पेन्सिलभेनियामा “सङ्गालो: रिडिङ फर रिजिलियन्स” कथा वाचन प्रतियोगिता भव्य रूपमा सम्पन्न

0
180

भाद्र २२, २०८१ | ग्लोबल पोष्टइन्फो | अर्जुन प्रधान 

ह्यारिसबर्ग – ह्यारिसबर्ग, पेन्सिलभेनियामा कृयमाण फ़ाउन्डेशनद्वारा मानसिक स्वास्थ्य अनुसन्धान र न्यूनीकरणका लागि आयोजना गरिएको “सङ्गालो: रिडिङ फर रिजिलियन्स” कथा वाचन प्रतियोगिता सफलतापूर्वक आज भाद्र २२ मा सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य भुटानी शरणार्थी समुदायका सदस्यहरूलाई सशक्त बनाउँदै, सांस्कृतिक सम्पदालाई जगेर्ना गर्नुका साथै मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु थियो। 

प्रतियोगितामा १० देखि २४ वर्ष उमेर समूहका बालबालिकाहरूले विभिन्न श्रष्टाहरूद्वारा रचना गरिएका १६ वटा मौलिक कथाहरू वाचन गरेका थिए। यी कथाहरूले भुटानी समुदायका जीवनशैली, संघर्ष, बलिदान, र महत्त्वपूर्ण घटनाहरूलाई समेटेर, समाजका बालबालिका र अभिभावकहरूलाई प्रेरित गर्ने उद्देश्य राखेका थिए। कार्यक्रमको उद्घाटन टुंगानाथ उपाध्यायको सांगीतिक प्रस्तुतीबाट गरिएको थियो, जसले सम्पूर्ण कार्यक्रमलाई सांगीतिक र सांस्कृतिक रंगमा रङ्ग्याएको थियो भने सञ्चालन पातलो अन्तरेले गरेका थिए। 

निर्णायक मण्डलमा विश्व भूटानी साहित्य संघठनका सस्थापक अध्यक्ष डेन्जोम साम्पाङ, महिला नेत्रि बिनिता पुरी राई, नेपाली शिक्षा कार्यक्रम ह्यारिसबर्गका प्रमुख साहित्यकार नविन भट्टराई, महिला नेत्रि द्रौपदी प्रधान, गजलकार धर्मेंद्र तिम्सिना क्षितिज, र साहित्य परिषद् भूटानका अध्यक्ष गंगाराम लामीटारे रहेका थिए। निर्णायकहरूले कथाको गहनता, वाचनशैली, र प्रस्तुतीकरणका आधारमा प्रतियोगीहरूको मूल्याङ्कन गरेका थिए। कार्यक्रमका विशिष्ट अतिथिहरूमा लेखक तथा पत्रकार भक्त घिमीरे, साहित्यकार गण्डकी पुत्र, र विष्णु लुइटेल रहनुभएको थियो।

यसपछि, कृयमाण फ़ाउन्डेशनका सदस्य तथा पीएचडी शोधार्थी लिला चम्लगाईंले मानसिक स्वास्थ्यसम्बन्धी महत्वपूर्ण जानकारी प्रस्तुत गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नुभयो ।

कार्यक्रमको अन्त्यमा, निर्णायक मण्डलद्वारा निर्णय सुनाउन नविन भट्टराई अगाडि आएका थिए। प्रथम स्थानमा आदर्श शर्मा, दोस्रो स्थानमा कौस्तुभ रीजाल, र तेस्रो स्थानमा कमला चापागाईंले क्रमशः $१०००, $७००, र $५०० नगद पुरस्कार प्राप्त गरे। यसबाहेक, सबै सहभागीहरूले “कम्यूनिटी लुमीनरी अवार्ड” प्राप्त गरे, जसले उनीहरूको योगदानको कदर गरिएको हो।

कार्यक्रमको अन्त्यमा, कृयमाण फ़ाउन्डेशनका अध्यक्ष भरत तिम्सिनाले सम्पूर्ण सहभागीहरू, आयोजकहरू, निर्णायकहरू, अतिथिहरू, कथालेखहरूलाइ र दर्शकहरूलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरे। उहाँले भने, “हाम्रो लक्ष्य भनेको मानिसहरूलाई मानसिक, भावनात्मक र शारीरिक रूपमा स्वस्थ रहनका लागि समग्र दृष्टिकोणलाई प्रवर्धन गरेर फेरि आफ्नो जीवन आफ्नै हातमा लिने क्षमता प्रदान गर्नु हो। यस प्रकारका कार्यक्रमहरूले भुटानी समुदायका सदस्यहरूलाई सशक्त बनाउन र उनीहरूको मानसिक स्वास्थ्यलाई प्रवर्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछन्। हामी भविष्यमा पनि यस्ता कार्यक्रमहरूको आयोजना गरेर समुदायको सेवा गर्नेछौं।”

यसरी, “सङ्गालो: रिडिङ फर रिजिलियन्स” कथा वाचन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ, जसले भुटानी शरणार्थी समुदायलाई मानसिक स्वास्थ्य सुधारका लागि एकीकृत गर्ने र सांस्कृतिक विविधता प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेलेको गलजकार धर्मेंद्र तिम्सिना क्षितिजले बताए । 

View Post

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here