साहित्य परिषद् भुटानद्वारा चार स्रष्टालाई भुटान साहित्य सम्मान

0
331

भदौ २३/
साहित्य परिषद् भुटानले समालोचक तथा प्राध्यापक गोविन्दराज भट्टराईसहित चार जनालाई भुटान साहित्य सम्मान प्रदान गरिएको छ । त्रिभुवन विश्वविद्यालय अंग्रेजी विषयको प्राध्यापनबाट अवकाशप्राप्त भट्टराईलाई ‘परिषद् साहित्य सेवा पुरस्कार’ प्रदान गरिएको हो । उहाँले २०४८ सालमा ‘मुगलान’ उपन्यासमार्फत भुटानी जनजीवनको उजागर गर्नु भएको थियो ।
त्यसयता उहाँका ‘मणिपुरको चिठी’, ‘सुकराजका पाइला’, ‘सुकरातको डायरी’ लगायत दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
यसैगरी सिक्किममा रहेकी नेपाली भाषाकी अभियन्ता दिलकुमारी भण्डारीलाई ‘परिषद् भाषा सेवा पुरस्कार’ प्रदान गरिएको छ । भण्डारी भारतीय संविधानमा नेपाली भाषालाई मान्यता दिलाउने अभियानकी अगुवा स्रष्टा हुनुहुन्छ । भण्डारीका प्रतिनिधि लेखक अर्जुन पियूषले पुरस्कार ग्रहण गर्नु भएको थियो । दुवै पुरस्कारको राशि एक-एक लाख रुपैयाँ रहेको छ ।
परिषद्ले आज बिहीबार काठमाडौंमा आयोजना गरेको समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उक्त पुरस्कार प्रदान गर्नु भएको हो ।
यसैगरी डायस्पोरा विषयमा विद्यावारिधि शोध गरेका रामजी तिमल्सिनालाई ‘परिषद् साहित्य अनुसन्धान पुरस्कार’ दिइएको छ । महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनरत अंग्रेजी विषयका उपप्राध्यापक तिमल्सिनाले भुटानी डायस्पोराको समेत अनुसन्धान गर्नु भएको छ ।
यसैगरी साहित्यकार प्रकाश आङदेम्बेलाई ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गरिएको छ । उहाँ झापाको शरणार्थी शिवर नजिक रहेर भुटानी स्रष्टा र नेपाली स्रष्टाबीच सम्बन्ध स्थापित गर्ने तथा साहित्यमार्फत शरणार्थीका विषय उठान गर्दैआउनु भएको छ । दुवै पुरस्कार राशि पचास-पचास हजार रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here