सत्तारुढ गठबन्धन: ८ सांसद बराबर एक मन्त्रालय पाउनेगरी भागबण्डा मिल्यो

0
148

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रालयको भागवण्डामा लगभग सहमति जुटेको छ ।

ओली र प्रचण्डबीच सोमबार भएको छलफलमा सरकारमा सहभागी हुने दलहरुको आधारमा मन्त्रालयसंख्यासहित भागबण्डाको खाका तयार गरिएको हो । स्रोतका अनुसार लोसपा समेत सरकारमा सहभागी हुन चाहेपछि सत्ता साझेदार दलहरुले यसअघि पाउने भनिएका मन्त्रालय संख्या घटेको हो ।

एमाले अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच ५ घण्टा भएको छलफलमा दुई नेताबीच सत्तारुढ दलहरुबीच मन्त्रालय भागबण्डा लगभग टुंगिएको स्रोतको दाबी छ । स्रोतका अनुसार सोही अनुसार आजै बस्ने संयन्त्रको बैठकमा मन्त्रालय संख्या र पाउने मन्त्रालयको समेत टुंगो लगाइने छ । 

ओली निकट एक एमाले नेताका अनुसार ओली प्रचण्डबीच ८ सांसद बराबर एक मन्त्रालय पाउने गरी भागबण्डाको मोडालिटी तयार पारिएको हो । ‘पाटीका ८ सांसद बराबर एक मन्त्रालय पाउनेगरी कुराकानी भएको छ’, स्रोतले भन्यो, ‘तर अन्तिम सहमति संयन्त्रको बैठकमा हुनेछ ।’ 

यो खाका अनुसार नै अघि बढेमा एमालेले ८ वटा मन्त्रालय पाउनेछ । अहिले एमालेले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय पाइसकेको छ । अब उसले ७ वटा मन्त्रालय पाउनेछ । एमालेले यसअघि १० वटा मन्त्रालयको दाबी गर्दै आएको थियो । यस्तै सरकारमा सहभागी दोस्रो ठुलो र सरकारको नेतृत्व गरेको माओवादीले ४ वटा मन्त्रालय पाउनेछ । माओवादीले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालय लिइसकेको छ । अव उसले ३ वटा मन्त्रालय पाउनेछ । माओवादीले यसअघि ६ वटा मन्त्रालय दावी गर्दै आएको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद २० जना भएपनि उसलाई ३ वटा मन्त्रालय दिने ओली र प्रचण्डबीच सहमति भएको छ । रास्वपाबाट अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् । अव उसको भागमा २ मन्त्रालय पर्नेछन् । 

१४ सांसद रहेको राप्रपा र जसपाले दुईदुई वटा मन्त्रालय पाउने छन् । त्यस्तै जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई एकएक मन्त्रालय दिन दुई नेता सहमत भएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here