेपाली सर्जकहरूको पहिचान, एकता, र सृजनशीलताको उत्सव हो।”
संघले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ, जसले आप्रवासी नेपाली सर्जकहरूलाई अझ सशक्त बनाउँदै नेपाली भाषा, साहित्य, तथा संगीतको प्रवर्द्धनमा ठोस योगदान पुर्याउने विश्वास गरिएको छ।