कांग्रेस र एमालेबिच पहिलो दल हुने होड, समानुपातिक मतको अवस्था के छ?

0
124

काठमाडौं। यस पटकको आम निर्वाचनमा पनि कांग्रेस र एमालेबीच को पहिलो दल हुने भन्ने मुख्य प्रतिस्पर्धा देखिएको छ ।

२०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा पहिलो दल बनेको एमालेले यो आमनिर्वाचनमा हालसम्म त्यही स्थान कायम गर्ने निश्चित भइसकेको छैन ।

माओवादीसहित पाँच दलीय गठबन्धन बनाएर निर्वाचनमा होमिएको कांग्रेस हालसम्मको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको नतिजा र समानुपातिकतर्फको मतको ‘ट्रेन्ड’ हेर्दा एमालेभन्दा केही सिटले अघि हुने सम्भावना छ ।

समानुपातिकमा कांग्रेसलाई धेरै मतले पछि पारे एमाले पहिलो हुने सम्भावना पनि देखिन्छ । प्रतिनिधिसभामा समानुपातिकको हालसम्म १५ प्रतिशत मत मतगणना भएको छ । मुख्यगरी प्रत्यक्षका सबै र समानुपातिकमा गणना गर्न बाँकी ८५ प्रतिशत मतले कांग्रेस र एमालेमध्ये को पहिलो हुने स्पष्ट गर्नेछ ।

समानुपातिकतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले ५ लाख मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो नतिजाअनुसार समानुपातिकतर्फ एमाले पहिलो स्थानमा छ । अहिलेसम्म एमालेले ५ लाख ४३ हजार ६७६ मतका साथ अग्रता लिएको छ ।

कांग्रेस ५ लाख ६ हजार ९५३ मतसहित दोस्रोमा छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ८० हजार ५०६ मत पाएको छ । नेकपा माओवादी केन्द्र २ लाख ५० हजार ६६३ मतसहित चौथो स्थानमा रहेको छ ।

अहिलेसम्म माओवादीपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ४९ हजार ७७५ मतसहित पाँचौं स्थानमा छ । जनता समाजवादी पार्टी ६३ हजार ४८९ मतसहित छैटौं र नेपाल मजदुर किसान पार्टी ५१ हजार ९७ मतसहित सातौं स्थानमा छ । नागरिक उन्मुक्ति पार्टी ३७ हजार ७१० मतसहित आठौं स्थानमा छ ।

सीके राउत नेतृत्वको जनमत पार्टी ३६ हजार ५७ मतसहित नवौं स्थानमा छ । सुरुमा १०औं स्थानबाट नवौं नम्बरमा उक्लिएको नेकपा एकीकृत समाजवादी फेरि १० औं नम्बरमा झरेको छ । उसले अहिलेसम्म ३५ हजार २९६ मत प्राप्त गरेको छ ।


प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजार बढी मत ल्याउनुपर्ने छ ।

प्रदेश सभा सदस्य समानुपातिकतर्फ पनि एमाले नै अघि देखिएको छ । चार प्रदेशमा एमाले, दुई प्रदेशमा कांग्रेस र एक प्रदेशमा माओवादी अघि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here