पहिले सरकारको नेतृत्व गर्न प्रचण्ड र देउवाको हानथाप

0
170

काठमाडौं। नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिन २ दिन मात्रै बाँकी छ । योसंगै दलहरुको दौडधूप पनि बढेको छ । सत्ता गठबनधनमा रहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आ–आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि भेटवार्ता तीव्र पारेका छन् । नेताहरुको बालुवाटार दैड तीव्र बनेको छ । 

शुक्रबारमात्रै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्ड पहिलो चरणमा सरकारको नेतृत्व आफुले गर्न पाउनुपर्ने मागसहित एमालेसंग मिल्ने धम्की दिइरहदा कांग्रेसमाथि एकातर्फ दवाव बढेको छ भने, अर्कोतिर प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु निरन्तर सम्वादमा रहनु र देउवाले प्रधानमन्त्री नछाड्दा प्रचण्डसामू बलियो विकल्प नहुनुले पनि देउवा ढुक्क देखिएका छन्। शुक्रबारकाे भेटवार्तामा पनि सोहीबारे कुरा भएको बुझिएको छ । 

यसअघि आज बिहान प्रचण्ड र कांग्रेस नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको थियो । भेटमा प्रचण्डले पहिलोपटक प्रधामन्त्री बन्ने अडान दोहोर्याउदा सिंहले भने पहिलो नेतृत्व कांग्रेस र दोश्रो पटकको नेतृत्व माओवादीले गर्नुपर्ने बताएका थिए। सोही सन्देश बोकेर सिंह बालुवाटार पुगेलगत्तै प्रचण्ड पनि बालुवाटार पुगेका थिए।

आजै प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसंग भेट गरे। संसदमा चार सिट रहेको लोसपाका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन्। लोसपाका नेताहरु जसको नेतृत्वमा गठबन्धन निर्वाचनमा सहभागि भयो उसकै नेतृत्वमा सरकार बन्नुपर्ने पक्षमा रहेको श्रोतले जनाएको छ ।

प्रचण्डलाई प्रधानमन्त्री नछाड्न देउवालाई कांग्रेस नेताहरूको दबाब

नेपाली कांग्रेसका सांसदहरुले भने प्रचण्डलाई प्रधानमन्त्री नछाड्न देउवामाथि दवाव बढाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता समीकरणबारे आफू पक्षीय नेताहरूसँग शुक्रबार छलफल गरेका थिए। 

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नछाडेपछि पार्टी सभापतिसमेत रहेका देउवाले आज आफूनिकट नेताहरूसँग निचोडमा पुग्न छलफल गरेका हुन्।

उपसभापति पूणर्बहादुर खड्का, नेता प्रकाशमान सिंह, क्याबिनेटका मन्त्रीहरू बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, उमाकान्त चौधरी र महिला नेतृ डीला संग्रौलासँगको भेटमा देउवाले प्रचण्डको अडानपछि सुझाव मागेका थिए।

सहभागी नेताहरूले कुनै पनि हालतमा प्रधानमन्त्री पद नछाड्न देउवालाई सुझाव दिएका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले आ–आफ्नो अडान कायमै राख्दा सरकार गठन पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री राष्ट्रपति लगायत संवैधानिक पदहरुमा प्याकेजमै सहमति गर्ने तयारी भईरहदा गठबनधनमा सरकारको नेतृत्व कसले पहिले गर्ने भन्नेमा अँझै कुरा मिल्न सकिरहेको छैन । 

प्रतिनिधि सभामा कुनै पनि दलको बहुमत नपुगेपछि दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले गत पौष ३ गते ७ दिनको समयसीमा दिएकि थिइन्। नेपालको संविधानको धारा ७६ को उपधारा १ मा प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने र उनको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ ।

तर अहिले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले उपधारा २ अनुसार राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यका लागि दाबी पेस गर्न आह्वान गरेकि थिइन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here