✍️ लेखक: नारद खरेल ‘निडर’
क्यानाडा
म भिखारी
तिमी भिखारी
प्रश्नः कसरी ?
यहाँ सबै भिखारी भएपछि
(थाहा नहोला)
म भिखारी नहुने
तिमी भिखारी नहुने
कुरै भएन………
लाग्दो हो, यो सोच:
– संकृणता हो
– मानसिक दुर्बलता हो
– नीच दृष्टिकोण हो
असहमति जनाउनु
आफैलाई भिखारी नठान्नु
– अज्ञानता हो
– चेतनाविहीनता हो
– सत्ताको अहंकार हो
– शक्तिको अहंकार हो
– सम्पतिको अहंकार हो
– समयको अहंकार हो
– सुन्दरताको अहंकार हो
– धर्मको अहंकार हो
– प्रतिष्ठाको अंहकार हो
तार्किकता छ ?
गम्भीरता छ ?
अस्वीकृति त रोग हो
फेरि,
प्रश्नः
म कसरी भिखारी ?
तिमी कसरी भिखारी ?
गल्तीः
– आँखाको हो
– कानको हो
अनि गल्ती—मनको हो
केही नभएर भीख माग्ने
लाज पचाएर भीख माग्ने
दोबाटोमा गरीबी तेर्साएर भीख माग्ने
के यीनीहरू मात्र “भिखारी” हुन् त ?
यो प्रश्नले आफैलाई चिमोट्नुहोस्
बेसरी, दुख्नेगरी………….
थाहा हुन्छः
– म पनि भिखारी !……
– तिमी पनि भिखारी !……
भीखको मात्रा – फरक होला
भीखको आकार – फरक होला
भीखको प्रकार – फरक होला
भीखको मूल्य – फरक होला
अनि,
भीख माग्ने तरीका – फरक होला
झोला – फरक होला
भीख – धेरै होला
भीख – थोरै होला
दृष्टि र प्राप्ति – फरक होला
अन्य कुराहरू – फरक होला………
फेरि, प्रश्नः
म भिखारी कसरी ?
तिमी भिखारी कसरी ?
यहाँ घमण्ड र तुलनाको कारण—
देखिदैनः
– प्रत्येकले भीख मागेको
– एकले अर्कासँग मागेको
प्रणाली अनौठो भएपछि
समयको अनुकूलतामा
समयको प्रतिकूलतामा
फरक फरक पेशाले
हात थापेर वा नथापेर
ईज्जतले वा भ्रष्टाचारले
ठगेर वा विवेकले
जे गरेर भएपनि………
भीख त मागेकै छ
पेट पालेकै छ
नाङ्गोपन छेलेकै छ
हरेक रात निदाएकै छ
केवल फरक छः
भीख माग्ने शैली………
फेरि, प्रश्नः
म कसरी भिखारी ?
तिमी कसरी भिखारी ?
चिन्तनमा छ – भीखको अर्थ
स्वीकार्नु, न स्वीकार्नुः
नितान्त व्यक्तिगत………. ।
(अप्रकाशित पुस्तक: “शब्दका धारहरु” बाट एउटा धार)