अमेरिकाको कोलोराडोमा सम्पन्न पाँचौ ग्लोबल फिल्म अवार्डमा ‘ए मेरो हजुर ३’ ले सर्वोत्कृष्ट चलचित्र पुरस्कार जित्यो

0
268

असोज ३१/
अमेरिकाको कोलोराडोमा सम्पन्न पाँचौ ग्लोबल फिल्म अवार्डमा झरना थापा निर्देशित चलिचित्र ‘ए मेरो हजुर ३’ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । कोलोराडो स्थित डेनभरमा गत शनिबार सम्पन्न अवार्ड समारोहमा बिभिन्न विधा अन्तरगत चलचित्र तथा कलाकर्मी मध्य सर्वोत्कृष्टलाई अवार्ड वितरण गरिएको हो ।
अक्टोबर १३ तारिकबाट सुरु भएको ३ दिने अवार्ड समारोहको अन्तिम दिन अर्थात अक्टोबर १५ का दिन वितरण गरिएको अवार्ड कार्यक्रममा सन् २०२२ मा रिलिज भएका नेपाली चलचित्र मध्येबाट ‘ए मेरो हजुर ३’लाई सर्वोत्कृष्ट घोषणा गरिएको हो भने सोही चलचित्रबाट झरनाकी छोरी सुहाना थापाले डेब्यु अभिनेत्रीको अवार्ड जित्न सफल भएकी छन् ।
चलचित्र निर्देशन सुरु गरेकी नायिका झरनाले पनि यसै चलचित्रबाट सर्बोउत्कृष्ट निर्देशक तर्फको अवार्ड जितेकी छन् । त्यस्तै यस पटकको अवार्ड समारोहमा सर्वोत्कृष्ट अभिनेत्रीको तर्फको अवार्ड चलचित्र ‘आमा’बाट सुरक्षा पन्त र दीपकराज गिरीले ‘छ माया छपक्कै’बाट सर्वोत्कृष्ट अभिनेता तर्फको अवार्ड जितेका छन् ।
अभिनेत्री नम्रता श्रेष्ठ स्टार अफ दी इयर घोषित भएको अवार्ड समारोहमा डायस्पोरा अन्तरगतको सर्बोउत्कृष्ट डेब्यु अभिनेताका रुपमा शक्ति श्रेष्ठ र ‘रातो टीका निधारमा’ चलचित्रबाट अंकित शर्मा सर्वोत्कृष्ट डेब्यु अभिनेता घोषित भएका छन् ।
संगीतकार शम्भुजीत बाँस्कोटालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको अवार्ड समारोहमा जुरी स्पेसल अवार्ड चलचित्र ‘मारुनी’ले प्राप्त गर्न सफल भएको छ । सुधांशु जोशी सवोत्कृष्ट डायस्पोरा अभिनेता घोषित समारोहमा चलचित्र तथा संचारकर्मी सम्मान अन्तरगत यस पटक रामकेशर बोगटी स्मृति सम्मानबाट अभिनेत्री सरिता लामिछाने सम्मानित भएकी छन् भने नाट्यकर्मी हरिबहादुर थापालाइ गेहेन्द्र धिमाल स्मृति सम्मान प्रदान गरियो ।
यस पटकको ग्लोबल फिल्म अवार्ड अन्तरगतको फिल्म फेस्टिवलमा नेपाली भाषी भुटानी चलचित्रलाई पनि समावेस गरेको अवार्ड कमिटीले भुटानी कला सम्मान सिद्धार्थ विश्व र लक्षु शर्मालाई प्रदान गरेको छ भने अभियान श्री सम्मानबाट प्रकाश श्रेष्ठ र हिरण्य भोजपुरेलाई सम्मानित गरिएको छ ।
चलचित्र क्षेत्रलाई महत्वपूर्ण योगदान पुर्याउँदै आएका चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई पनि सम्मान गरिएको समारोहमा मिस नेपाल नर्थ अमेरिका प्रत्युषा बोहरा र रनर अप आन्या थापा, अमेरिकाबाट संचालित नेपाली पत्रिका यूएस खबर टाईम्सका प्रधान सम्पादक किशन रेग्मी तथा सम्पादक ओम आचार्य लगायतलाई सम्मान गरिएको थियो ।
सम्पन्न यस बर्षको ‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ नेपाल अमेरिका सम्बन्धको ७५ औं बार्षिकोत्सबको अवसर पारेर आयोजना गरिएकाले विगतका बर्षहरुमा भन्दा पृथक देखिन्थ्यो । जहाँ चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीदेखि पूर्वअध्यक्ष नीर शाह, नेपाली फिल्म अवार्ड’ का अध्यक्ष नबराज श्रेष्ठ, नेपाल फिल्म सोसाइटीका अध्यक्ष तथा कृष्ण मल्ल, अभिनेता अभिनेत्रीहरु सुनिल थापा शिव श्रेष्ठ, सर्मिला मल्ल, आरपि पन्त, सरिता लामिछाने, रिमा विश्वकर्मा, संजय खतिवडा, झरना थापा, सुवाना थापा, पुनम गौतम, संगीतकार सम्भुजित वास्कोटा लगायतको उपस्थिती रहेको थियो ।
आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारा सहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अन्तरगतको अवार्ड समारोह सहितको फिल्म फेस्टिवल एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्योरेन्स कम्पनिको सह प्रयोजनमा आयोजित समारोह हो ।
नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र चर्चित निर्देशक नारायण पुरी अध्यक्ष रहेको संस्था ८८४८ मिडिया हाउस एल एल सीको संयुक्त आयोजनामा भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here