संसदमा सांसद भेट्न मुस्किल, विधेयक पास गर्न पुग्दैन गणपूरक संख्या

0
155

काठमाडौं। नयाँ संसदप्रति पनि सरकार उदासिन भएको पाईएको छ । संघिय संसदको राष्ट्रियसभाका सांसदहरुले विजनेश नै नपाएको दुखेसो गरिरहेकै अवस्थामा प्रतिनिधिसभाको शुक्रबारको  बैठक पनि गणपूरक संख्या नपुगेरै स्थगित भएको छ । 

गत ४ मंसिरमा सम्पन्न आम चुनावपछिको शुक्रबारको १२ औं बैठक हो। बैठकको सुरुवातीदेखि नै न्यून उपस्थिती रहेको संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देश सहित प्राप्त अनुगमन तथा मुल्याङ्कन विधेयक २०७८ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरिन् ।

प्रस्तावमाथि छलफल पनि भयो । छलफलका क्रममा उठेका प्रश्नको जवाफ पनि मन्त्री शर्माले दिईन्। तर, प्रस्तावलाई सभामुख देवराज घिमिरेले निणर्यार्थ प्रस्तुत गर्न खोज्दा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार सदनप्रति उत्तरदायी नभएको भन्दै गणपूरक संख्या यकिन गर्न आग्रह गरे। 

उनले भने, ‘सरकार र सत्तापक्ष नै उदासिन भएपछि यो रोग अलि अलि यता (प्रतिपक्ष)तिर पनि सरेको छ । किनभने संक्रमण भयो । अब प्रतिपक्ष पन स्वतः उदासिन हुने भयो । सरकारकै उत्साह मरेपछि प्रतिपक्षले के गरी उत्साह जगाउने?’

आम चुनावपछिको पहिलो अधिवेशनमै त्यसमाथि बाह्रैं बैठकमै गणपूरक संख्या नपुग्नुलाई लेखकले दुखद् भएको बताउदै भने, ‘प्रारम्भमै नेपाल सरकार यो सदनप्रति अत्यन्त ज्यादा उदासिन देखियो। ‘सदनप्रति सरकार उदासिन भइसकेपछि सत्तापक्ष उदासिन भयो।’

सभामुख घिमिरेले ३ मिनेट घण्टी बजाई गणपुरक संख्या यकिन गरे। नेपालको संविधानको धारा ९४ अनुसार सामान्यतया कुनैपनि विधेयक पारित गर्न कुल संख्याको एक चौथाई सांसदको उपस्थिती आवश्यक पर्छ ।  

सभामुख घिमिरेले गणपूरक संख्या ६९ हुनुपर्नेमा ५० सांसद उपस्थित रहेकाले आजको बाँकी कार्यक्रम स्थगित भएको घोषणा गरे। सभाको अर्को बैठक फागुन १५ गते सोमबार दिनको १ बजे बस्नेछ । 

अघिल्लो कार्यकालमा प्रतिनिधिसभा र संसदीय समितिमा गणपूरक संख्या नपुग्ने समस्या ताजै छ। त्यस्तो समस्यालाई दोहोरिन दिन नहुने बाचा गर्दै सुरु भएको चुनाव पछिको बाह्रौं बैठक नै गणपूरक संख्या नपुगेर संसदको बिजनेश अगाडि बढ्न सकेन।

त्यसअघि बैठकको शून्य समयअघि बोल्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतको प्रधानन्यायाधीशलाई कामु रुपमै नराखी तत्काल नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेका थिए। लोकतन्त्रमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशले नै अन्याय खेप्नुर्ने हो? भन्दै प्रश्न उठाए। 

यस्तै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले भ्रष्टाचारीलाई कारबाही गरेर आर्थिक सुशासन कायम गर्न सरकारसँग माग गरेका छन्। शून्य समयमा बोल्दै सांसद गुरुङले सो माग गरेका हुन्।

मुलुक चरम आर्थिक संकटबाट गुज्रिरहेको र आर्थिक बेथितिबाट आक्रान्त भईरहेका बेला संकट मोचन गर्नका लागि आर्थिक सुशासन कायम गर्नुपर्ने र त्यसका लागि ठूलाठूला भ्रष्टाचार काण्डको छानविन हुनुपर्ने बताए। 

नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सिंहदरवारभित्र जनता सहज रुपमा प्रवेश गर्न पाउने व्यवस्थाका लागि रुलिङको माग गरे।

सरकारले लाइनमुक्त राष्ट्र भनेर घोषणा गरेको तर, हरेक ठाउँमा सेवाग्राहीको लाइन देखिन नछाडेको बताउदै उनले त्यसको उदाहरणका लागि सिंहदरवारको दक्षिण गेटको अवस्था हेर्न सुझाए। 

यस्तै नेपाली कांग्रेसका सांसद सञ्जय प्रसाद गौतमले राष्ट्रिय गौरवका आयोजनाहरुलाई पृथक ढंगले हेरिनुपर्ने बताए।

प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै गौतमले बर्दियादेखि कञ्चनपुरसम्म निर्माणधिन बिभिन्न राष्ट्रिय गौरवका आयोजनाहरु रहेको स्मरण गराउँदै बाँके, बर्दिया, कैलाली र कञ्चनपुर कृषिको हव बन्नसक्ने र आत्मनिर्भरताको बाटो सुरु गर्न सकिने बताए। 

यस्तै नेपाली कांग्रेसका सांसद एनपी साउँदले शून्य समयमा उठान भएका समस्याबारे सरकार गम्भीर नभएको बताउदै सम्बन्धित मन्त्रीहरुलाई जवाफ दिनका लागि स्पष्ट रुलिङको माग गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here