अर्जुन प्रधान
नेपाली भाषा, साहित्य, कला र पहिचानमाथि केन्द्रित बहुप्रतीक्षित चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिजर हालै सार्वजनिक भएको छ। टिजरमार्फत फिल्मले नेपाली को हुन्? भन्ने मौलिक प्रश्न उठाउँदै नेपाली भाषाको इतिहास र महत्त्वलाई पर्दामा उतार्ने संकेत दिएको छ।
असार २७ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको यो चलचित्र नेपाली फिल्म क्षेत्रमा नयाँ स्वाद ल्याउने अपेक्षा गरिएको छ।
पद्म ईश्वर इन्टरटेन्मेन्ट प्रालि को प्रस्तुतिमा तयार भएको फिल्ममा साहित्यकार तथा निर्देशक मित्र प्रधान (नर) ले निर्देशन गरेका छन्। ज्ञान बहादुर प्रधान (रोशन) द्वारा निर्मित यस चलचित्रमा शिवम् अधिकारी को लेखन रहेको छ।
चलचित्रमा चर्चित कलाकारहरू रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘ह्याट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौला लगायतको दमदार अभिनय देख्न पाइनेछ।
फिल्मको छायांकन झापा, इलाम, भारतको सिक्किम, दार्जिलिङ, जयगाउँ (पश्चिम बङ्गाल) र अमेरिका सम्म गरिएको छ। यसले फिल्मलाई अन्तर्राष्ट्रिय स्वाद दिन सहयोग पुर्याएको छ। फिल्ममा भारत, मलेसिया, पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, दक्षिण अफ्रिका र अमेरिकी कलाकारहरूको समेत अभिनय रहेको छ।
फिल्म निर्माण टोलीले आधुनिक प्रविधि र सशक्त प्रस्तुति मार्फत नेपाली मौलिकताको चित्रण गर्ने प्रयास गरेको छ।
सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, समिर मियाको भिएफएक्स तथा कविराज गहतराज र प्रमोद भण्डारी को कोरियोग्राफीले दृश्य पक्षलाई बलियो बनाएको छ। सम्पादन बनिश शाह र सिजिआई सत्यम राना द्वारा गरिएको छ।
संगीततर्फ दीपक शर्मा, विकास चौधरी, थोरम्पो ह्यङ राई को संगीत रहेको छ भने दीपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायल र खैजडी गीतमा अनिश अधिकारी का शब्द रहेको छ।
‘यो मन त मेरो नेपाली हो’ नेपाली भाषा र पहिचानमाथि केन्द्रित सशक्त कथा बोकेको चलचित्र हो। यो फिल्मले नेपाल र विश्वका नेपालीलाई आफ्नै भाषा र संस्कृतिप्रति गर्व गर्न अभिप्रेरित गर्ने अपेक्षा गरिएको कलाकार रोशन श्रेष्ठले बताउनु भयो ।
टिजरले दर्शकहरूमा उत्साह जगाइसकेको छ। अब सबैको नजर असार २७ मा रिलिज हुने दिनमा छ — नेपाली सिनेमा हलहरूमा यो चलचित्रलाई समर्थन गरौं र हेर्न नछुटाऔं।
