एमालेले तय गर्‍यो उम्मेदवारको मापदण्ड

0
176

काठमाडौँ- नेकपा (एमाले) ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड टुंगो लगाएको छ ।

पार्टी कार्यालय ललितपुरको च्यासलमा बसेको पोलिटब्युरो बैठकले निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने प्रक्रिया र मापदण्ड तय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

पार्टीले निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने चार वटा मापदण्ड बनाएको उनले बताए । पहिलो पार्टी, नीति र सिद्धान्तप्रतिको प्रतिबद्धता, दोस्रो कुनै पनि नेताले पार्टीले सञ्चालन गरेको आन्दोलनमा दिएको योगदान र पार्टीप्रतिको निष्ठा, तेस्रो लोकप्रियता र विजयको सुनिश्चितता तथा चौथो मापदण्ड संविधानअनुरुप सन्तुलन, समावेशीको सिद्धान्तलाई आधार मानेर पनि उम्मेदवार चयन गरिनेछ ।

भदौ १० र ११ मा हुने केन्द्रीय कमिटी बैठकमा उम्मेदवार छनोट गर्ने प्रक्रिया र मापदण्ड प्रस्तुत गरेर पारित गर्ने उनले बताए । “निर्वाचनको उम्मेदवार छनोट प्रक्रियाको मापदण्डका बारेमा सचिवालय, स्थायी र पोलिटब्युरो बैठकमा समेत छलफल भइसकेको छ र ती बैठकबाट पारित गरिएको छ”, उनले भने, “केन्द्रीय बैठकमा आवश्यक संशोधनसहित उम्मेदवारको मापदण्ड पारित गर्छौं र चुनावको तयारीमा अगाडि बढ्छौँ ।”

यस्तै केन्द्रीय सदस्यमा मनोनीत चार जनालाई शुक्रबार शपथ गराएर बैठकमा उपस्थिति गराइने बताइएको छ । ती चार मनोनीत केन्द्रीय सदस्यको कार्यविभाजन गर्नेसमेत एजेण्डा तय गरिएको उनले बताए ।

केही दिनअघि बसेको सचिवालय बैठकले जीवन गौतम, विजय गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजवंशीलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here