काठमाडौँ- अवैध संरचना हटाउने अभियानबाट आक्रामक बनेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ अर्को एक्सनमा उत्रिएका छन् ।
बालेनले काठमाडौं महानगरभित्रका क्यासिनोहरूलाई ७ दिन भित्र कर तिर्न म्याद दिएको छ । पाँचतारे होटलले सञ्चालन गरेको क्यासिनोको पैसा सरकारले समेत उठाउन नसकेको बेला महानगरले भने पत्र काटेर कर तिर्न अल्टिमेटम दिएको हो ।
महानगर राजस्व विभागका निर्देशक शिवराज अधिकारीले ७ वटा क्यासिनोलाई एक साताको अल्टिमेटम दिएर कर बुझाउन पत्र काटेका हुन् ।
‘आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म कर नबुझाएको हुँदा प्रदेश आर्थिक ऐनले तोकेको दररेटमा हालसम्मको बाँकी मनोरञ्जन करको विवरण र सोको नियमानुसार लाग्ने जरिबानासमेत यस पत्र प्राप्त भएको मितिले ७ (सात) दिनभित्र काठमाडौं महानगरपालिका राजस्व विभाग ववरमहलमा बुझाउनुहुन अनुरोध छ । अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह बाँकी कर असुलउपर गरिने व्यहोरा जानकारीको लागि समेत अनुरोध छ ’, पत्रमा भनिएको छ ।
यसअघि पनि महानगरले क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पटक-पटक ताकेता गरेको थियो । उक्त ताकेताको बेवास्ता गरेपछि म्यारियट, अन्नपूर्ण, र्याडिसन, हायात, सोल्टी, एलफ्ट र मल्ल होटलका क्यासिनोलाई म्यादसहितको पत्र पठाइएको हो ।