पुनः मतगणना गराउन मागसहित दायर गरिएका ८ वटा रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । आज प्रारम्भिक सुनुवाईपछि संवैधानिक इजलासले निर्वाचन आयोगसहित विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न कारण देखाउँदै ती क्षेत्रमा पुनः मतगणनाको मागसहित रिट दायर गरिएको थियो ।
प्रतिनिधिसभातर्फ धनुषा क्षेत्र २ का एमाले उम्मेदवार उमाशंकर अरगरिया, धनुषा क्षेत्र ४ का कांग्रेस उम्मेदवार महेन्द्र यादव, पर्सा क्षेत्र ३ का कांग्रेस उम्मेदवार सुरेन्द्रप्रसाद चौधरी, रुपन्देही क्षेत्र २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल र कपिलवस्तु क्षेत्र ३ मा लोसपाका उम्मेदवार रविदत्त मिश्रले पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रदेशसभातर्फ सप्तरी क्षेत्र ३ (ख) मा जसपा उम्मेदवार विदेश्वर यादव, धनुषा क्षेत्र १ (क) मा जसपाकै उम्मेदवार सुकेश्वर यादव र सुर्खेत क्षेत्र २ (क) मा कांग्रेस उम्मेदवार कालीप्रसाद शाक्यले रिट निवेदन दिएका थिए ।
यस्तै, पुनः मतदानको माग गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले दिएको रिटमा पनि कारण देखाऊ आदेश भएको छ । एकीकृत समाजवादीका सम्मानित नेता तथा इलाम क्षेत्र १ मा पराजित उम्मेदवार खनालले गत मंसिर २७ गते सर्वोच्चमा पुनः मतदान गराउन माग गर्दै रिट दायर गरेका थिए ।
सो रिटमा सुनुवाई गर्दै संवैधानिक इजलासले आज विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको अदालत प्रशासनले जनाएको छ ।