‘तातो खाना’अभियानका अगुवा प्रदिपले सडक पेटीमा बस्ने १०३ जनालाई लगाइदिए दशैंको टीका

0
262

काठमाडौं । युवा समाजसेवी प्रदिप घिमि‘रे अमूल्य’ले काठमाडौंका सडक पेटी, पुलमुनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य भएका दुःखी, गरीब, अशक्त, एवम् असहायहरूलाई बिजया दशमी २०८० सालको वडा दशैंमा खाली निधारमा रातो टिका, शिरमा जमरा, हातमा दक्षिणासँगै क्वाँटी पनिर भोजन सेवा गराएका छन् ।

४ वर्षदेखी अनवरत रुपमा असाहय, अशक्त, अपाङ्ग, बृद्ध बृद्धा, अनाथ बालबालिकाहरुलाई रात्री खाना खुवाउँदै आएका प्रदिपले यसपाली २०८० सालको बडादशैंमा आफू घर नगइ सडकपेटीमा रात कटाउन बाध्य भएका मानिसहरुलाई टीका लगाइदिएका हुन् ।

कोरोना महामारीको शुरुवाती चरणदेखी ‘तातो खाना’ अभियान चलाएका प्रदीले यसपालीको बडादशैंमा रातो टीका अभियान चलाएका हुन् ।

२०७७/०७८/०७९ सालको पुष माघको कठ्याङ्ग्रिदो जाडोको समयमा न्यानो लता कपडा विरतण गरेका उनले लकडाउनको समयभरी तातो खाना अभियान चलाएको जानकारी दिए । समाजसेवी प्रदिप भन्छन्, ‘कोरोना महामारीको शुरुवाती चरणदेखी ३ वर्ष ८ हिनानाको अवधीमा संभवत ३ लाख छाक खाना खुवाएँ होला तर ठ्याक्कै तथ्याङ्क छैन् । तर पनि दैनिक सयौ जनालाई सेवा प्रदान गर्दै आइरहेको छु ।’

विश्वभर रहेका सबै नेपालीहरु आ–आफ्नो घरमा धुमधामसंग दशै मनाइरहँदा प्रदिपले भने आफैं खाना पकाएर सडकका गल्ली गल्लीमा पुगेर टीका लगाइदिएका हुन् । प्रदिप भन्छन्, ‘मैले गरेको जुन समाज सेवा छ, यसको प्रेरणाको श्रोत मेरो अन्तर्मन नै हो । जुन दृष्य लकडाउन पछि मैले दिन दिनै देखेँ, त्यसपछि एक दुई दिन त मलाई निन्द्रा नै परेन । अनि आफ्नै अन्तर्मनबाट अठोट गरेँ कि अब म यो पीडामा परेका व्यक्तिहरुलाई आफूले सकेको मलम लगाउने कोसिस गर्छु । अनी उनीहरुको पीडालाई आफ्नै पीडा सम्झी मनन गरेपछि यो प्रेरणा मलाई मिलेको हो ।’

‘परोपकार पूण्यायः’ भन्ने यो वेदको मर्म तब साकार भयो, जब ती आँशुमा जीवन व्यतित गरिरहेका तमाम असहाय वर्गले दुई छाक खाना खान पाएपछि कलेटी परेका ओठमा मुस्कान ल्याएँ । म असाध्यै खुसी छु, र हृदयदेखी विशेष आभार व्यक्त गर्दछु । म त केवल साधन मात्रै हुँ । साध्य बनेर मैले सञ्चालन गरिरहेको परोपकारी अभियानलाई अन्तर्हृदयदेखि अनवरत रुपमा साथ, सहयोग, हौसला, प्रेरणा र शुभआर्शिवाद प्रदान गर्नुहुने स्वदेश तथा विदेश्मा आसिन तमाम सहयोगी मनहरुप्रति नतमस्तक छु’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here