मलेसियाले नेपालीलाई पनि आफ्नै देशका कामदार सरह सुविधा दिने

0
139

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसन इजमाइलसँग शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली कामदारको हितका विषयमा छलफल गरेका हुन्।

भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मलेसिया सरकारका तर्फबाट श्रमिकहरूको न्यूनतम ज्याला, १२ सय रिंगेटबाट वृद्धि गरेर १५ सय बनाएकोमा धन्यवाद दिएका थिए। यसका साथै फ्रि भिसा र फ्रि टिकेटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले यसो गर्न सकेमा रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताए।

सो क्रममा मलेसियाका गृहमन्त्रीले मलेसिया सरकारले विदेशी श्रमिकहरूलाई भित्राउने प्रक्रिया र मलेसियामा रहँदा कामदारको कल्याण र सुरक्षाका विषयमा गम्भीर रहेको बताएका थिए।  भेटमा नेपाल र मलेसियाबीच श्रमिक सहकार्यका विषयमा यसअघि सम्पन्न समझदारीपत्रलाई परिमार्जन गर्ने समझदारी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

यसैबीच, मलेसिया सरकारले नेपाली कामदारलाई आफ्नै देशको कामदार अनुसार सेवा सुविधा दिने प्रतिवद्धता जनाएको छ ।

नेपाल भ्रमणमा रहेका मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइल नेतृत्वको टोली र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको टोलीबीच शुक्रबार काठमाडौंमा भएको छलफलका क्रममा नेपाली कामदारहरूलाई मलेसियाको स्थानीय कामदार सरह सेवा सुविधा दिने प्रद्धिवद्धता जनाएको हो ।

मलेसियामा नेपाली कामदार पठाउदा सिपयुक्त बनाएर पठाउने जिम्मेवारी आफुहरूको रहेको र सेवा सुविधामा कुनै कमी हुन नदिने मलेसियाको प्रतिवद्धता रहेको मन्त्री अर्यालले जानकारी दिए। बैठकमा श्रम सम्झौता नविकरण गर्न मलेसियाको प्रस्ताव रहेको र आवश्यक सुधार गरी नविकरण गर्ने कुरा भएको मन्त्री अर्यालले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here