विमान दुर्घटनाः चालक दलसहित सनाखत नभएका शव भोलि मात्रै काठमाडौं ल्याईने

0
128

काठमाडौं। पोखरा विमान दुर्घटनाका सनाखत हुन नसकेका, चालक दलका सदस्य र विदेशीहरूको शव भोलि मात्र काठमाडौं ल्याईने भएको छ । आज नै उनीहरूको शव काठमाडौं लग्ने तयारी थियो । तर, कमजोर भिजिबिलिटी र शवको व्यवस्थापनमा ढिलाइ भएकाले अब भोलिमात्रै काठमाडौं लगिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिए। उनीहरूको शव शिक्षण अस्पताल लगिने छ ।

शव लिनका लागि हेलिकप्टर भने आज नै पोखरा पुगिसकेको छ । पोखरामा २४ जनाको शवको मात्र पोस्टमार्टम हुने भएको छ । बाँकी ४६ जनाको शव काठमाडौं ल्याउन लागिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले सोमबार साँझ परिसकेकोले मंगलबार बिहान ९ बजेपछि शव काठमाडौं पठाइने बताए।

उनका अनुसार हालसम्म फेला परेका ६९ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । तीनजना अझैँ बेपत्ता छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले सेती खोंचमा खोजी कार्य जारी राखेको छ । अस्पतालको पोस्टमार्टम गृहमा भएका ६९ मध्ये ४४ शवको पहिचान भएको छ । पहिचान भएका शवको पोस्टमार्टम प्रक्रिया सुरु भइसकेको अस्पतालका निर्देशक डा.भरतबहादुर खत्रीले बताए। उनका अनुसार ७ सदस्यीय पोस्टमार्टम टिम बनाइएको छ ।

दुई फरेन्सिक विशेषज्ञ काठमाडौंबाट डा.गोपाल चौधरी र डा.समारिका दाहाल पोखरा पुगेका छन्। मृतकका आफन्तले भने दुर्घटना भएको २४ घण्टाभन्दा बढी भइसक्दा समेत शव बुझ्न नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

यस्तै विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ । दुर्घटना जाँच आयोगले आजदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ आज बिहान भेटिएको समेत उनले बताए। ब्ल्याक बक्स आयोगलाई बुझाइसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here