मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा सकस

0
187

मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा सकस भएको छ । मधेश प्रदेशमा दलहरूबीच मन्त्रालयको भागबन्डामा सहमति हुन नसक्दा सरकार विस्तारमा ढिलाइ भएको हो ।  

त्यस्तै, लुम्बिनी प्रदेशमा पनि सरकारले पूणर्ता पाउन सकेको छैन । यस्तै, सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएएकाले सरकार विस्तारमा सकस परेको हो । १०७ सदस्यीय मधेश प्रदेशसभामा मुख्यमन्त्री सरोजकुमार यादवले गत माघ ४ गते विश्वासको मत पाएपनि अझैसम्म मन्त्रिपरिषदलाई पूणर्ता दिन सकेका छैनन्।

नियुक्त भइसकेका तीनजना मन्त्रीहरूको भने कार्यविभाजन गरिएको छ। जसअनुसार जसपाका सञ्जय यादव अर्थ, एमालेका सरोज यादव भौतिक पूर्वाधार र जनमत पार्टीका वसन्त कुशवाहलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो।  जनमत पार्टीबाट मधेश प्रदेशका संसदीय दलको नेता महेश यादवले भोलिसम्म  मन्त्रिमण्डलले पूणर्ता पाउने बताए।

उता, लुम्बिनी प्रदेश सरकारले अझै पूणर्ता पाउन सकेको छैन। गत पुस २७ गते नियुक्त मुख्यमन्त्री लीला गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए। विश्वासको मत पाएको १० दिन बितिसक्दा पनि भागबण्डा नमिल्दा सरकारले पूणर्ता पाउन नसकेको हो। 


यस्तै, नागरिक उन्मुक्ति पार्टीका कारण सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ। आफ्ना माग पूरा नभएसम्म मुख्यमन्त्री रावललाई विश्वासको मत निदने अडान लिएको नाउपाका कारण सरकार नै संकटमा परेको हो । विश्वासको मत दिनका लागि मुख्यमन्त्री रावलले एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए। नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नभएसम्म विश्वासको मत नदिने बताएपछि सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा ढिलाइ भएको एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले जानकारी दिए। पुस २७ गतेसम्म विश्वासको मत दिने समय छ । सुदूरपश्चिम प्रदेशसभामा ५३ जना सांसद रहेका छन् ।  विश्वासको मत पाउनका लागि २७ सिट आवश्यक पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here