१० वर्ष नेपाल आउन नपाउने गरी चार्ल्स शोभराजलाई डिपोर्ट

0
124

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि १९ वर्षको जेल जीवनबाट रिहा भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज फ्रान्स निष्कासित भएका छन् । आज साँझ साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई फ्रान्सका लागि ’डिपोर्ट’ गरिएको हो ।

आजै केन्द्रीय कारागारबाट छुटेका शोभराजलाई नेपाल सरकारले ट्राभल डकुमेन्ट बनाएर निष्कासन गरेको हो । केन्द्रीय कारागार सुन्धाराबाट छुटेपछि शोभराजलाई कारागार कार्यालयले आजै अध्यागमन विभागको जिम्मा लगाएको थियो । 

दुई विदेशी नागरिकको हत्या अभियोगमा दोषी ठहर भइ १९ वर्षभन्दा लामो समय काठमाडौंस्थित कारागारमा थुनिएका शोभराजलाई बुधबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।

साथै फैसलामा उनलाई १५ दिनभित्रै फ्रान्स फिर्ता पठाउन पनि अदालतले आदेश दिएको थियो । अरु अदालतमा समेत शोभराज विरुद्ध मुद्दा भए नभएको बुझ्ने क्रममा ढिला भएपछि बिहीबार कारागारबाट रिहाइको प्रक्रिया लम्बिएको थियो ।

पछिल्लो पटक उनका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १५ दिनभित्र आफ्नो देश फर्कने व्यवस्था मिलाउन सरकारका नाममा आदेश दिएको थियो ।

२०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चिच र क्यानडेली नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतले शोभराजलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद (२० वर्ष कैद) सजाय सुनाएको थियो ।

शोभराजलाई कम्तीमा १० वर्षसम्म नेपाल फर्कन नपाउने भन्दै प्रतिबन्ध पनि लगाइएको छ । आज कतार एयरवेजको उडानबाट उनी कतार हुँदै फ्रान्सका लागि प्रस्थान गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here