अर्जुन प्रधान
भूटानी नेता तथा डुक नेशनल कांग्रेसका अध्यक्ष केजाङ लेन्डुबको ७ जनवरी २०२५ मा झापाको बेलडाँगी शरणार्थी शिविरमा असामयिक निधन भएको छ। परिवारका अनुसार, उहाँको पार्थिव शरीरलाई काठमाडौँको टेकुमा ल्याइनेछ र ९ जनवरीमा बौद्ध धर्मअनुसार अन्त्येष्टि गरिनेछ।
सन् १९९१ मा भूटानको टासिगाङ जिल्लामा आयोजित जनआन्दोलनमा सक्रिय भूमिकाका कारण केजाङ लेन्डुबले देशबाट जिउजोगाइ भाग्नु भएको थियो। त्यसपछि उहाँले नेपालमा शरण लिँदै भूटानमा प्रजातन्त्रको स्थापनाका लागि निरन्तर वकालत गर्नुभयो।
सन् १९९४ मा डुक नेशनल कांग्रेसका महासचिवका रूपमा आफ्नो राजनीतिक यात्रा सुरु गरेका उहाँले पार्टीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिहरूमा महत्वपूर्ण योगदान गर्नुभयो। सन् १९९८ मा युनाइटेड फ्रन्ट अफ डेमोक्रेसी (UFD) ले आयोजना गरेको राष्ट्रिय आन्दोलनको प्रतिनिधित्व गर्दै उहाँले भूटानमा लोकतन्त्रको लागि विश्वव्यापी समर्थन जुटाउन सफल हुनुभएको थियो।
केजाङ लेन्डुबले प्रजातन्त्रका लागि आफ्नो व्यक्तिगत र पारिवारिक जीवनलाई पनि बलिदान दिनुभएको थियो। उहाँले परिवारका सदस्यहरूलाई समेत निर्वासनमा राखेर भूटानी जनताको अधिकार र प्रजातन्त्रको स्थापनाका लागि संघर्ष जारी राख्नुभयो।
उहाँको निधनले भूटानी शरणार्थी समुदाय र लोकतन्त्रको पक्षमा काम गर्ने अभियन्ताहरूमाझ अपूरणीय क्षति भएको छ। उहाँको योगदानलाई सधैं सम्झना गरिनेछ।
उवांको सन् १९६५अगष्ट १८ मा जन्मनु भएको थियो ।